नक्कली प्रेमपासोमा जेलिँदै चेली

पर्सा — रौतहटको विश्रामपुर नगरपालिकाकी एक युवतीको पर्सा पोखरियाका यादव थरका युवकसँग ६ महिनाअघि मोबाइलबाट गफ भयो । रङ नम्बरबाट सुरु भएको कुराकानी निरन्तर चल्यो । दुवैको फोन गफमै माया बस्यो ।

यादवले आफूलाई मुस्लिम समुदायको र अविवाहित रहेको ढाटिरहे । प्रेमीको खोजीमा उनी घरबाट हिंडिन । तर, बाराको महागढीमाई नगरपालिका पुगेर समस्यामा परिन् । उनको माइती नेपाल वीरगन्जले उद्धार गर्नुपर्‍यो । सुरुमा आफूलाई हिन्दु दाबी गर्दै आएकी युवतीले अन्ततः आफू मुस्लिम भएको स्विकारिन् ।


पछि उनले प्रेमी यादव विवाहित र मुस्लिम समेत नरहेको थाहा पाइन् । ठोरी गाउँपालिका ५ सुवर्णपुरकी अर्की युवती पर्सा–बारा औद्योगिक करिडोरको एक उद्योगमा मजदुरी गर्थिन् । उद्योगकै एक सहकर्मी मजदुरसँग उनी मायाजालमा परिन् । मुस्लिम समुदायका युवकले आफू पनि राधाकै स्वजातीय रहेको भन्दै प्रेम विवाह गरी रौतहटको चन्द्रपुरमा करिब ६ महिना घरजम गरी बसे । पछि युवकको भेद खुल्यो । अन्ततः माइती नेपालले राधाको उद्धार गर्‍यो ।


एक महिनायता भएका यी दुई घटना प्रतिनिधि मात्र हुन् । रङ नम्बरबाट यसरी सुरु हुने फोन वार्ता मायाप्रेम र त्यसको जालमा चेलीबेटीहरू परेको थुप्रै घटना एक वर्षयता भएको छ । अज्ञात प्रेमीको आश्वासन र उक्साहटको भरमा उनीहरूसँग विवाह वा रोजगारीका लागि भारत तथा भारत हुँदै तेस्रो मुलुक जान लागेको कतिपय चेलीको प्रेमी फोनबाटै भेटिने वा झुठको सहारा लिएर गरिएको प्रेम प्रस्तावको कारण अप्ठेरोमा परेको भनाइ र भोगाइ हुन्छ ।


मोबाइलले धेरैको दैनिकी सहज बनाए पनि यो उपकरण नेपाली चेलीलाई भारतका विभिन्न सहरमा बिक्री गराउने माध्यम पनि बन्दै छ । चेली फकाउन सक्रिय व्यक्तिहरूले सुरुमा अनुमानको भरमा फोन गर्ने र अर्को तर्फ पुरुषले फोन रिसिभ गरे त्यसपछि त्यो नम्बरमा फोन नगर्ने तर महिला परे भने पटक–पटक फोन गरेर फोनबाटै माया जालमा पार्ने गरेको पाइएको छ । गिरोहका कतिपय व्यक्तिले चेलीहरूलाई विवाह गर्ने मात्र नभई सीमा कटाएर भारतसम्म लग्ने असफल प्रयास समेत गरेका घटना सार्वजनिक हुने गरेका छन ।


माइती नेपाल वीरगन्ज शाखाकी प्रमुख संगीता पुरी सीमाबाट उद्धार गरिएका चेलीबेटी बेचबिखनमा सक्रिय गिरोहले प्रेमजाललाई अपनाएको यो नयाँ शैली रहेको बताउँछिन् । यसरी नेपाली चेलीलाई फकाउनेमा नेपालीभन्दा भारतीयहरू बढी हुन्छन ।


विशेष गरी कमजोर आर्थिक अवस्था भएका जनजाति महिला/युवतीहरू यसरी नक्कली मायामा पर्छन् । सरोकारवाला निकायले यस्ता महिकलालाई लक्षित गरी सिपमुलक तालिम र रोजगारीको अवसर दिलाउने हो भने यस्ता घटनामा बिस्तारै कमी आउन सक्ने उनले बताइन् ।

प्रकाशित : भाद्र १६, २०७६ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?