१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

‘विमानस्थल निजगढमै बन्नुपर्छ’

लक्ष्मी साह

बारा — प्रदेश २ सरकारको उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री रामनरेश रायको प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलका रूख काट्न नदिने अभिव्यक्तिको बाराका स्थानीयले कडा प्रतिवाद गरेका छन् । 

विमानस्थल निर्माणको वरिपरि रहेको निजगढ तथा कोल्हवी नगरपालिका र जितपुरसिमरा उपमहानगरपालिकासहित निजगढ विमानस्थल निर्माण सरोकारवाला समितिहरूले विज्ञप्ति जारी गर्दै मन्त्री रायको अभिव्यक्तिको प्रतिवाद गरेका हुन् ।


विमानस्थल बनाउन आवश्यक पर्ने रूखहरू काट्न नदिने र प्रदेशभित्रकै अरू खाली जमिन प्रयोग गरेर विमानस्थल बनाउनुपर्ने मन्त्री रायले धारणा सार्वजनिक गरेपछि उनको यहाँ विरोध सुरु भएको हो । ‘मन्त्रीज्यूको अभिव्यक्तिप्रति खेद प्रकट गर्छौं,’ कोल्हवी नगरपालिकाका नगर प्रमुख भरत भण्डारीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।


निर्माण प्रक्रिया सुरु भइसकेको र राष्ट्रिय गौरवको आयोजनालाई असफल बनाउने यस्तो अभिव्यक्ति फिर्ता लिनुपर्छ,’ उनले भने ।

जितपुरसिमरा पमहानगरपालिकाका प्रमुख डा. कृष्ण पौडेलले मन्त्रीको अभिव्यक्तिले हामीलाई निराश बनाएको बताए । ‘मुलुककै विकासमा टेवा पुग्ने र कायापलट गराउने खालको आयोजना भएकाले यो विमानस्थल बन्नुपर्छ,’ निजगढ नगरपालिकाका प्रमुख सुरेश खनालले भने । यसैबीच निजगढमा सोमबार गरिएको पत्रकार सम्मेलनमा पनि मन्त्री रायको अभिव्यक्तिको विरोध गरिएको छ । निजगढमा आइतबार साँझ स्थानीयहरूले मन्त्री रायको पुतलासमेत दहन गरेका थिए ।

निजगढ सरोकार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा वक्ताहरूले मन्त्री रायको अभिव्यक्ति गैरजिम्मेवार रहेको भन्दै फिर्ता लिन सुझाए । सम्मेलनमा बोल्दै नेकपाका नेता एंव युवा तथा खेलकुद पूर्वमन्त्री पुरुषोत्तम पौडेलले वातावरणको नाममा अनावश्यक हल्ला चलाएर परियोजनालाई असफल पार्ने षड्यन्त्र भइरहेको बताए । ‘विमानस्थल निर्माणमा षड्यन्त्र भए संघर्षमा उत्रिन्छौं,’ उनले भने ।


विमानस्थल निर्माणमा निजगढका जनताको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुने उनले बताए । कार्यक्रममा फास्टट्र्याक एयरपोर्ट निर्माण मूल समितिका संयोजक रविराज दंगालले विमानस्थल निर्माण हुन नदिन विभिन्न चलखेल हुँदै गरेको र नेपालीको भाग्य र भविष्यसँग जोडिएको आयोजना भएकाले सफलताको लागि सशक्त रूपमा दबाब अभियान सञ्चालन गर्नुपर्ने बताए ।


त्यसैगरी कोल्हवी सरोकार समितिका संयोजक ढुण्डिराज उप्रेतीले परियोजना प्रदेश २ को निम्ति सुनको अण्डा पार्ने कुख्रुाजस्तै भएको प्रतिक्रिया दिए । समितिका संयोजक एकबहादुर श्रेष्ठले फास्ट्र्याकको नाका भएको र वीरगन्ज तथा काठमाडौंसँगसमेत नजिक भएकाले निजगढमा नै विमानस्थल बन्नुपर्ने बताए ।


पत्रकार सम्मेलनमा निजगढ सरोकार समितिले जारी गरेको विज्ञप्तिमा मन्त्री रायले अभिव्यक्ति फिर्ता लिनुपर्ने अन्यथा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

प्रकाशित : भाद्र १८, २०७६ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?