सीडीओलाई समस्याको चाङ

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीका उखु किसानका समस्या, विद्युत् अनियमित र महिनौंदेखि नगरपालिकामा लगाइएको ताला लगायतका समस्या सुल्झाउन प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराइएको छ । 

धनकौलस्थित अन्नपुर्ण चिनी उद्योगले तीन वर्ष देखि किसानको भुक्तानी नदिएको, सरकारबाट उखु अनुदान वापत पाएको रकम पनि किसानले नपाएको, दिनहुँ नेपाल विद्युत् प्राधिकरणले अघोषित रूपमा गरेको लोडसेडिङ तथा भोल्टेज अपडाउन हुँदा नागरिकले खेपिरहेको मार र बलरा नगरपालिकामा महिनौं अघि लगाइएको ताला नखुल्दा स्थानीयले ब्यहोरिरहेको सास्तीका बारेमा प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीको ध्यानाकर्षण गराइएको हो ।

केही पीडित उखु किसानलाई लिएर जिल्ला प्रशासन कार्यालय पुगेका नागरिक अगुवाले जिल्लाबासीको समस्या सुल्झाइदिन स्थानीय प्रशासनको ध्यानाकर्षणगराएका हुन् ।
अन्नपूर्ण चिनी उद्योगले तीन वर्षदेखि किसानसँग खरिद गरेको उखुको भुक्तानी नदिँदा जिल्लाका दक्षिणी क्षेत्रका किसान मारमा परेका छन् । उखु बिक्री गरेको भुक्तानी माग्न उद्योगमा जाने, धर्नामा बस्ने लगायतका काम गरे पनि रकम नपाएको किसानको गुनासो छ ।

पैसा नपाउँदा किसान ऋणमा चुर्लुम्म डुब्दै गएको, उनीहरूमा मानसिक तनाव बढेको घर व्यवहार धान्नै मुस्किल परेको जस्ता समस्याबारे प्रमुख जिल्ला अधिकारीलाई भेटेर ध्यानाकर्षण गराइएको प्रेस युनियन सर्लाहीका निवर्तमान अध्यक्ष अजित सिंहले बताए ।

सिंहको मात्रै अन्नपूर्ण चिनी उद्योगबाट झन्डै तेह्रलाख रकम भुक्तानी लिन बाँकी छ । ‘सरकारले दिने अनुदान पनि उद्योगले दिएको छैन,’ उनले भने, ‘पीडा नै पीडाले भरिएको आनो कथा प्रमुख जिल्ला अधिकारी समक्ष पोखेका छौं ।’ वर्षौंदेखि किसान मारमा परिरहँदा समेत अन्नपूर्ण चिनी उद्योगका सञ्चालकले भुक्तानीमा झमेला गरिरहेका छन् । भुक्तानीका लागि किसानहरू धर्ना तथा आन्दोलनमा बस्दा उद्योगी सम्पर्कविहीन बन्ने गरेका छन् ।

यस्तै जिल्लामा खपि नसक्नु गर्मीमा छिन–छिनमै हुने विद्युत् कटौतीले सर्लाहीबासी नै हैरान बनेका छन् । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङमुक्त भएको घोषण गरे पनि दैनिक दर्जनौं पटक विद्युत् अवरुद्ध हुँदा जिल्लाबासी पीडित बनेका हुन् । यस विषयमा पनि प्रजिअको ध्यानाकर्षण गराइएको छ ।

उखरमाउलो गर्मीमा विद्युत प्राधिकरणले छिनछिनमै विद्युत काटने गरेकाले उपभोक्ताहित विपरित भएको भन्दै नागरिक अगुवा रजनीकान्त झाले प्रजिअसमक्ष गुनासो पोखेका थिए । झाले अनियमित विद्युत कटौतीसँगै विद्युत भोल्टेज स्थिर नहुँदा विद्युतीय उपकरण खराब भएपछि नागरिक थप मारमा परिरहेको जानकारी गराएको बताए ।

त्यस्तै जिल्लाको दक्षिणी क्षेत्रस्थित बलरा नगरपालिकामा असार पहिलो साता नगरकी उपप्रमुखसहित अन्य जनप्रतिनिधिले मेयरले एकलौटी र नियम विपरीत काम गर्न थालेको भन्दै ताला लगाउँदा स्थानीय सरकारबाट सेवासुविधा पाउन नसकेको प्रजिअसमक्ष गुनासो गरे । मेयरले विवाद समाधानका लागि पहल गर्नु भन्दा पनि आनै घरमा वैकल्पिक कार्यालय खोलेको बारेमा पनि जानकारी गराइएको नागरिक अगुवा कौशल किशोर सिंहले जानकारी दिए ।

किसानको पीडा, विद्युत्को बेथिती र नगरमा लगाइएको तालाको बारेमा सामूहिक रूपमा गएर प्रजिअ जिसीको ध्यानाकर्षण गराइएको नागरिक समाजका महासचिव शिवचन्द्र चौधरीले बताए । किसानसहित नागरिकको समस्या हल्कारूपमा नलिन समेत प्रजिअ समक्ष आग्रह गरिएको नागरिक अगुवाले बताए ।

उनीहरूको भेटमा प्रजिअ जिसीले किसानले लामो समयदेखि उद्योगबाट पाउन नसकेको भुक्तानी दिलाउन पहल गर्ने, विद्युतीय समस्या निर्मुल पार्ने र बलराको विवाद मिलाउने प्रतिबद्धता जनाए ।

प्रकाशित : भाद्र १७, २०७६ ०९:५५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

जसलाई तीजले छोएन

कान्तिपुर संवाददाता

कास्की — एक हातले चर्खा घुमाइरहेकी छन् । अर्को हातमा धागो छ । देशभर तीजको रमझम चल्दा मेखमाया तामाङलाई भने नारीको यो तीजले छोएन । अघिपछि जस्तै तीजको दिन बिहानै २ वर्षका छोरालाई लिएर दिनभरि चर्खा घुमाइन् । 

धादिङ घर भई पोखरा लामाचौरमा बस्दै आएकी तामाङ चर्खा नघुमाई बिहान बेलुकी हातमुख जोडन नपाउने सुनाउँछिन् । उनले पोखरा बगरदेखि एक पसलबाट ऊन किनेर लान्छिन् र चर्खाबाट धागो बनाउँछिन् ।

‘एकदिन खाली रह्यो भने आफैंलाई घाटा हुन्छ, जति धरै चर्खा घुमायो, त्यति नै पैसा आउँछ,’ तामाङले भनिन्, ‘तीजले खासै छोएको छैन, एक दिनभरि भनेको मेरो लागि धेरै समय हो, त्यो समयमा मैले एक दुई केजी धागो बनाउन सकें भने,कमसेकमा दुई छाक त टर्छ ।’

उनका श्रीमान्ले ज्यामी काम गर्छन् । दुवै जना भएर काम गरेको पैसाले घरपरिवार हेर्न र आफूहरू खान ठिक्क भएको उनी सुनाउँछिन् । आफैं काम नगरी मुखमा माड नपर्ने ज्यामी काम गरेकी भाइशुभा गुरुङ बताउँछिन् । गोरखा घर भई पोखरा बगालेटोल बस्दै आएकी गुरुङ तीजको दिन बिहानैदेखि बेल्चा हातमा लिएर घर बनाउन मसला मुछ्दै थिइन् ।

‘यति नगरी खान पाइँदैन, नाचगान हेरेर बेलुकी के खाने,’ गुरुङ भन्छिन्, ‘छोराछोरी पाल्नैपर्‍यो, सानसान्,ै आफैं काम गरेर खान सक्दैनन् ।’ उनका श्रीमान् दोस्रो बिहे गरी पोखरामै बसेका छन् । श्रीमान् त्यसरी बसेपछि गुरुङले दैनिक रूपमा बिहानदेखि बेलुकीसम्म ज्यामी काम गरेरै गुजरा गर्दै आएकी छन् ।

‘एक्लै भएको भए रमाइलो हेर्न जान हुन्थ्यो,’ गुरुङसँगै काम गरेकी रोल्पा घर भएकी चन्द्र रोका भन्छिन्, ‘खाने मुख धेरै छन्, एकैछिनको रमाइलोले बेलुका छाक टार्नै गाह्रो । चाडबाड त नआए नि हुने हो ।’

प्रकाशित : भाद्र १७, २०७६ ०९:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT