२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

आत्महत्याको कारण घरेलु हिंसा

भरत जर्घामगर

सिरहा — आत्महत्याका घटना अध्ययन गर्दा सिरहामा डरलाग्दो अवस्था देखिएको छ । यस्ता घटनामा वृद्धि हुनुमा ‘घरेलु हिंसा’ मुख्य कारक मानिएको छ । महिलामाथि पति, सासु ससुराले बुहारीलाई हेर्ने दृष्टिकोण र अधिकांश घरायसी उल्झनकै कारण आत्महत्या क्रम बढेको हो ।

आत्महत्याको कारण घरेलु हिंसा

त्यसका अलावा समाजशास्त्री र अधिकारकर्मीको जीवनप्रति चरम वितृष्णा, अपूर्ण मनहरूले मानसिक तनाव बढेपछि अन्तिम विकल्पमा ‘आत्महत्या’ गर्न पुग्नु र युवापुस्तामा सामाजिक सञ्जालको गलत प्रभावले पनि ‘आत्महत्या’ गर्नेदर बढेको ठम्याइँ छ ।


सिरहा प्रहरीको तथ्यांक अनुसार गत वर्ष १ सय ४० जनाले आत्महत्या गरेका छन् । यो अहिलेसम्मकै उच्च दर हो । तीमध्ये ८० प्रतिशतभन्दा बढी महिला छन । प्रहरीको तथ्यांक अनुसार साउनमा १२ र भदौंमा ३ आत्महत्याका घटना भएका छन् । प्रहरी तथ्यांकलाई हेर्ने हो भने भदौं १२ र १३ गते दुई दिनमा जिल्लामा ३ आत्महत्याका घटना भएका छन् । तीन वटै आत्महत्या घटना सिरहा नगरपालिकामा क्षेत्रमा भएका छन् ।


भदौ १२ गते सिरहा नगरपालिका २ छोटकी टोलका श्यामकुमार महराका पत्नी २७ वर्षीया सुनिताकुमारी रामले आफू सुत्ने कोठामा सलको पासो लगाई आत्महत्या गरिन् । भदौ १३ गते सिरहा नगरपालिका ७ का ईश्वर रामका छोरी २२ वर्षीय पकिजाले आफ्नै घरको कोठामा झुन्डिएको अवस्थामा फेला परिन् । सोही दिन सिरहा नगरपालिका १ का १९ वर्षीय धिरज दास तत्मा आँपको बगैंचामा नाइलनको डोरीले पासो लगाएको अवस्थामा फेला परे ।


आत्महत्या घटनामा दिनानुदिन वृद्धि भएपछि प्रहरीले अनुसन्धानलाई तीब्र बनाएको छ । सिरहामा ०७३/७४ मा ८८ र ०७४/७५ मा ९३ जनाले आत्महत्या गरेको प्रहरी तथ्यांक छ । सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले जिल्लामा आपराधिक गतिविधि न्यूनीकरण भए पनि ‘आत्महत्या’ घटना डरलाग्दो रूपमा बढेको बताए । ‘आत्महत्याको तथ्यांकले यो दर बढेको छ,’ उनले भने, ‘यसलाई कम गर्न गाउँ गाउँमा पुगेर जनचेतनामूलक कार्यक्रम तत्काल सञ्चालन गर्नुपर्ने आवश्यकता छ, यसका लागि ठाउँ ठाउँमा जनचेतनामूलक सडक नाटक प्रदर्शन गर्दै आएका छौं ।’


महिलाहरू अधिकांश घरेलु हिंसाकै कारण मानसिक तनाव बढेपछि अन्तिम विकल्पमा आत्महत्या गर्न बाध्य भएको हुनसक्ने बताउँछन जेएस मुरारका क्याम्पसका मनोविज्ञान विभागका प्राध्यापक कन्हैया भट्ट । ‘घरेलु हिंसापछि अर्को कारण मानवले समय, परिस्थिति र सामाजिक व्यवस्थाका कारण कतिपय इच्छा पूरा गर्न सक्दैनन् त्यसपछि जीवनप्रति चरम वितृष्णा जाग्छ,’ उनले भने, ‘त्यही चरम वितृष्णाले आत्महत्या गर्न पुग्छन् ।’ आत्महत्या तहमा पुग्नुभन्दा अघि मानिसको मनमा अनावश्यक आइरहने तर्कनाबाट मुक्त भएर जीवनलाई जस्ताको तस्तै अनुभूत गर्नु र मनबोल उच्च राख्न प्राध्यापक भट्ट सुझाउँछन् ।


घरेलु हिंसाका घटना गाउँघरमा दिनानुदिन भइरहे पनि प्रहरीमा धेरैजसो घटना दर्ता नहुनुले पनि समाजमा आत्महत्या बढेको अधिकारकर्मीको भनाइ छ । ‘केही घटनामात्र प्रहरीमा पुग्नुले पनि घरेलु हिंसा न्यूनीकरण हुन नसकेका हुन्,’ अधिकारकर्मी राजकुमार राउत कुर्मी भन्छन्, ‘पछि गाँजिदै गएर आत्महत्या अंगाल्न पुग्छन् ।’ घरेलु हिंसा न्यूनीकरण गर्न महिलालाई आफ्नै घरबाट सम्मान गर्न सुरु गरेमा सम्भव हुने उनको भनाइ छ ।


महिला हिंसा बढनुमा पुरुषवादी सोच व्यवहार मुख्य कारण रहे पनि सामाजिक र सांस्कृतिक कारणले महिला स्वयं पनि सहायक कारण रहेकाले महिलाहरू पनि सजग बन्नुपर्ने अधिकारकर्मीको भनाइ छ । घरेलु महिला हिंसाविरुद्ध सञ्जाल सिरहाकी अध्यक्ष रामकुमारी दासले महिला हिंसा गर्ने पीडकमाथि सामाजिक र कानुनी कारबाही गर्न समाजका अगुवा भनिनेहरू नै निष्पक्ष नबन्ने गरेका कारण समाजमा घरेलु हिंसा न्यूनीकरण हुन नसकेको, प्रहरीले आत्महत्या भन्ने बित्तिकै अनुसन्धान नगर्ने प्रवृत्तिले पनि आत्महत्या बढेको बताइन ।


समाजशास्त्रका सह प्राध्यापक शोभितलाल चौधरी बाँच्नका लागि त्यसमा पनि सुख र मस्तीपूर्वक बाँच्नका लगि मानिसले प्रसिद्धि, पैसा लगायत सुख खोज्ने मानवीय स्वभावले उब्जाउने दुःख र विषादले गर्दा पनि मानिस आत्महत्याको तहसम्म पुग्ने गरेको बताउँछन् ।


‘पछिल्लो पटक युवा पुस्तामा सामाजिक सञ्जालको गलत प्रभावले पनि आत्महत्या घटना निम्त्याएको पाइन्छ,’ उनले भने, ‘त्यसलाई थप बल आर्थिक अभाव र बेरोजगारीले थप बल पुर्‍याएको छ, त्यसैले युवापुस्ताले अत्महत्या गर्नुभन्दा चेतन मनलाई दरो बनाउन जरुरी छ ।’

प्रकाशित : भाद्र २०, २०७६ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?