कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

गर्मीमा विद्युत्‌को मार

सर्लाही — दिनभर मजदुरी गरेर फर्किने कविलासी नगरपालिका–१ का रामएकवाल मण्डल राति थकाई मार्ने बेलामा पंखा चलाउन नपाउँदा खुला आकाशमुनि सत्ने गरेका छन् । बाहिर सुत्दा फेरि लामखुट्टे र सर्पको त्रास उस्तै छ ।

गर्मीमा विद्युत्‌को मार

विद्युत् कटौतीले पंखा चलाउन नपाएका मण्डल लामखुट्टेको टोकाईबाट बिरामी पर्ने सम्भावना भए पनि बाहिरै सुत्न बाध्य छन् । प्रत्येक दिन दर्जनौं पटक कटौती हुने विद्युत् राति पनि आउने जाने मात्र गरेपछि निदाउन नसकिएको उनको गुनासो छ । ‘दिनभरि अर्काको काम गरेर थाकेको हुन्छु, राति सुत्ने बेलामा बिजुली जान्छ, गर्मीले सुत्न नसकेपछि बाहिर आएर सुतिरहेको छु,’ उनले भने, ‘राति निदाइएन भने भोलि काम गर्न कठिन हुन्छ, लामखुट्टे र सर्पको जोखिम भए पनि गर्मीका कारण बाहिर सुत्नु मेरो बाध्यता हो ।’


खपि नसक्नु गर्मीमा छिन–छिनमै हुने विद्युत् कटौतीले मण्डल मात्र होइन सर्लाहीबासी नै हैरान बनेका छन् । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङमुक्त भएको घोषण गरे पनि दैनिक दर्जनौं पटक विद्युत अवरुद्ध हुँदा जिल्लाबासी पीडित बनेका हुन् । गर्मीले आहाल बनेको बेला घरिघरि बत्ती गइरहँदा गर्मीमा पंखा समेत चलाउन नपाउँदा जनजीवन थप प्रभावित बनेको स्थानीय मनोज ठाकुरले बताए । ‘दिनभरिको कडा मिहनेत त छँदैछ राति राति सुत्ने बेलामा विद्युत कटौतीले हैरान बनाउँछ,’ उनले भने, ‘देशलाई लोडसेडिङ मुक्त घोषणा गरेर अन्य मुलुकमा विद्युत् बिक्री गर्ने योजना सुन्दैछु, तर हामी घण्टौंसम्म विद्युत नआएर सास्ती खेप्न बाध्य छौं ।’


उखरमाउलो गर्मीमा विद्युत प्राधिकरणले छिनछिनमै विद्युत काट्ने गरेकाले उपभोक्ताहित विपरीत भएको नागरिक अगुवा रजनीकान्त झाको भनाइ छ । उनले छिनछिनमै हुने विद्युत् कटौती उपभोक्ता हकहित विपरीत भएको भन्दै अदालतमा मुद्दा दिने मन:स्थितिमा पुगेका छन् । ‘नेपाल विद्युत् प्राधिकरणले उपभोक्ता हकहितको ख्याल गरेको देख्न पाइँदैन, जिल्लाबासी अनियमित विद्युत कटौतीले हैरान छन्,’ झाले भने, त्यही भएर उपभोक्ता हकहितका लागि अदालत गुहार्ने योजना बनाएको छु ।’ झाले अनियमित विद्युत कटौतीसँगै भोल्टेज पनि अपडाउन हुने गरेको सुनाए ।


वर्षौंअघि मलंगवा वितरण केन्द्र मात्र हुँदा आकाशमा कालो बादल मडारिना साथ बिजुली जाने गरेको थियो । त्यस यता लालबन्दी वितरण केन्द्र र बरहथवा वितरण केन्द्र स्थापना भए पनि सेवामा भने सुधार हुन सकेको छैन । अहिले जुनेली रातमा पनि विद्युत घण्टौंसम्म जाने गरेको छ । विद्युत भोल्टेज स्थिर नहुँदा विद्युतीय उपकरण खराब हुने गरेको स्थानीयको भनाइ छ । विद्युतको रकम समयमा नतिरे २५ प्रतिशत जरिवाना तिर्नुपर्ने, तर विद्युत छिनछिनमै आउने जाने र भोल्टेज समस्याका कारण विद्युतीय सामग्री खराब भएमा क्षतिपूर्ति कसले तिर्ने भनेर स्थानीयले आवाज उठाइरहेका छन् । उखरमाउलो गर्मीमा घण्टौं हुने विद्युत कटौतीको तत्काल समाधान गर्न स्थानीयले आग्रह गरेका छन् ।


यता नेपाल विद्युत प्राधिकरणले भने आपतकालीन समस्यामा मात्र विद्युत कटौती गर्नु परेको जनाएको छ । विद्युतमा पुरानो संयन्त्र र गर्मीका बेला पंखा, एसी, फ्रिज जस्ता विद्युतीय उपकरण धेरै चल्ने भएकाले बढी भार थाम्न नसकेर बेला–बेलामा बत्ती जाने गरेको वितरण केन्द्रले जनाएको छ । ‘विद्युत कटौतीको तालिका छैन, केही समस्या आए मात्र हामीले विद्युत कटौती गर्ने हो,’ नेपाल विद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख विजय महतोले भने ।

प्रकाशित : भाद्र १५, २०७६ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?