विदेश छाडेर राँगा व्यापार

प्रत्येक हाटबजारमा ३० लाख मूल्य बराबरका २ सयदेखि ५ सयसम्म राँगाको कारोबार हुन्छ ।
रवीन्द्र उप्रेती

(महोत्तरी) — कृषि क्षेत्रमा गोरुको उपयोगिता कम भएसँगै यसको कारोबार घटदै गएका बेला राँगा व्यापार भने तराई–मधेसमा उच्च भएको छ । राँगाको माग बढेपछि यसको व्यावसायिक कारोबार सिरहादेखि रौतहटसम्म विस्तार भएको छ ।

विदेश छाडेर राँगा व्यापार

चौपाया ठेकेदारका अनुसार हाट लागेको दिन महोत्तरीको गौशालाबाट ३० लाख रुपैयाँसम्मको राँगा कारोबार हुन्छ । राँगा व्यापारबाट मुनाफा पनि राम्रो हुन थालेपछि यसतर्फ अहिले युवा व्यवसायीको आकर्षण बढदो छ । राम्रो कमाई देखेर वैदेशिक रोजगारमा जाने सोच बनाएका दर्जनभन्दा बढी युवा यही व्यापारमा रमाएका छन् । ‘एउटा राँगाबाट १५ सयदेखि २ हजारसम्म फाइदा हुन्छ,’ गौशाला–९ भरतपुरका व्यापारी दीपक श्रेष्ठले भने, ‘गाउँघरमै काम र दाम पाइयो भने विदेश जाने कसलाई रहर हन्छ ?’


२५ वर्षीय श्रेष्ठ रोजगारिका लागि साउदीअरब गएका थिए । त्यहाँ ३ वर्ष बिताए । फर्किएपछि ४ जना साथी मिलेर राँगा व्यापार सुरु गरे । उनीहरूको ‘टिम’ पूर्व सिरहादेखि पश्चिम रौतहटसम्मका गाउँ पुगेर राँगा संकलन गर्छन् । महोत्तरीको गौशाला, सर्लाहीको बयलवास र धनुषाको सखुवाबजारको चौपाया हाटमा खरिद–बिक्री गर्छन् । बजार पुर्‍याएका राँगा पहाडतिरबाट झरेका व्यापारीले राम्रो मुनाफा दिएर खरिद गर्छन् । माग बढन थालेपछि महोत्तरीमा राँगा अपुग भएको छ । बिहीबारे हाटलाई लक्षित गरी श्रेष्ठले सिरहाको ग्रामीण भेगबाट १८ राँगा खरिद गरेका थिए । ‘खाडी मुलुकको कमाई यतै हुन थालेपछि अब विदेश जानुपर्ने आवश्यकता छैन,’ उनले भने ।


गौशालाको बिहीबारे हाटमा राँगा खरिद–बिक्री गर्ने बर्दिवास १२ विजलपुराका ३२ वर्षीय बारिक राइन पनि यसअघि मलेसिया गएका थिए । त्यहाँ ६ वर्ष गाडी चलाए । गतवर्ष घर फर्केपछि साथीभाइका कुरा सुनेर राँगा व्यापारमा हात हाले । त्यहाँदेखि उनले पछाडि फर्केर हेर्नु परेको छैन ।‘जहिलेदेखि यो व्यापारमा हातहालें त्यहाँ (मलेसिया) भन्दा राम्रो कमाई यही हुन थाल्यो,’ राइनले भने ।


गौशाला नगरपालिका ८ बेलगाछीका अर्का चौपाया व्यापारी ३५ वर्षे विनोद झाका अनुसार गौशालमा राँगा खरिद गर्न काठमाडौंतिरका व्यापारी आउँछन् । आफू आउन नसक्नेले यतैका कारोबारीलाई पारिश्रमिक दिएर राखेका छन् । काठमाडौंबाट फोन आए बमोजिम उनीहरूले यहाँबाट राँगाभैसी किनेर पठाउँछन् ।


गौशाला बजारका चौपाया ठेकेदार इजारुलका अनुसार गोरु कारोबारको मन्दीले सुनसान बनेको चौपाया बजारमा फस्टाउँदो राँगा व्यापारले रौनक फर्काएको छ । प्रत्येक हाटको दिन ३० लाख मूल्यबराबरका २ सयदेखि ५ सय राँगाभैंसी किनबेच हुन्छ । व्यापारीकाअनुसार फस्टाउँदो रागा व्यापारका कारण नै गौशालाको चौपाया बजार (खसीबाहेक) को ठेक्का पनि बढेको छ ।


गत आवमा ५४ लाखमा लागेको चौपाया बजारको ठेक्का बढाबढमा १७ लाखबाट बढेर चालु आव (०७६/७७) का लागि ७१ लाखमा सकार भएको छ । गौशाल बजारमा भने माईस्थान–गौशाला–समसी सडक कालोपत्रे भएपछि आवागमन सहज हुदा राँगा कारोबार बढेको कारोबारीको भनाइ छ ।

प्रकाशित : भाद्र १५, २०७६ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?