३ र्‍याक डीएपी मल भित्रियो

शंकर आचार्य

(पर्सा) — डिएपी मलको चरम अभाव झेलिरहेका बेला सातायता कृषि सामग्री कम्पनीको ३ र्‍याक डिएपी मल वीरगन्ज भन्सारबाट नेपाल भित्र्याएको छ ।

कम्पनी वीरगन्ज क्षेत्रीय कार्यालय प्रमुख गोविन्द पराजुलीका अनुसार भदौ ७ गते पहिलो, बिहीबार दोस्रो र तेस्रो गरी २ र्‍याक वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह आइपुगेको हो ।


भारतको विशाखापटनम बन्दरगाहबाट मल बोकेका यी रेल र्‍याक आइपुगेका हुन् । भारतकै इन्डियन पोटास लिमिटेड मलको यो कन्साइन्मेन्टको सप्लायर रहेको छ । पराजुलीका अनुसार थप अर्को रेल र्‍याक डिएपी मल लिएर सोमबार वा मंगलबारसम्म वीरगन्ज आइपुग्नेछ ।


कम्पनी क्षेत्रीय कार्यालय भैरहवाका लागि आएको एक र्‍याक डिएपी मल बिहीबार नै भैरहवा नजिकको भारतीय रेल्वे स्टेसन नौतनवा आइपुगेको छ । एक रेल्वे र्‍याकले २ हजार ५ सय मेटन मल बोक्छ । कुल २५ हजार मेटन डिएपी मल आयातको यो सम्झौता अन्तर्गत १० हजार मेटन मल वीरगन्ज क्षेत्रीय कार्यालय, ९ हजार मेटन भैरहवा क्षेत्रीय कार्यालय र ६ हजार मेटन विराटनगर क्षेत्रीय कार्यालयले पाउनेछ । वीरगन्ज कार्यालयको आधा मल आइसकेको छ । बिहीबार आएको दोस्रो र्‍याकमध्ये आधा विराटनगर जानेछ । अब आउने चौथो र्‍याक मल पूरै विराटनगर जानेछ ।


पहिलो र दोस्रो र्‍याकमा आएको डिएपी मल वीरगन्ज क्षेत्रीय कार्यालय मातहतका वीरगन्ज समेत जनकपुर, हेटौंडा, त्रिशुली, कावासोती, भरतपुर, धुलिखेल, काठमाडौं, गजुरी, कलैया, सर्लाही, चन्द्रपुर, सिन्धुली, दमौली लगायतका कार्यालयमा आवश्यक परिचालन भइसकेको छ ।


मुलुकका अधिकांश जिल्लामा डिएपी मलको अभाव रहेको थियो । धान रोप्ने बेलामा मल नपाउँदा किसान गुणस्तरहीन तथा महँगो भारतीय डिएपी मल खरिद गर्न बाध्य भएका थिए ।

प्रकाशित : भाद्र १५, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?