२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

सुध्रिँदै गजेन्द्रनारायण सिंह अस्पताल

अवधेशकुमार झा

(राजविराज) — रेफरल सेन्टरजस्तै बनेको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताललाई सुविधासम्पन्न बनाउन थालिएको छ । विशेषज्ञ चिकित्सकको पूर्ति र विभिन्न सेवाको सुचारुसँगै अस्पतालमा सुधारको संकेत देखिएको छ ।

सुध्रिँदै गजेन्द्रनारायण सिंह अस्पताल

पछिल्लो दुई महिनामा अस्पतालमा मेडिसिन, सर्जरी, पेडियाट्रिक, एनेसथेसिया, नाककान घाँटी, अर्थो, रेडियोलोजी र डेन्टलको विशेषज्ञ सेवा सुरु भएको छ । यी सेवा सुरु हुनु भन्दा अगाडि सामान्य बिरामीलाई पनि विराटनगर वा धरान रेफर गर्ने गरिएको थियो ।


अस्पतालमा पितथैली, हाइड्रोसिल, हर्निया र एपेन्डिक्सको शल्यक्रिया पनि सुरु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले जानकारी दिए । उनका अनुसार अस्पतालमा चाँडै आईसीयु र सिटिस्क्यान सेवा सञ्चालन गर्ने तयारी गरिएको छ । यसका अतिरिक्त डायलासिस सेवा सञ्चालन गर्ने तयारी पनि अन्तिम चरणमा रहेको दासले जनाए । थाइराइड र मधुमेहको जाँच भने सुरु भइसकेको छ । ‘पछिल्लो समय एडभान्स मेसिनका साथै विशेषज्ञ चिकित्सकहरूको पदपूर्ति भएपछि बिरामीको चाप बढनुका साथै रेफर गर्ने क्रम पनि घटेको छ,’ मेसु डा. दासले भने ।


विसं २०१३ सालमा पृथ्वी वीर उपचार केन्द्रलाई सप्तरीको हनुमाननगरबाट राजविराज सारिएको थियो । २०२९ सालमा सो उपचार केन्द्रलाई सगरमाथा अञ्चल अस्पतालको नामकरण भई ५० शय्याको अस्पतालका रूपमा स्तरोन्ति भएको थियो । २०६१ साल भदौ २८ गते तात्कालीन श्री ५ को सरकार सचिव स्तरको निर्णयबाट आफ्नै स्रोत र साधनबाट सञ्चालन हुने गरी ५० शय्या थप गरिएको थियो । ४ बिघा १३ कठा ४ धुर जग्गामा फैलिएको अस्पताललाई २०६९ सालमा गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालका रूपमा परिणत गरिएको थियो । ‘अहिले १ सय २५ शय्या सञ्चालनमा छ,’ मेसु डा. दासले भने, ‘अहिले ओपिडीमा दैनिक २ सयदेखि २ सय ५० जना सम्म बिरामी आउँछन्, भर्ना हुने बिरामीको संख्या पनि हातै बढेको छ ।’ ‘आईसीयू सेवा सञ्चालन र सिटिस्क्यान सेवाका लागि केही समय लाग्ने भएकाले सो बाहेकका अन्य सेवाका बिरामीलाई रेफर गर्नुपर्ने अवस्था नरहेको उनले दाबी गरे ।


विशेषज्ञ चिकित्सकबाहेक मेडिकल अफिसरका लागि राजविराज नगरपालिका र अस्पताल विकास समितिले पनि सहयोग गरेको छ । नगरपालिकाले चारजना र विकास समितिले एकजना गरी पाँच जना मेडिकल अफिसर राखिएको छ । अस्पतालमा चापको आधारमा नर्सिङ स्टाफहरूको आवश्यकता महसुस भएकाले जिल्लाका अन्य स्थानीयतहरू सित समन्वय गरी सोको व्यवस्थापन मिलाउने कार्य भइरहेको मेसु डा. दासले बताए । गजेन्द्रनारायण सिंह अस्पतालको सुधारसँगै राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्य पनि अघि बढेको छ । सरकारी घोषणासँगै राजविराज नगरपालिकाले राजविराज १० मा उपलब्ध गराएको ६१ बिघा जग्गामा प्रतिष्ठान बनाउने लक्ष्यका साथ निर्माण पूर्वका कार्य सुरु भएको छ ।

प्रकाशित : भाद्र १५, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?