जनकपुरमा तीजको रौनक

श्यामसुन्दर शशि

जनकपुर — ल है तिजै आयो... गीतमा छमछमी नाँचिरहेकी महिलाको हुल सोमबार जनकपुरका अधिकांश शक्तिपीठमा देखिए । रातो लिवासमा धपक्कै भएका महिलाको चहलपहलले जनकपुर रंगिएको छ । 

पहाडी समुदायका महिलाले मात्र मनाउने तीज पर्व अचेल मिथिलाञ्चलमा पनि लोकप्रिय बनेको छ । पर्वको अवसरमा सोमबार जनकपुरमा देखिएका दुई फरक दृश्यले जहाँ तीजको आकर्षण बढाएको छ ।

तीज पर्वको अवसरमा व्रतालुहरूको रमाइलोका लागि गणेश युवा क्लबले रामचोकमा मञ्चको व्यवस्थापन गरेको थियो । जहाँ नेपालीभाषी व्रतालुहरू नाचगानमा व्यस्त थिए । चर्को घामको परवाह नगरी व्रतालुहरू नृत्यमा व्यस्त देखिन्थे । त्यहाँ खानेपानी, पंखा तथा पण्डालको व्यवस्था मिलाइएको थियो । उनीहरूसँगै मधेसमूलकामहिला पनि होस्टेमा हैसे गर्दै नाँचिरहेका थिए ।

उता, गंगासागरको वर्सातीमा मैथिलानीहरू हरितालिका तीजको कथा सुनेर पण्डित पुरोहितसँग आशीष थाप्दै थिए । यसरी मिथिलाको विधि विधान अनुसार कथा सुन्नेमा नेपालीभाषी व्रतालुको संख्या पनि उल्लेख्य थियो ।

पण्डित हरिशंकर पाण्डेका अनुसार हरितालिका तीजको पूजा विधान पुरानो भए पनि मिथिलाञ्चलमा थोरै महिलाले मात्र कथा श्रवण गर्ने गरेका थिए । तर तीन–चार वर्षयता तीज मनाउने मैथिलानीहरूको संख्यामा उल्लेख्य रहेको उनले बताए ।

‘एक ठाउँमा बसेपछि एक–अर्कोमाथि सांस्कृतिक प्रभाव पर्नु स्वाभाविक हो । तीजको अवसरमा नेपालीभाषीको प्रभावमा मैथिलानीहरू पनि नाचगानमा रमाउनु र मैथिलानीहरूको प्रभावले नेपालीभाषीहरू कथा श्रवण गर्न तर्फ अग्रसर भएका छन्,’ पण्डित पाण्डेले भने ।

जनकपुरधाम ८ वलवा टोलकी इन्दु कोइराला मैथिलानीहरूको संलग्नतापछि तीज पर्व अझ रमाइलो बनेको बताउँछिन् । ‘सहभागिता र रमाइलो दुवै दृष्टिले तीज पर्व उत्कर्षतर्फ अग्रसर छ,’ उनले भनिन् ।

पति तथा सन्तानको सुख शान्तिका लागि आयोजना गर्ने तीजले जनकपुरका टोल–टोल अचेलगुलजार बन्न थालेका छन् । तीज गीतको स्वरले वातावरण रमाइलो बनेको छ ।

प्रकाशित : भाद्र १७, २०७६ ०९:५७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

चौठचन्द पर्व मनाइयो

कान्तिपुर संवाददाता

जनकपुर — मिथिलाञ्चलको महत्त्वपूर्ण पर्व चौठचन्द सोमबार साझ मनाइएको छ । भाद्र शुक्ल चतुर्थीको तिथिको साँझ चन्द्रमालाई फलफूल, प्रसाद चढाई चौठचन्द पर्व मनाउने चलन छ । 

दिनभर निराहार वर्त बसेका महिला आफ्नै घरमा पकाएका पूरी, खिर, पिरुकिया, मालपूवासँगै फलफूल, पान, सुपारी, काक्रोलगायतका पूजा सामग्री राखेर चन्द्रमालाई चढाएर अन्न जलग्रहण गर्छन् ।

भाद्र शुक्ल चतुर्थीको चन्द्रमालाई रितो हात दर्शन गर्दा बिनाकारण कलंक लाग्ने मान्यता छ । यसका साथै पापमुक्ति तथा धन्यधान्य प्राप्तिका लागि यो पर्व मनाउने चलन छ । स्कन्द पुराणमा वर्णन भएअनुसार एक पटक गणेशको ठूलो भुँडी हेरेर चन्द्रमाले उनको खिल्ली उडाएका थिए ।

यसबाट आक्रोसित बनेका गणेशले चन्द्रमालाई श्राप दिए । ‘भाद्र शुल्क चतुर्थीको दिन जसले तिमीलाई देख्छ, त्यसलाई बिनाकारण कलंक लाग्छ ।’ श्रापमुक्तिका लागि चन्द्रमले गणेशको स्तूति गरे अनि गणेशले भाद्र शुक्ल चतुर्थीका दिन फलफूल लिएर चन्द्रमाको दर्शन गर्नेको कलंकमुक्ति हुने वरदान दिएछन् ।

पण्डित शिवचन्द्र पाण्डेका अनुसार कलंकमुक्ति तथा धन्यधान्य प्राप्तिका लागि भाद्र शुक्ल चतुर्थीको दिन चन्द्रमा र गणेशलाई पूजा गरिन्छ । यसैगरी सोमबारदेखि यहाँ गणेश उत्सव पनि सुरु भएको छ ।

गणेश जन्मोत्सवको अवसरमा जनकपुरको जनक युवा क्लब तथा गणेश युवा क्लबले यहाँ विशेष उत्सव आयोजना गरेको छ । धनुषसागरको उत्तरी डिलमा जनकयुवा क्लबले भव्य गणेश प्रतिमा निर्माण गरेको छ भने गणेश युवा कमिटी नयाँ प्रतिमा जडान गर्दैछ । यो उत्सव दुई दिनसम्म चल्नेछ ।

प्रकाशित : भाद्र १७, २०७६ ०९:५६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT