लहानमा फोहोर व्यवस्थापन केन्द्र विवाद : स्थानीयले गरे विरोध प्रदर्शन र तालाबन्दी

भरत जर्घामगर

सिरहा — ५ महिनादेखि फोहोर फाल्न नदिने अडान लिएका लहान नगरपालिका–४ का स्थानीयले नगरपालिकाले प्रहरीको आडमा महिलामाथि दुर्व्यवहार गरेको र फोहोर फालेको विरोधमा शनिबार विरोध प्रदर्शन गरेका छन् । 

लहानमा फोहोर व्यवस्थापन केन्द्र विवाद : स्थानीयले गरे विरोध प्रदर्शन र तालाबन्दी

वडा नम्बर ४ का बासिन्दाको अवरोधका कारण एक महिनादेखि सडकमा थुप्रिएको फोहोर फाल्न प्रहरीसहित नगरप्रमुख मुनि साह सुडिलगायत अन्य वडाका जनप्रतिनिधि शुक्रबार फोहरमैला व्यवस्थापन केन्द्र पुगेका थिए ।


स्थानीयले अदालतमा विचाराधीन रहेको मुद्दाको फैसला नहुन्जेल फोहोर नफाल्न भन्दै नाराबाजी गरी फोहोर बोकेका ट्रयाक्टर रोकेपछि झडप भएको थियो । झडपकै क्रममा नगरपालिकाले केन्द्रमा शुक्रबार फोहोर विसर्जन गरेको थियो ।


फोहोर विसर्जनका क्रममा झडप हुँदा वडा सदस्य उर्मिलादेवी दास, स्थानीय राधादेवी दास, रामकुमारी पासवान, राजाराम पण्डित लगायत घाइते भएको स्थानीयको दाबी छ ।


नगरपालिकाले अदालतको मानहानी गरेको र प्रहरी लगाएर दमन गरेको विरोध गर्दै ४ नम्बर वडावासीले शनिबार नगरप्रमुख साहको पुत्ला बनाएर नगरका विभिन्न भाग परिक्रमा गरि विरोध प्रदर्शन गरे ।


फोहरमैला व्यवस्थापन केन्द्रबाट शनिबार अपरान्ह निस्किएको जुलुसले नगर परिक्रमा गरी २ नम्बर रोडमा पुगेर कोणसभा गरेका थिए । कोणसभा भइरहँदा प्रहरीले पुत्ला खोसेर लगेका थिए । विरोध प्रदर्शन अघि स्थानीय फोहरमैला व्यवस्थापन केन्द्रको गेटमा शनिबार बिहान तालाबन्दी गरेका छन् ।


५ महिनादेखि अवरोध

नियमित फाल्दै आएको लहान–४ स्थित फोहोरमैला व्यवस्थापन केन्द्रमा फालेको फोहोरले दुर्गन्ध बढाएको भन्दै स्थानीयले ६ महिनादेखि अवरोध गर्दै आएका थिए ।


२०७१ सालमा लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारको ३५ विघा जग्गामध्ये १२ विघामा सर्वदलीय संयन्त्र र स्थानीयवासीको भेलाबाट फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गर्ने निर्णय गरेको थियो ।


फोहरमैलालाई वातावरणमैत्री तवरले दीर्घकालीन व्यवस्थापन गर्न नगरपालिकाले त्यतिखेर संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जगेडा कोषबाट ५२ लाख ५५ हजार लागतमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरेको थियो । तारबार घेरासहित केन्द्रमा आँप लगायत फलफूलको बिरुवा रोपेर बगैचा समेत बनाइएको थियो ।


त्यतिखेर फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको विरोध गर्दै स्थानीय रामप्रसाद महतो र रामप्रकाश पासमानले पुनरावेदन अदालत राजविराजमा रिट दायर गरेपछि अदालतले २०७१ जेठ २२ मा अन्तरिम आदेश जारी गरेको थियो । तर रिट निवेदक र नगरपालिकाबीच सहमति भएपछि २०७१ जेठ २९ गते महतो र पासमानले रिट फिर्ता लिएका थिए ।


लहान ४ स्थित फोहोरमैला व्यवस्थापन केन्द्रमा तालाबन्दी गर्दै स्थानीय । तस्बिर : भरत जर्घामगर/कान्तिपुर

केन्द्र निर्माण भएपछि ५ वर्षदेखि नगरपालिकाले बजार क्षेत्रको फोहर नियमित फोहरमैला व्यवस्थापन केन्द्रमा फाल्दै आएको थियो । फोहोरमैला व्यवस्थापन केन्द्रमा बजार क्षेत्रका वडा १, ३, ५,६,७, ८ र १० गरी ७ वटा वडाबाट संकलित फोहोर नियमित फाल्दै आएको थियो ।


नगर क्षेत्रबाट दैनिक ३० मेट्रिक टन फोहोर संकलन हुन्छ । त्यसका लागि नगरपालिकाले बजार क्षेत्रमा ४० र अन्य वडामा २४ गरी ६४ कर्मचारीलाई खटाएको छ । फोहोर संकलन, विसर्जन र सरसफाईमा नगरपालिकाले वार्षिक १ करोड खर्चन्छ ।


गत वैशाखदेखि ४ नम्बर वडावासीले दुर्गन्ध बढाएको भन्दै फोहरमैला व्यवस्थापन केन्द्रमा फोहोर फाल्न अवरोध गर्दै आएका छन् । त्यतिखेर वडावासीले फोहरमैला व्यवस्थापन केन्द्रको मूलगेटमा तालाबन्दी गरेपछि कर्मचारीले गेटमै फोहोर फालिदिएका थिए । स्थानीयले त्यतिखेर कुचोसहित नाराबाजी गर्दै नगरकार्यपालिका कार्यालय घेराउ गरेका थिए ।


फोहरमैला व्यवस्थापन केन्द्रको गेटमा फालिएको फोहरले मानव बस्तीमा दुर्गन्ध फैलिएको भन्दै स्थानीयले कुचोसहित नगरपालिका कार्यालय घेराउ गरेका थिए । स्थानीयले अवरोध गरेपछि नगरपालिकाले समस्या समाधानका लागि वैशाखको पहिलो साता बजार क्षेत्रका वडाध्यक्षहरु सम्मिलित ७ सदस्यीय समिति गठन गरेको थियो ।


फोहोर व्यवस्थापनका लागि हरेक प्रयास भए पनि कसैले विकल्प दिन सकेको छैन । फोहोर विसर्जनका लागि पटक–पटक भएको छलफलबाट विकल्प खोज्न समय दिँदै स्थानीयले त्यत्तिखेर एक पटकका लागि केन्द्रमा फोहोर फाल्न दिएका थिए ।

प्रकाशित : भाद्र १४, २०७६ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?