२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

वाग्मती नदीमा संयुक्त अध्ययन

अजित तिवारी

जनकपुर — नेपाल–भारत दुवै देशलाई डुबानमा पार्ने वाग्मती नदीमा बर्सेनि जलस्तर बढ्नुमा बालुवा–गिट्टीको मनपरी उत्खनन रहेको संयुक्त अध्ययन टोलीले निष्कर्ष निकालेको छ । बहाव छेक्न बनाइएको पुरानो र कमसल तटबन्ध तथा सीमाको भारतीय बाँधले समेत वाग्मतीको तटीय क्षेत्र डुबानमा पर्छ । 

वाग्मती नदीमा संयुक्त अध्ययन

असारको अन्तिम साताको वाग्मती नदीमा आएको बाढीले नेपाल र भारतका दर्जनभन्दा बढी बस्ती डुबानमा पर्‍यो । नेपाल–भारत खुला सीमा संवाद समूह जनकपुरले दुवै देशका विज्ञहरू सम्मिलित अध्ययन टोलीले वाग्मती नदीको तटीय क्षेत्रको समस्या र त्यसको समाधानसहितको रिपोर्ट सार्वजनिक गरेको छ ।


एउटै परियोजनाअन्तर्गत निर्माण गरिएको वाग्मती नदीको तटबन्धको स्वरूप र गुणस्तरमा एकरूपता नरहेको टोलीको निष्कर्ष छ । अराजक र अवैज्ञानिक किसिमले नदीबाट बालुवा–गिट्टी झिक्दा वाग्मती नदीको तटबन्धमा पानीको बहावको तीव्र दबाब र कटान बर्सेनि बढेको टोलीको दाबी छ ।


असार अन्तिममा वाग्मती नदीमा आएको बाढीले नेपालतर्फ रौतहट र सर्लाही तथा भारतको सीतामढी, शिवहर, मुजफ्फरपुर, दरभंगा, समस्तीपुर र खगडियाको बस्ती डुबान र कटानमा पर्‍यो । बाढीले जनधन, अनाज र भौतिक संरचनामा ठूलो नोक्सानी पुर्‍यायो । तटीय क्षेत्रको बासिन्दाको वाग्मती नदीसँगै जीवन विकसित भएको हो ।


‘वाग्मती नदीको तटबन्धले दुवै देशका मानिस बर्सेनि दुःख पाउँछन्,’ अध्ययन टोलीका सदस्य चन्द्रकिशोरले कान्तिपुरसँग भने, ‘यही पीडाको कारण वाग्मतीको तटीय क्षेत्रमा बासिन्दा आपसमा विभाजित बनेका छन् ।’ चन्द्रकिशोरका अनुसार पछिल्लो वर्षमा वाग्मती नदीको स्वरूप, पानीको स्तर, जलजीवको अवस्था र बाढीको चरित्रमा पहिलाभन्दा भिन्न देखिएको छ ।


दुवै देशको अध्ययन टोलीले वाग्मतीको बाढीको व्यवस्थापन, तटीय क्षेत्रका बासिन्दाको सुरक्षा, तटीय क्षेत्रमा बीचमा रहेको उर्वर र अनुत्पादक जग्गाको प्रयोगलगायतका विषयमा नेपाल–भारतका बासिन्दासँग संवाद गरेर रिपोर्ट तयार पारेको छ । टोलीमा नेपालबाट चन्द्रकिशोरसँगै राजीव झा, कुशेश्वर र प्रेमचन्द्र झा तथा भारतबाट अरुण दास र नागेन्द्र सिंह सहभागी थिए ।


टोलीले नेपालमा रौतहटको गौर, राजदेवी, दुर्गा–भगवती, माधवनारायण, गढीमाई र भारतको सीतामढी, रुसलपुर, छनकी, जमला, पर्सा, श्रीनगर, बसबिट्टा, ढेंग, मनियारीलगायतका ठाउँमा पुगेर वाग्मती नदीको समस्याबारे संवाद गरेको छ ।


टोलीले वाग्मती नदीको दुवै तटीय क्षेत्रमा निर्माण गरिएको तटबन्ध अन्तर्राष्ट्रिय सिमानाभन्दा यतै टुंगिएकाले बाढीको समयमा पानी नदी नाघेर बाहिरिदा दुवै देशको हिस्सा डुबानमा परिरहेको बताएको छ । ‘तटबन्धनको रेखदेखमा हेल्चक्र्याइँ र जोखिम क्षेत्र पहिचान गरिए पनि व्यवस्थापनमा कमी–कमजोरी देखिएको छ,’ चन्द्रकिशोरले भने, ‘वाग्मती नदीसँग जोडिएको नहर र सहायक नदीको तटबन्धमा पुग्ने बाढीको दबाब हटाउन कुनै प्रयास गरिएको देखिएन ।’


दुवै देशका सरकारी अधिकारीबीच समन्वय नहुँदा वाग्मती नदीको तटीय क्षेत्रमा निर्माण गरिएको भौतिक संरचनाले पनि डुबानको कारण रहेको टोलीको निष्कर्ष छ । विपद्को बेला दुवै देशको जिल्लास्तरीय समकक्षीबीच हटलाइन संवाद नहुने गरेको टोलीको बुझाइ छ । वाग्मती नदीको तटीय क्षेत्रमा बालुवा थुप्रिएको छ । चुरे र चारकोसे जंगलको फँडानीले तटीय क्षेत्रमा बालुवा पर्याप्त मात्रामा थुप्रिने गरिएको छ ।


‘वाग्मतीको बाढीले पहिला पाख (मलिलो माटो) ल्याउँथ्यो । जसले खेतको उर्वर शक्ति बढ्थ्यो,’ चन्द्रकिशोरले भने, ‘अहिले प्रदूषित पानी ल्याउँदा खेतको उर्वराशक्तिमा ह्रास आएको छ ।’ उनले दुवै देशका तटीय क्षेत्रका बासिन्दाबीच प्रेमपूर्ण सम्बन्ध रहेको दाबी गरे ।


‘दुवै तटीय क्षेत्रका बासिन्दाले नेपाल–भारत सरकार मिलेर वाग्मती समस्याको दीर्घकालीन समाधान गर्नुपर्ने बताए,’ टोलीका अर्का सदस्य राजीव झाले भने, ‘तटीय क्षेत्रका बासिन्दाबीच संवाद बढाउन स्थानीय तह सक्रिय हुनुपर्छ ।’

प्रकाशित : भाद्र १८, २०७६ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?