हतियारधारी समूहद्वारा लुटपाट

रवीन्द्र उप्रेती

महोत्तरी — मनरा सिसवा नगरपालिका ३ सुनौलमा हतियारधारी समूहले दुई परिवारको घरबाट लाखौंको धनमाल लुटेका छन् । डाँकाको आक्रमणबाट एक जना घाइते छन् । 

शनिबार मध्यरातमा ८/९ जनाको संख्यामा घरेलु हतियारसहित आएको समूहले परिवारलाई नियन्त्रणमा लिई आफूखसी लुटपाट गरेको पीडितले जनाएका छन् । डाँका समूहले सुरुमा रामलोचन राउतको घरमा प्रवेश गरी लुटपाट गरेका थिए । प्रतिकारमा उत्रेका घरमूली राउतमाथि समूहले बन्चोर प्रहार गर्दा उनको बायाँ खुट्टामा गहिरो घाउ लागेको छ ।

लगत्तै छिमेकी सियारामशरण राउतको घरमा प्रवेश गरी लुटपाट मच्चाएका थिए । घटनाबारे जानकारीपछि गाउलेहरु प्रतिकारमा उत्रेपछि डाँका समूह धनमाल लिएर भागेको प्रत्यक्षदर्शीले बताए । स्थानीय देवेन्द्र यादवकाअनुसार १५/२० मिनेटभित्रै समूह लुटपाट गरेर भागी सकेका थिए ।

२ लाख ५० हजार नगद , ६ तोला सुन र ६० तोला चाँदीका गहनालगायत १० लाख बढीको धनमाल लुटेको दुवै पीडितले जनाएका छन् ।

स्थानियकाअनुसार इटहरवाकट्टी र बलवास्थित चौकीबाट राति नै प्रहरी घटनास्थल पुग्दा डाँकाहरु भागिसकेका थिए । घटनाबारे विस्तृत बुझ्ने काम भइरहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

प्रकाशित : भाद्र १४, २०७६ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्

अनुभूति : बाको सिगरेट

सविता आचार्य

काठमाडौँ — प्रिय बा !हजुरले ल्याइदिएको जाली चप्पल उही दिन काटेर धुजाधुजा पारेँ । त्यस दिन मलाई र घरमै डेरामा बस्ने पुलिस अंकलकी मजत्रै सानी छोरीलाई एउटै रङका चप्पल ल्याइदिनुभएको थियो । तर त्यो मैले उही दिन छिनालेँ । हँसियाले काटेर धुजाधुजा पारेँ ।चप्पल मन नपरेर होइन बा ।

असाध्यै मन परेको थियो । तर मन परेर पनि काटेँ । कारण सम्झेर अझै पनि चकित पर्छु ।

बा ! चप्पलको रङ र आकारको धमिलो–धमिलो दृश्य आज यतिका वर्षपछि पनि आँखामा आउँछ झल्झली ।

त्यस दिन स्कुलबाट फर्कंदा मलाई रित्तो गोडामा देख्दाको हजुरको अनुहार आँखामा अझै पनि आउँछ । स्कुलबाट फर्केर ढोकाबाट अलक्कै पस्न थालेको थिएँ, खाली खुट्टै । हजुरले देख्नुहोला भनेर अलक्कै जान लाग्दा ट्याक्कै देख्नुभयो ।

‘चप्पल खै ? काँ हालिस् ? खाली खुट्टा किन हिँडेकी होस् ?’ जुन कुराको डर थियो हजुरले ठ्याक्कै त्यही सोध्नुभो ।

‘हरायो बुवा । चप्पल हरायो । हेडसरले बोलाएर उहाँको अपिसमा गथेँ, चप्पल बाहिरै खोलेर । फर्कंदा चप्पल थेनन् ।’ फ्याट्ट कथा हालेकी थिएँ । सम्झनुहुन्छ बा ? सम्झनुहुन्न होला है ?

मेरो जवाफपछि हजुरको आँखामा आक्रोश, माया, घृणा सबै एकनास आए । मलाई पिट्न मुठ्ठी उज्याउनुभएको थियो । आकाशमाथि गइसकेका हात खोइ किन हो आफैँ तल झरे । अनुहार शून्य भयो । अघि देखिएको रिस एकै पटक कता गयो गयो । फनक्क फर्कनुभो । दुई हात पछाडि लगेर सुइँसुइँ हिँड्नुभो, भुनभुनिँदै, ‘आइन्दा लाउलिस् चप्पल । अब खाली खुट्टा हिँड् ।’

घरछेउछाउका साथे चप्पल नलगाई नांगा खुट्टा हिन्थे । उनीहरू नांगा खुट्टा हिँड्दा मलाई पनि नांगै खुट्टा हिँड्न मन लाग्यो । रातो रङको त्यो पुतलीझैँ चप्पल लगाएर हिँड्न सकिनँ । बाटोमा पर्ने एउटी साथीको घरमा पसेर पिँढीमा भएको हँसियाले चप्पल धुजाधुजा पारेँ । सँगै गएकी एउटी साथीले भनकी थिई, ‘लुरी किन काटेकी होस् चप्पल ?’

‘तिमीहरू नांगा खुट्टा हिन्छौ मलाई चप्पल लाउन मन लागेन ।’ उनीहरू ट्वाँ परेका थिए । मलाई खोइ के भएको थियो त्यो बेला सम्झँदा अझै पनि जिल पर्छु बुवा ।

त्यसरी ढाँटे पनि आमालाई सही कुरा भनेकी थिएँ । आमाले हजुरलाई यो कुरा कहिल्यै भन्नुभएनछ । बरु उल्टै मलाई अर्को चप्पल किनेर ल्याइदिनुभएको थियो । हजुरले, ‘किन ल्याइस् यस्तो जतन गर्न नजान्नीलाई फेरि नयाँ चप्पल !’ भन्दा आमाले, ‘छोरीका गोडामा च्युरीढुंगा गढ्दैनन् ?’ भन्दै उत्तर फर्काउनुभएको थियो ।

प्रिय बा ! यतिका वर्षपछि तपाईंलाई बाको मुख हेर्ने दिन पारेर भन्न मन लाग्यो, त्यो दिन चप्पल हराएका थिएनन् है । हजुरको झैँ कमलो मनकी मलाई मेरा साथी नांगा खुट्टाले स्कुल जाँदा हजुरले ल्याइदिएको त्यो पुतली चप्पल धुजाधुजा पारेकी थिएँ । तर पर्सिनिकोर्सि आमाले अर्को चप्पल ल्याइदिएपछि फेरि त्यो पनि धुजाधुजा बनाउने आँट गर्न सकिनँ ।

प्रिय बा !

बाल्यकालका धमिलाधमिला सम्झना आज मनभरि आए ।

हजुरको सफा मन चुरोटले कालो बनाउँदै गरेको सम्झन्छु ।

बा ! हजुरको सफा मन चुरोटको ध्वाँसोले कालो बनाएको हजुरकी छोरीले मन पराएकी छैन है ।

प्रिय बा !

अस्ति भर्खर फोनमा तपाईंसँग जिस्कँदा जिस्कँदै, ‘गाउँमा मोज छ हैन त बा । मीठो मीठो खानुभाहोला’ भनिहालेँ । त्यति भनेर सक्दा नसक्दै तपाईंको आवाज मधुरो भएको थाहा पाएकी थिएँ । मन निचोरिएको पनि थियो होला, मधुरो आवाजमै बिस्तारै भन्नुभएको पनि थियो नि, ‘तिमीहरू घरमा नहुँदा जे खाए पनि के मीठो हुन्छ र नानी । तिमीहरू पो कता कता घुम्छौँ, मान्छे भेट्छौँ, दिनभरि काम गर्छौं र सबै कुरा बिर्सिन्छौँ, कहिलेकाहीँ हामीलाई नै बिर्सिन्छौ...’

बा ! हजुरलाई त कसरी बिर्सन सक्नु । गाउँबाट राजधानी ‘लखेटिएका’ हामीजस्ता छोराछोरी सबैको कथा एउटै हो । बा ! गाउँमा तपाईं र आमा वरपीपल उभिएको एक्लो चौपारी भएर बस्नुभएको छ जसले कोही बटुवा पर्खिरहेझैँ लाग्छ । हाम्रोजस्तै सबै गाउँको हालत एकैनासको भएको छ बा अचेल । तपाईंको आवाज मधुरो सुनेपछि मलाई एकदम न्यास्रो लाग्यो । फोन राखेपछि हजुरसँगका पुराना याद झल्झली आँखामा आउन थाले ।

बा ! त्यो बेला पुष या माघको महिना हुँदो हो ।

एकाबिहानै हजुर ठूलोठूलो स्वरमा हाच्छिउँ गर्दै उठ्नुभयो । तपाईंको हाच्छिउँले जिम्माल टोल मात्रै होइन दर्भान गाउँ नै थर्किन्छ भन्थे सप्पै साथीले । त्यति ठूलो स्वरमा हाच्छिउँ गर्दा म पनि ब्युझिएँकी थिएँ ।

घरको तल्लो तलाको बीच्चको कोठा । चुल्हो पनि बीच्चमै थियो । फलामको ओदान गाडेको । हजुर उठेर आफूलाई तताउन चुरोट सल्काउनुभयो । अनि हामीलाई न्यानो बनाउन चिसो चुल्होमा आगो फुक्न थाल्नुभयो । ससाना दाउराको टुक्रा र थोरै खरका त्यान्द्रा चुल्होमा हालेर सलाई स्वार्र पार्नुभयो । आगो स्वार्र बल्यो । म हजुरको छेउमा गएर टुस्स बसेँ । म एकाबिहानै ओछ्यान छोडेर हजुरको छेउ पुग्नुमा मेरो आफ्नै स्वार्थ थियो । अँगेनाछेउ आगोको न्यानोमा बस्न हैन ।

हजुरलाई ‘न्यानो बनाउने’ चुरोट ओठबाट स्वाट्ट थुतेर फाल्नु थियो मलाई । चुरोटले बिगार गर्छ भन्ने कुरा स्कुलमा हरि सरले पढाएपछि म हरेक कोसिसमा लागिपरेकी थिएँ ।

हरि सरले भन्नुभएको थियो, ‘चुरोट सुर्ती खाँदा क्यान्सर हुन्छ । मान्छे मर्छ ।’ यो सुन्नेबित्तिकै म थरर्र काँपेकी थिएँ कक्षामै, तपाईंलाई सम्झेर । अनि मनमनै प्रण गरेकी थिएँ जसरी पनि चुरोट छोडाउन पर्‍यो भनेर ।

त्यसकारण, आमा उठ्नुभन्दा पहिले, दाइ–दिदी उठ्नुभन्दा पहिले म हजुर उठेको थाहा पाउनेबित्तिकै चाल मारेर भर्‍याङबाट ओर्लेर हजुरको चियो गर्न थालेकी थिएँ ।

त्यो दिन पनि झिसमिसेमै हजुरसँगै उठेर चियो गर्न थालेँ ।

चुल्होमा परेका दाउरा पुत्ताइरहेका थिए । जाडोको आकाशझैँ घुर्मैलो सर्टको बायाँ गोजीबाट हातका दुई औँलाले चुरोट झिक्नुभयो र बडो कलात्मक तरिकाले दुईओठको बीचमा चुरोट राख्नुभयो । लाग्थ्यो ओठमा बस्न पाउँदा चुरोटलाई बडो आनन्द आएको छ । तर मलाईचाहिँ सकस हुन थालिसकेको थियो । किनभने, कानमा सर गुन्जन थालिसकेका थिए– ‘चुरोट सुर्ती खाँदा क्यान्सर हुन्छ । मान्छे मर्छ ।’

मेरा हातझैँ मसिना झिँजाको टुप्पोमा रहेको आगो मुखनजिकै लग्नुभयो, र टाउको हल्का अगाडि बढाउनुभो । चुरोटको धूवाँ मच्चिँदै फोक्सोमा पुग्यो । मक्किएको भित्तातिर फर्केर एक गुजुल्टो धूवाँ मुखबाट बाहिर फ्याँक्नुभो । अनि चुरोट भएको देब्रे हात इत्ति पछाडि राखेर फु–फु गर्न थाल्नुभयो । बा ! जुन कुराको लागि म आफ्नो निद्राको माया मारेर हजुरको पछि लागेकी थिएँ त्यही काम फत्ते गर्न अब मलाई सजिलो हुँदै थियो ।

उता आगो भर्रर बल्न थाल्यो । यता मैले दाउ भेटिसकेँ ।

हजुरको दाहीने हातको बूढी र चोर औँलाले च्यापेको, भर्खर एक सर्को मात्र तान्नुभएको चुरोट स्वाट्ट तानेर हजुर आफैँले फुकेर बालेको आगोमा सेकेन्ड पनि समय नलगाई स्वाट्ट तानेर हाल्दिएँ । चुरोट पनि त्यही आगोमा मिसियो ।

अब हजुरको अनुहार आगोझैँ रात्तियो । आफूले एकसर्को तानेको चुरोट त्यसरी आगोमा बलिरहँदा हजुरको अभिमानमा पक्कै ठेस पुग्यो । घरी आगोमा बल्दै गरेको चुरोटलाई घरी मलाई हेर्दै गर्नुभयो । मलाई लागेको थियो, हजुरले केही गर्नु हुन्न । तर अचानक, मैले यति कुरा सोच्दा नसोच्दै हजुरका दह्रा हात मेरा गालामा बर्सिहाले ।

म आफ्नो मिसनमा सफल त भएकी थिएँ । गालामा छाप बर्सेका थिए, दुखेको पनि थियो खुब । तर, म रमाएँ । किनभने, म आफ्नो उद्देश्यमा सफल भएकी थिएँ ।

फेरि गाला रन्काउनुहोला भन्ने लागेर जुरुक्क उठेँ र माथितिर उक्लिएँ, उक्लिँदा उक्लिँदै चिच्याएँ, ‘ठिक्क पर्‍यो बूढा । खुब खाम्ला भनेथ्यौ होला !’

बा !

त्यसको केही दिनसम्म हजुर मसँग बोल्नु भएन । हजुरसँग जम्काभेट हुँदा, त्यही बिहान सम्झेर मनमनै दोहोर्‍याउँथे ‘ठिक्क पर्‍यो बूढा !’

प्रिय बा !
हजुरको एउटा दर्शन थियो, केटाकेटीलाई पिटेरै तह लगाउनुपर्छ भन्ने । त्यसो हुदाँहुदै पनि सैयाँ दिदीले धेरै पिटाइ खाएको थाहा छैन मलाई । दिदी हजुरकी सीआईडी थिइन्, त्यसैले उनले खास पिटाइ खानुपरेन । सैयाँपछि हजुरको हातको सबैभन्दा थोरै पिटाइ खाने सायद म थिएँ । कान्छी छोरी, सबैकी लाड–प्यारमा हुर्किएकी । पिलिक्क रोइदिए पुग्यो । रोएर पनि भएन भने, आमाको धोतीको फेर समातेर अघिपछि गरे पुग्यो ।

त्यो दिन पनि मैले त्यही अपेक्षा गरेकी थिएँ ।

सम्झनुहुन्छ बा ? त्यो दिन बारी जोत्न मान्छे आएका थिए । बिहानै चिरिक्क हुने गरी घाम लागेको थियो । बारी जोत्न आएकाहरूलाई दिन आमाले अर्नी बनाउँदै हुनुहुन्थ्यो, रोटी तरकारी हो कि त !

अम्बाको बुटोमा चढेर खेलिरहेकी मलाई हजुरले बोलाउनुभयो, ‘काममा आएका मान्छेलाई पानी र अर्नी लइदे त नानी ।’

हजुरले मलाई पचासौँ पटक ‘लइदे त नानी’ भन्दा पनि मैले सुनिनँ । सुनेको नसुनेई गरेँ ।

खोइ किन हो काम अह्राएको पटक्कै मन परेन । म रूखमै खेलिरहेँ । बुवा म सम्झन्छु, मलाई मन नपरेको कुरा हजुरलाई पनि मन परेन ।

रूखको फेदमा आएर कराउनुभो, ‘तल झर्छेस् कि झर्दिनस् ?’

मुख बंग्याउँदै झरेँ ।

अचानक हजुर जोस्सिँदै आउनुभो । मेरो चुल्ठो ट्याप्प समातेर घिच्याउनुभयो । र, सान्सानो लौराले दुइटा खुट्टामा हिर्काउनुभयो । बा ! हजुरको रिसको पारो अलि धेरै नै चढ्थ्यो । त्यो दिन पनि जति चढ्नु पर्ने हो त्यति नै चढ्यो ।

अहिले सोच्छु, बा ! म त्यतिबेला हजुरले अह्राएको खुसी भएर गरेको भए हुन्थ्यो नि ।

अहिले सोच्छु, त्यसरी पिटाइ नखाएको भए सायद म जे छु त्यो बन्न सक्दिनँ थिएँ पनि ।

अर्नी बनाउँदै गरेकी आमा पाखुराले अनुहार पुछ्दै हजुरलाई तान्न आउनुभयो, ‘ए ! छोड्नुस् न के गर्नुभएको ।’

हजुर जोस्सिनुभयो, ‘तँ धेरै नकरा तैँले गर्दा हो यो यति जिद्दी भएकी !’

आमाले हजुरलाई तानिरहनुभयो, मैले पिटाइ खाइरहेँ हजुरको हातबाट ।

मैले गर्दा आमाले पनि बिनासित्ती गाली खानुभयो । आफ्नो दुखाइ त छँदै थियो, मेरो कारणले आमाले गाली खाएपछि मलाई त्यो घरमा बस्न मन लागेन । मलाई त एकाएक मर्न पो मन लाग्यो ! यस्तो घरमा बाँचेर के कामजस्तो लायो ।

‘म मोर्न जान्छु !’ चिच्याएँ ।

‘जा जा गैहाल् ! बाले काम अह्राउँदा मान्दिनस्, गै हाल् !’ हजुरले यसो भने पनि ‘बाले अह्राउँदा नाइँ भन्न हुन्न नि छोरी ! ज्ञानी पो बन्नुपर्छ’ भन्न खोज्नुभएको थियो, जुन म अहिले बुझ्दै छु बा । त्योबेला बुझ्न सकिनँ ।

आमाले मलाई फकाएर भित्र लैजान खोज्दै हुनुहुन्थ्यो । म आमाको हातबाट फुत्केर अर्को कोठामा गएर बसेँ । एकै छिनमा एक गिलास दूधमा घ्यू मिसाएर ल्याउनुभयो । मेरो दाहिने हात समाउँदै गिलास थमाउनुभयो, ‘नरो नानी । यो खा । बाले माया गरेर पिट्नुभएको हो ।’

‘पिटेर पनि माया हुन्छ त ?’ यस्तै केही भनेकी थिएँ । मलाई लागेको थियो, पिटाइ र माया कसरी सँगसँगै बस्न सक्छन् र !
आमाले थमाएको दूध खान त के हेर्न पनि मन लागेन मलाई । कर गरेपछि आमाको लाडप्यारले पग्लिएँ कि । आँसुका धारा बगाउँदै खाएँ ।

प्रिय बा ! त्यसपछि दिनभर हजुर खोइ कता जानुभयो कुन्नि ।

मचाहिँ साँझ पर्दासम्म पनि कोठाबाट बाहिर निस्किइनँ ।

झमक्क साँझमा कताबाट आउनुभो र म भएको आँटीछेउको कोठाको ढोकामा उभिएर हाँस्दै गिज्याउनुभो, ‘ए अझै पनि यही झोँक्राएर बस्नुभाछ मेडम् ?’

मलाई खुब घोच्यो त्यो वाक्यले । दिउसो बाले पिट्दा घर बस्न मन नलागेको सम्झिएँ र, मलाई घरमा बस्न मन लागेन । केही बेरमा लुसुक्क बाहिर निस्किएँ । लागेको थियो, ‘मर्न जान्छु यो बूढाको घरमा बस्दिनँ !’

मेरो मनजस्तै अँध्यारो जताततै थियो । आजभोलिजस्तो बिजुली–बत्ती भएको भए सायद बाटो पनि उज्यालो हुन्थ्यो होला । घर्‍याङमर्‍याङ घाँसैघाँसमा जताततैबाट हिँडेर घरभन्दा अलि तल पुगेँ ।

अब मलाई बिस्तारै डर लाग्न थाल्यो । कतै कोही मान्छेलाई देखिनँ । डरले मुटु नै बाहिर आउलाजस्तो भयो । ओहो ! म त अब एक पाइला पनि अगाडि बढाउन सकिनँ । मर्न हिँडेकी म अँध्यारोसँग डराएँ । अहिले सम्झँदा रमाइलो लाग्छ ।

मलाई लिन घरबाट कोही आउँछ कि भन्दै घरी–घरी घरतिर हेर्न थालेँ । तर अहँ कोही आएन । कसैलाई थाहा भए पो कोही आउँथ्यो र बचाउँथ्यो मलाई । मलाई यति डर लाग्यो कि पाइला सार्न नसकेर थचक्क भुइँमा बसेँ ।

बा ! त्योबेला हजुर टुप्लुक्क आइदिएर मलाई काँधमा बोकेर घर लगेको भा हुन्नथ्यो र ?

डरले इत्रिएर बसिरहँदा परबाट अँध्यारोमा एउटा आकृति आफूतिर आउँदै गरेको देखेँ । नीलीकाली भएँ । बस्दा पनि भुक्लुक्कै ढल्छुजस्तो लाग्यो । मर्न हिँडेको म आफ्नो ज्यानको मायाले हुरुक्कै भएँ । आकृति बिस्तारै–बिस्तारै मेरोनजिकै आयो । आकृति, आकृति मात्रै थिएन । साक्षात् भगवान पो थियो मलाई बचाउनआएको ! काका रैछन् । नजिकै आएर भने, ‘नानी यति राति किन यहाँ आएको? के भयो ? हिँड घर । म त्यतै जान लाको ।’

‘जान्नँ म, त्यो बूढाको घरमा पाइलो हाल्दिनँ ।’

‘के भयो र ?’

‘मलाई पिट्ने मान्छेको घरमा जान्नँ ।’

‘कहाँ जान्छेऊ त यति राति ?’

‘मोर्न जान लागेको ।’

‘त्यसो भन्न हुन्न । बुवाले पिट्नुभएको होइन, माया गर्नुभएको हो ।’ काकाले त्यसो भन्दा अचानक मलाई हजुरको माया लागेर आएको थियो बा त्यो बेला !

डरले ओठ थर्रथराइरहेका थिए । काकाले मलाई जुरुक्क काधँमा बोके, ‘ल, हिँड घर ।’

घर पुग्दा आमाको अनुहारको बत्ती निभेको थियो । तर हजुरको अनुहार हेर्न सकेकी थिइनँ बा । डर लागेको थियो, फेरि पिट्नुहोला भनेर । हजुरले थाहा नपाउने गरी लुकेर हेर्न मन लाग्यो । हेरेँ ।

अझै सम्झन्छु, बा ! त्योबेला हजुरको अनुहार त नीलो–कालो भएको थियो । म घर पुगेपछि अनुहार बिस्तारै उज्यालो भएको थियो जुन मप्रतिको स्नेह र प्रेमको दियोले बनाएको उज्यालो थियो बा ! अझ, अनुहारमा छटपटी र ग्लानि पनि प्रस्ट देखेकी थिएँ ।
त्यो देख्दा म सानी बच्चीले हजुरलाई घुर्काउन पाएकोमा आनन्द आयो । हजुर मेरो नजिक आएर मेरो अनुहार छुनुभयो, आँखा छल्काउनुभयो । पैताला छाम्नुभयो अनि भान्छातिर फर्केर भन्नुभयो, आमालाई, ‘मेथी पड्काएर तेल तताएर ल्या त, नानीको खुट्टा मालिस गर्दिन पर्‍यो । दुख्यो होला...’

यत्ति वाक्यले म पग्लिएँ । बेस्सरी रोएँ हजुरको काखमामुन्टो घुसारेर । हजुरलाई दिएको दुख्खले मनमनै पीडा भयो । बा हजुरले आफैँले लौराले हानेर दुखाएको ठाउँमा आफैँले तेल मालिस गर्दै हुनुहुन्थ्यो । अघिसम्मको मेरो वितृष्णा एकै झोक्कामा
हटेर गयो ।

तब न बा !

त्यस दिनपछि मैले अलि कम पिटाइ खान थालेँ । तर नि बा, हजुरले चुरोट खाँदाको घम्साघम्सी कायमै थियो ।

आजकाल, देखिने गरी चुरोट खानुहुन्न । बाहिर गएर खानुहुन्छ, घरभित्र आउँदा ह्वास्स गन्ध आउँछ चुरोटको ।

बा ! सुन्नुस् न ! बाको मुख हेर्ने दिन सन्तानले केही न केही दिनुपर्छ भन्छन् । तर, यसपालि हजुरसँग म केही माग्छु ।

बा – चुरोट खान छोडिदिनुस् न है... बिन्ती !

प्रकाशित : भाद्र १४, २०७६ ११:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्