मेयरमाथि ज्यान मुद्दा

जनकपुर — धनुषाको हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलसहित वडाअध्यक्ष कार्यपालिका सदस्य र मेयरका सहयोगीबिरुद्ध बिहीबार ज्यानसम्बन्धी कसुर मुद्दा दर्ता गरिएको छ ।

हंसपुरका वडाध्यक्ष उदयकुमार सिंह, कार्यपालिका सदस्य श्याम राउत तथा मेयर मण्डलका सहयोगी लालबाबू यादवमाथि हंसपुर नगरपालिका २ बघचौडाका मृतक ५५ वर्षीय तपेश्वर मण्डलका छोरा राजकुमार मण्डलले चारजनाविरुद्ध मुद्दा दर्ता गराएको हो ।

साउन २१ गते हंसपुर नगरपालिको केन्द्र सार्ने विवादको क्रममा मेयर मण्डल र उपमेयर रेणुकुमारी झा समूहबीच झड्प भएको थियो । दुईतर्फी भिडन्त साम्य पार्न परिचालन गरिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले लाठीचार्ज गरेका थिए । त्यस क्रममा उपमेयर झा, वडाध्यक्ष उदयकुमार साहसहित एकदर्जन घाइते भएका थिए । भिडन्तमा ढाडको हडी भाँचिएर गम्भीर घाइते भएका तपेश्वर मण्डलको उपचारका क्रममा बुधबार अपरान्ह जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको थियो ।


मण्डलको मृत्यु भएपछि आक्रोशित बनेका बघचौडावासीले बुधबार रातिसम्म अस्पताल अगाडि प्रदर्शन गरेका थिए भने बिहीबार बिहान १० बजेदेखि नै मेयर मण्डल र वडाध्यक्ष सिंहमाथि कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका थिए । जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएलगतै मृतकका छोरा राजकुमार मण्डल, उपमेयर झालगायतका बघचौडावासीहरू अस्पताल पुगेका थिए । राजकुमार मण्डलले पोस्टमार्टमपछि बुवाको शव बुझेर गाउँ लग्ने बताए ।

प्रकाशित : भाद्र २०, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?