कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

जीवनभर ऋणकै बँधुवा

पाँच हजार साउँको १५ वर्षमा ब्याजमात्रै १ लाख २८ हजार
दुई लाख ऋण, २० लाखको तमसुक

सिरहा / सर्लाही — सिरहा र सर्लाहीमा निम्नवर्गका व्यक्ति चर्को ब्याजको भुमरीमा परेर घर न घाट भएका छन् । ऋण तिर्न नसक्दा उनीहरू जीवनभर साहुकोमा बँधुवा बस्नुपर्ने अवस्था छ । सिरहाको लक्ष्मीपुरपतारी–४, धन्छबारका ५९ वर्षीय फुलेश्वर सदाय मुसहरलाई सवा लाख ऋणको भारले थिचेको छ ।

जीवनभर ऋणकै बँधुवा

भूमिहीन उनले छोरीको बिहेका लागि १५ वर्षअघि साहु भोगी यादवसँग ५ हजार ऋण लिएका थिए । त्यसको ब्याज बढेर १ लाख २८ हजार पुगेको छ । उनी भोगीकै घरमा काम गर्छन्, महिनामा दुई बोरा धान ऋणबापत बुझाउँछन् । ऋण भने बढेको बढ्यै छ । ‘काम गरेर ऋण तिरिरहेको छु, मजदुरीमा पाउने धान बुझाउँछु, बाँकी धानले घरको गुजारा चलाउँछु,’ उनले भने, ‘ऋण घट्नुको साटो झन् बढिरहेको छ ।’


उनले सानैदेखि भोगीकै घरमा काम गरेका हुन् । ‘गाउँमा अैंचोपैंचो कसैले दिँदैन, भोगी मालिककै निगाहामा चलेको छ,’ उनी भन्छन् । उनका चार छोरामध्ये माइला गंगा उनीसँगै बस्छन् । अरू लाखापाखा लागेका छन् । ‘बुबाले लिएको ऋण तिरिसकिएको जस्तो लागेको थियो,’ गंगाले भने, ‘ऋण लाखौं बाँकी छ भनेपछि मरेतुल्य भएका छौं । दिनमा ५ सय रुपैयाँ ज्याला लिएर काम गर्ने हामीले कसरी तिर्नु त्यत्रो ऋण ? ’


बारम्बार पैसा तिर्न ताकेता गरेपछि वैदेशिक रोजगारीमा रहेका भाइ रामस्वरूपले पठाएको ६४ हजार रुपैयाँ गंगाले साउन ५ गते साहुलाई बुझाएका छन् । अहिले पनि ऋण चुक्ता गर्नकै लागि फुलेश्वर यादवकैमा काम गरिरहेका छन् । ‘बाँचुञ्जेल ऋण तिर्नकै लागि काम गर्नुपर्ने भो, ऋण घट्ने नामै लिँदैन,’ उनले भने, ‘साहुले कहिले तिर्छस् भनेर हप्काउँछन्, ऋण सक्न पाए मुक्ति मिल्थ्योजस्तो लाग्छ ।’


साहु यादवले भने छोरीको बिहेदेखि पटक–पटक लिएको नगद र अन्न जोड्दा अहिलेसम्म दुई लाखभन्दा बढी नाघिसकेको तर समाजको आग्रहमा १ लाख २८ हजार रुपैयाँ मात्र तिर्न बाँकी देखाएको बताए । ‘त्योमध्ये ६४ हजार रुपैयाँ तिरिसकेको छ,’ उनले भने, ‘साउन १५ गतेसम्म तिरिसक्छु भने पनि नतिरेका कारण ताकेता गरेको हुँ ।’ त्यत्ति धेरै कसरी भयो भन्ने जिज्ञासामा उनले आफ्नैमा खेतबारीको काम गर्ने भएकाले सयकडा अढाई रुपैयाँका दरले मात्रै ब्याज लिएकाले रकम थोरै देखिएको जिकिर गरे ।


प्रदेशीको चक्करमा परेकाहरू त्रसित

मिटर ब्याजको धन्दा चलाउने सर्लाही पिपरियाका श्याम प्रदेशी भनिने श्यामकृष्ण साह ठगी मुद्दामा थुनामा रहे पनि ऋणीमा त्रास हटेको छैन । उनले जाली तमसुक बनाएर अदालतमा मुद्दा दिएकाले पक्राउ पर्ने डर उनीहरूमा छन् । प्रदेशी थुनामा गए पनि मुद्दा किनारा नलागेकाले उनीहरू लुकिछिपी बसिरहेका छन् ।साँवाब्याज बुझाइसकेका ऋणीले ऋण मिनाहा गर्न माग गरिरहेका छन् ।


लालबन्दी–४ करैयाकी सविता चौधरीले छोराको खेल्ने क्रममा खुट्टा भाँचिएपछि उपचारका लागि २ लाख रुपैयाँ प्रदेशीसँग लिएकी थिइन् । केही महिनाभित्रै उनले ३ लाखभन्दा बढी बुझाए तर एक पैसा नतिरेको भन्दै प्रदेशीले मुद्दा हाल्ने धम्की दिए । अहिले उनलाई मुटुको रोगले भेटेको छ, श्रीमान् रामेश्वर चौधरी पक्षघातको सिकार भएका छन् । प्रदेशीले २ लाख ऋण दिएर आफू, श्रीमान् र छोराको नाममा २० लाखको तमसुक बनाएको उनले बताइन् ।


बिहीबार कान्तिपुरकर्मी उनको घर पुग्दा सविता श्रीमान्को सेवामा जुटेकी थिइन् । रामेश्वर बोल्न सक्दैनन् । गरिबी र साहुको ऋणमा चुर्लुम्म डुबेका उनको घर भत्किसकेको छ । मर्मत गर्न नसक्दा चौधरी परिवार छेवैको सानो छाप्रोमा बसिरहेको छ । साहुको ऋण पासो बनेको उनले बताइन् ।


‘छोराको उपचारका लागि २ लाख लिएको थिएँ, तीन जनाको नाममा २० लाखको तमसुक बनाएको छ,’ उनले भनिन्, ‘३ लाखभन्दा बढी तिरिसकें, भर्पाइ पनि दिएको छैन । उल्टै अदालतमा मुद्दा हाल्ने धम्की दिइरह्यो ।’ उनले साहुलाई साँवा र ब्याज तिरिसक्दा पनि ऋण नसकिएको गुनासो गरिन् ।


अलि परको बस्तीमा स्थानीय सोनफी चौधरी भेटिए । उनी पनि प्रदेशीका ऋणी हुन् । ऋणको बारेमा सोध्दा उनले थाहा नभएको बताए । उनले ५० हजार ऋण लिएका थिए । त्यसको झन्डै दोब्बर तिरिसके तर अझै ७ लाख ५० हजार तिर्न बाँकी रहेको भन्दै प्रदेशीले अदालतमा मुद्दा दायर गरे । अदालतले उनलाई पक्राउ गर्न आदेश दिएको छ । त्यसैले लुक्दै हिँडिरहेका छन् ।


प्रदेशीले सुरुमा छोरीलाई २ लाख ५० हजारको तमसुक बनाएकोमा पछि ब्याज बुझाउन जाँदा श्रीमती मञ्जुदेवीको नाममा थप पाँच लाखको तमसुकमा ल्याप्चे लगाउन लगाएको उनले बताए । ‘अदालतमा मुद्दा दिँदा तमसुकअनुसार प्रदेशीले बाजी मारे, त्यसपछि मलाई पक्राउ आदेश जारी भएको छ तर म लुकिछिपी बसिरहेको छु,’ उनले भने । जाली तमसुककै कारण आफू लुकेर बस्नुपरेको उनको दुखेसो छ ।


प्रदेशीलाई थुनेर मात्र समस्या समाधान नहुने उनले बताए । ‘अदालतबाट पक्राउ आदेश जारी भएको छ,’ उनले भने, ‘जाली सबै तमसुक रद्द हुनुपर्छ, त्यसका लागि प्रदेशीलाई सहमतिमा ल्याएर मुद्दा फिर्ता गर्न लगाउनुपर्छ ।’


लिएको ऋणको चारगुणा बढाएर कपाली तमसुक बनाउने, ऋणीले तिरेको ब्याज बुझेको प्रमाण नदिने र उल्टै मुद्दा हालेर ऋणीलाई जेल चलान गराउने साहु श्याम प्रदेशीका कारण ऋणीहरूको बिल्लीबाठ भएको छ । प्रदेशीले बन्दुकको भरमा तमसुक बनाउने, तिरिसकेको रकम पनि बाँकी रहेको भन्दै धम्की दिने गरेकाले तनाव सहन नसकेर केहीले आत्महत्या गरिसकेका छन् ।


प्रदेशीले ६ वर्षमा ऋणमा जालसाजी गरेर फसाएका ७५ ऋणीविरुद्ध अदालतमा मुद्दा हालेका छन् । ०७० देखि गत जेठ मसान्तसम्म जिल्ला अदालतमा परेका यीमध्ये ७३ वटाको फैसला भइसकेको छ, दुईवटाको फैसला हुन बाँकी छ । अदालतमा प्रदेशी र उनका आफन्तको पक्षबाट पाँच करोड ९० लाख ७४ हजार दाबीसहित मुद्दा परेको थियो । कतिपयले घरजग्गा बेचेर ऋण तिरेका छन् । केहीको लिलाम भएको छ । ऋण तिर्न नसक्ने कतिपयले जेल भुक्तान गरिसकेका छन् ।

प्रकाशित : भाद्र २१, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?