१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

शिक्षा गुणस्तर सुधार्न स्थानीय तहको पहल

अर्जुन राजवंशी

विर्तामोड — विद्यालयस्तरीय शिक्षाको गुणस्तर सुधारका लागि हल्दिबारी गाउँपालिकाले विभिन्न कार्यक्रमहरू लागू गरेको छ । गाउँपालिकाले शिक्षामा जिल्लामै सबैभन्दा धेरै बजेट विनियोजन गरेर नमुना कार्यक्रमहरू सञ्चालन गरिरहेको हो । 

जिल्लाको दोस्रो कम बजेट भएको उक्त गाउँपालिकाले शिक्षामा मात्र यो बर्ष ४ करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाले सबै १७ वटै विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई सुरु गर्न प्राथमिक तहमा १७ जना अंग्रेजी शिक्षकको व्यवस्था गरेको छ ।


आधारभूत र माध्यमिक तहमा अपुग रहेका ७ वटा विद्यालयमा एक जनाका दरले विज्ञान शिक्षक, सबै विद्यालयमा कम्प्युटर शिक्षा अनिवार्य गरिएकाले १७ वटै विद्यालयमा पुग्नेगरी ११ जना घुम्ती कम्प्युटर शिक्षक, ७ जना घुम्ती खेल शिक्षक र ३ जना घुम्ती योगा शिक्षकको व्यवस्था गरेको छ ।


गाउँपालिकाले बालविकास कक्षा पढाउने ३३ जना बाल शिक्षक र १६ जना सहयोगी कर्मचारी गरी ४९ जनालाई सरकारको श्रम ऐनअनुसार न्यूनतम १३ हजार ५ सय रुपैयाँ उपलब्ध गराएको छ । उनीहरूलाई केन्द्र सरकारले ६ हजार ५ सय मात्र दिने गरेकोमा बाँकी अपुग रकम गाउँपालिकाले नै थप गरेर श्रम ऐनअनुसार मासिक तलब सुविधा उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जनाए ।


गाउँपालिकाले १७ मध्ये ५ विद्यालयमा वातानुकूलित सुविधा सहितको बालविकास कक्षा निर्माण गरेको छ । गाउँपालिकाभित्रका विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीबाट शुल्क उठाउन नपाइने नियम कडाईसाथ कार्यान्वयन गरिएको छ । ११ र १२ निःशुल्क अध्यापनका लागि गाउँपालिकाले नै प्रतिविद्यार्थी ५ सय रुपैयाँका दरले विद्यालयलाई अनुदान रकमको व्यवस्था गरेको छ । गाउँपालिकले सबै विद्यालयको गुणस्तर वृद्धिका लागि शैक्षिक कार्यसम्पादन प्रोत्साहन कोषको व्यवस्था गरेको छ ।


गाउँपालिकाभित्रका विद्यालयमा साउनदेखि नै विद्यार्थीहरूको लागि निःशुल्क ‘कोचिङ’ कक्षा सुरु गरिएको छ । यसअन्तर्गत बार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय, विषय शिक्षक र प्रधानाध्यापकलाई नगद पुरस्कारको व्यवस्था गरेको उपाध्यक्ष डम्बर गिरीले बताए ।


गाउँपालिकाभित्रका कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित नहुन भन्ने उद्देश्यले ‘बेसहाराको सहारा, हल्दिबारी गाउँपालिका’ कार्यक्रम सञ्चालन गरिएको छ । अभिभावक नभएका १६ बर्ष उमेर समूह भित्रका बेसहारा बालबालिकाको शिक्षाका लागि मासिक ५ सय रुपैयाँ सहयोग गर्ने उपाध्यक्ष गिरीले बताए ।


गाउँपालिकाभित्र रहेका लोपन्मुख मेचे जातिको भाषा संरक्षणका लागि स्थानीय दीपेन्द्र प्राविमा पाठ्यपुस्तक तयार गरी मेचे भाषाको पठनपाठन समेत सुरु गरेको गिरीले बताए । सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना वृद्धिका लागि कक्षा ५ सम्म अध्ययन गर्ने सबै विद्यार्थीलाई पोसाक र स्कुल ब्याग गाउँपालिकाले निःशुल्क उपलब्ध गराएको उनले बताए ।


हल्दिबारी माविमा यो बर्षदेखि सुरु भएको कृषि प्राविधिक विषयको अध्ययन गर्ने विपन्न तथा लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ । ‘हामीले सबै सामुदायिक विद्यालयमा गाउँपालिका र वडा कार्यालयबाटै अनुगमन गर्न मिल्नेगरी यसै बर्ष सीसी क्यामेरा जडान गर्ने कार्य पनि सुरु गर्न लागेका छौं’ गिरीले भने ।

प्रकाशित : भाद्र २०, २०७६ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?