पक्राउ पर्दैनन् अपराधी

राजविराज — गम्भीर प्रकृतिका अपराधमा मुछिएका धेरैजसो प्रहरीको फरार सूचीमै रहेका छन् । हत्या, अपहरण र बलात्कारजस्ता जघन्य अपराधका आरोपीहरू समयमै प्रहरीले पक्राउ गर्न नसक्दा फरार आरोपीहरूको सूची लम्बिएको बनेको हो ।

आव ०७५/७६ मा सप्तरीमा कर्तव्य ज्यानका १२ वटा मुद्दामा ३७ जना आरोपी रहेकामा प्रहरीले १३ जना आरोपीलाई मात्र नियन्त्रणमा लिन सकेको छ । कर्तव्य ज्यानमा मुद्दामा २४ जना अझै फरार सूचीमा छन् । त्यो अवधीमा अपहरणको ९ वटा मुद्दामा १३ जना आरोपी रहेकामा प्रहरीले ६ जनालाई मात्र नियन्त्रणमा लिन सकेको छ । ७ जना अझै फरार छन् ।


सप्तरीमा बलात्कारका घटनाका आरोपीहरूको फरार सूची पनि लामै छ । गत आवमा सप्तरीमा ४९ वटा बलात्कारमा मुद्दा दर्ता भए । जसमध्ये ५६ जना आरोपी रहेकामा प्रहरीले ३१ जनालाई पक्राउ गर्न सकेको छ भने २५ जना फरार छन् । यसैगरी जबरजस्ती करणी उद्योगका १५ वटा मुद्दामा १९ जना आरोपी रहेकोमा ९ जना मात्र पक्राउ गरिएका छन् भने १० जना फरार छन् । ज्यान मार्ने उद्योगका २९ वटा मुद्दामा ७९ जना आरोपी रहेकामा १६ जनालाई मात्र प्रहरीले पक्राउ गर्न सकेको छ भने ६३ जना फरार छन् ।


जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खडकाले गम्भीर प्रकृतिका मुद्दाका आरोपीको फरार सूची लामै रहेको स्विकारे । उनले प्रहरीले खोजी गरे पनि आरोपीहरू भारततर्फ भाग्दा पक्राउ गर्न नसकिएको बताए ।


प्रहरीले खोजी गरिरहेको दाबी गरे पनि आरोपी मात्र होइन जिल्लामा विभिन्न मुद्दामा अदालतले साजय तोकिसकेका अपराधीहरूको फरार सूची पनि लामै बन्दै गएको छ । राजनीतिक दबाब, स्थानीय प्रहरी इकाईका प्रहरीहरू खोजीमा तदारुकता नदेखाउनु लगायतका कारण फरारहरू पक्रिन नसकिएको हो ।


गम्भीर प्रकृतिका अपराधमा आरोपी भएका सजाय तोकिइसकेकाहरू खुलमखुला घुमफिर गरे पनि प्रहरीले पक्राउ गर्न नसक्नुले सामाजिक स्तरमा दण्डहीनता र द्वन्द्व सृजना गरेको नागरिक अगुवाहरूको भनाइ छ ।

प्रकाशित : भाद्र २१, २०७६ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?