१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

ट्राफिक नियम मिच्नेमा विद्यार्थी बढी

रौतहट — नियम मिचेर गाडी चलाउनेलाई इलाका प्रहरी र जिल्ला ट्राफिक कार्यालयले मिलेर कारबाही थालेको छ । छड्के जाँच गरेर नियम मिच्नेलाई सम्झाउने र दोहर्‍याएर बदमासी गर्नेलाई कारबाहीको दायरामा ल्याएको छ । 

गौर–चन्द्रनिगाहपुर खण्डमा साना सवारी चलाउनेले खुलेआम नियम मिच्न थालेपछि इलाका प्रहरी र ट्राफिक प्रहरीले कडाइ गरेको हो ।


जथाभावी सवारी चलाउँदा यस क्षेत्रमा दिनहुँ सवारी दुर्घटना हुन्थ्यो । मोटरसाइकल, अटो र इरिक्साको दुर्घटना बढ्दो छ । दैनिक २/३ वटा सम्म दुर्घटना हुन थालेपछि इलाका प्रहरी चन्द्रपुरले ट्राफिकलाई सहभागी गराई बृहत सडक चेतनाको कार्यक्रम अघि बढाएको छ । जाँचका क्रममा सवारीको कागजपत्र बिनाका, भारतीय नम्बर प्लेटका विशेष निगरानी गरिएको छ ।


यसै क्रममा कतिपय चोरीका सवारीसमेत फेला पारेको डिएसपी कवित कट्वालले बताए । ‘हेलमेट नलगाई मोटरसाइकल चलाउने, ३ जना चढाएर यात्रा गराउने, लाइसेन्सबिना सवारी चलाउनेजस्ता कार्यलाई निरुत्साहन गरिएको छ,’ उनले भने, ‘नियम सडकमा प्रायः गरी क्याम्पस पढ्ने विद्यार्थीले नियम मिच्ने गरेको पाइएको छ ।


उनीहरूले तिब्र गतिमा सवारी चलाउने गरेको प्रहरीको भनाइ छ । यहाँको गरुडा, शिवनगर, सन्तपुर, डुमरिया, हर्साह, बिर्ता, शिवनगर, शुकदेव क्षेत्रमा ट्राफिक नियम मिचेर मोटरसाइकल चलाउने संख्याको बढ्दो छ । ‘पहिला जे भए पनि अहिले नियम मिचेर सवारी चलाउनेलाई छाडिन्न,’ जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक शैलेश न्यौपानेले भने, ‘जथाभावि सवारी चलाउँदा दुर्घटना हुन्छ । यसले सबैलाई क्षति हुन्छ ।’


सडकमा सवारी चलाउनेलाई ट्राफिक नियमका बारेमा सम्झाउने बुझाउने गरेको उनले सुनाए । जिल्ला ट्राफिकले हेलमेट नलगाउनेसँग ५ सयदेखि १ हजार ५ सयसम्म जरिवाना र चालक अनुमतिपत्र नभएकालाई १ हजारदेखि १ हजार ५ सयसम्म जरिवाना लिने गरेको छ ।


जिल्ला ट्राफिका अनुसार साउनयता एक वर्षको अवधिमा विभिन्न स्थानमा भएका सवारी दुर्घटनामध्ये मोटरसाइकल बढी छन् । यस अवधिमा १ सय १६ वटा सवारी दुर्घटना भए । तीमध्ये ४ सय २४ भन्दा बढी मोटरसाइकल दुर्घटना भएको ट्राफिकको तथ्यांक छ । दुर्घटनामा ५५ को मृत्यु भएको थियो । गएको साउनमा मात्र २० वटा सवारी दुर्घटना भएकोमा १७ वटा मोटरसाइकल परेका छन् ।

प्रकाशित : भाद्र १७, २०७६ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?