कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जनकपुरमा तीजको रौनक

श्यामसुन्दर शशि

जनकपुर — ल है तिजै आयो... गीतमा छमछमी नाँचिरहेकी महिलाको हुल सोमबार जनकपुरका अधिकांश शक्तिपीठमा देखिए । रातो लिवासमा धपक्कै भएका महिलाको चहलपहलले जनकपुर रंगिएको छ । 

जनकपुरमा तीजको रौनक

पहाडी समुदायका महिलाले मात्र मनाउने तीज पर्व अचेल मिथिलाञ्चलमा पनि लोकप्रिय बनेको छ । पर्वको अवसरमा सोमबार जनकपुरमा देखिएका दुई फरक दृश्यले जहाँ तीजको आकर्षण बढाएको छ ।


तीज पर्वको अवसरमा व्रतालुहरूको रमाइलोका लागि गणेश युवा क्लबले रामचोकमा मञ्चको व्यवस्थापन गरेको थियो । जहाँ नेपालीभाषी व्रतालुहरू नाचगानमा व्यस्त थिए । चर्को घामको परवाह नगरी व्रतालुहरू नृत्यमा व्यस्त देखिन्थे । त्यहाँ खानेपानी, पंखा तथा पण्डालको व्यवस्था मिलाइएको थियो । उनीहरूसँगै मधेसमूलका महिला पनि होस्टेमा हैसे गर्दै नाँचिरहेका थिए ।


उता, गंगासागरको वर्सातीमा मैथिलानीहरू हरितालिका तीजको कथा सुनेर पण्डित पुरोहितसँग आशीष थाप्दै थिए । यसरी मिथिलाको विधि विधान अनुसार कथा सुन्नेमा नेपालीभाषी व्रतालुको संख्या पनि उल्लेख्य थियो ।


पण्डित हरिशंकर पाण्डेका अनुसार हरितालिका तीजको पूजा विधान पुरानो भए पनि मिथिलाञ्चलमा थोरै महिलाले मात्र कथा श्रवण गर्ने गरेका थिए । तर तीन–चार वर्षयता तीज मनाउने मैथिलानीहरूको संख्यामा उल्लेख्य रहेको उनले बताए ।


‘एक ठाउँमा बसेपछि एक–अर्कोमाथि सांस्कृतिक प्रभाव पर्नु स्वाभाविक हो । तीजको अवसरमा नेपालीभाषीको प्रभावमा मैथिलानीहरू पनि नाचगानमा रमाउनु र मैथिलानीहरूको प्रभावले नेपालीभाषीहरू कथा श्रवण गर्न तर्फ अग्रसर भएका छन्,’ पण्डित पाण्डेले भने ।


जनकपुरधाम ८ वलवा टोलकी इन्दु कोइराला मैथिलानीहरूको संलग्नतापछि तीज पर्व अझ रमाइलो बनेको बताउँछिन् । ‘सहभागिता र रमाइलो दुवै दृष्टिले तीज पर्व उत्कर्षतर्फ अग्रसर छ,’ उनले भनिन् ।


पति तथा सन्तानको सुख शान्तिका लागि आयोजना गर्ने तीजले जनकपुरका टोल–टोल अचेल गुलजार बन्न थालेका छन् । तीज गीतको स्वरले वातावरण रमाइलो बनेको छ ।

प्रकाशित : भाद्र १७, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?