२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

चौठचन्द पर्व मनाइयो

जनकपुर — मिथिलाञ्चलको महत्त्वपूर्ण पर्व चौठचन्द सोमबार साझ मनाइएको छ । भाद्र शुक्ल चतुर्थीको तिथिको साँझ चन्द्रमालाई फलफूल, प्रसाद चढाई चौठचन्द पर्व मनाउने चलन छ । 

दिनभर निराहार वर्त बसेका महिला आफ्नै घरमा पकाएका पूरी, खिर, पिरुकिया, मालपूवासँगै फलफूल, पान, सुपारी, काक्रोलगायतका पूजा सामग्री राखेर चन्द्रमालाई चढाएर अन्न जलग्रहण गर्छन् ।


भाद्र शुक्ल चतुर्थीको चन्द्रमालाई रितो हात दर्शन गर्दा बिनाकारण कलंक लाग्ने मान्यता छ । यसका साथै पापमुक्ति तथा धन्यधान्य प्राप्तिका लागि यो पर्व मनाउने चलन छ । स्कन्द पुराणमा वर्णन भएअनुसार एक पटक गणेशको ठूलो भुँडी हेरेर चन्द्रमाले उनको खिल्ली उडाएका थिए ।


यसबाट आक्रोसित बनेका गणेशले चन्द्रमालाई श्राप दिए । ‘भाद्र शुल्क चतुर्थीको दिन जसले तिमीलाई देख्छ, त्यसलाई बिनाकारण कलंक लाग्छ ।’ श्रापमुक्तिका लागि चन्द्रमले गणेशको स्तूति गरे अनि गणेशले भाद्र शुक्ल चतुर्थीका दिन फलफूल लिएर चन्द्रमाको दर्शन गर्नेको कलंकमुक्ति हुने वरदान दिएछन् ।


पण्डित शिवचन्द्र पाण्डेका अनुसार कलंकमुक्ति तथा धन्यधान्य प्राप्तिका लागि भाद्र शुक्ल चतुर्थीको दिन चन्द्रमा र गणेशलाई पूजा गरिन्छ । यसैगरी सोमबारदेखि यहाँ गणेश उत्सव पनि सुरु भएको छ ।


गणेश जन्मोत्सवको अवसरमा जनकपुरको जनक युवा क्लब तथा गणेश युवा क्लबले यहाँ विशेष उत्सव आयोजना गरेको छ । धनुषसागरको उत्तरी डिलमा जनकयुवा क्लबले भव्य गणेश प्रतिमा निर्माण गरेको छ भने गणेश युवा कमिटी नयाँ प्रतिमा जडान गर्दैछ । यो उत्सव दुई दिनसम्म चल्नेछ ।

प्रकाशित : भाद्र १७, २०७६ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?