कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

छोरा थुनामा, परिवारको बिचल्ली 

भूषण यादव

(वीरगन्ज) — सद्दाम अन्सारी अघिल्लो साता बुधबार वीरगन्जको घडिअर्वास्थित गार्मेन्ट उद्योगमा सिलाइकटाइको काम गरिरहेका थिए । उनको मोबाइल बज्यो । उठाउन नपाउँदै सादा पोसाकका प्रहरी आएर उनलाई नियन्त्रणमा लिए । त्यसपछि प्रहरीले उनलाई भाइ जौवादलाई फोन गरेर बोलाउन भने । जौवाद घरमै थिए । प्रहरीले उनलाई पनि पक्राउ गर्‍यो ।

साँझ अबेरसम्म छोराहरू नआएपछि आमा जलेखा खातुन वडाध्यक्ष दशरथ पटेलकहाँ गुहार माग्न पुगिन् । ‘बिहीबार पत्ता लाग्यो कि छोराहरूलाई प्रहरीले थुनेको छ,’ उनले भनिन्, ‘त्यस दिनदेखि दिनहुँ हन्डर खाइरहेका छौँ ।’


जिल्ला प्रहरी कार्यालय पर्साले भदौ ५ गते पत्रकार सम्मेलनमा सद्दाम, जौवाद र युनिस अन्सारीलाई गत साउन २४ र २८ गते बिर्ता र घण्टाघर नजिकै पटका पडकाई त्रास फैलाएको आरोपमा पक्राउ गरिएको जनाएको थियो । बिर्ता हाटबजारमा पटका पडकँदा भएको भागदौडमा दुई र घण्टाघर नजिकै एक जना घाइते भएका थिए । सद्दाम, जौवाद र युनिसलाई प्रहरीले वीरगन्ज–२५ चन्डाल चोकबाट नियन्त्रणमा लिइएको जनाएको छ । शरीर खनतलासी गर्दा ४ राउन्ड गोली, ३ थान सुतली बम बरामद गरेको प्रहरी दाबी छ । भीडभाडमा पटाका पडकाएर त्रास फैलाउने समूहको अनुसन्धानमा प्रहरीले विशेष टोली नै परिचालन गरेको थियो ।


सद्दाम र जौवादका जेठो दाइ फुलहसन वीरगन्ज कारागारबाट कर्तव्य ज्यान मुद्दामा सजाय काटी २०७४ असोज ९ गते छुटेका थिए । प्रहरीका अनुसार जेलबाट रिहा भएपछि उनले चौकीदार सेख भोलालाई फोन गरी १० लाख रुपैयाँ माग गरेका थिए । मागेको रकम नदिए सरुवासमेत गराइदिने धम्की दिएका थिए । पर्साका प्रजिअ नारायणप्रसाद भट्टराईलाई समेत धम्कीपूर्ण ‘एसएमएस’ पठाएका थिए ।


कारागारका चौकीदारले कैदीमाथि शोषण गरिरहेकाले बिर्ता र घण्टाघरमा विस्फोट आफूले गराएको फुलहसनले स्थानीय सञ्चार माध्यममा स्विकारेका थिए । प्रहरीका अनुसार फुलहसनले पटाका पडकाउन दुई भाइ र युनिसलाई प्रयोग गरेका थिए । तीनै जनामाथि हातहतियार तथा खरखजाना र विस्फोटक पदार्थसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान थालिएको प्रहरी प्रवक्ता अनन्तराम शर्माले बताए ।


सद्दामकी दिदी रोशनी खातुनका अनुसार दाइ फुलहसन जेलबाट छुटेको केही महिनापछि नै भारत बस्दै आएका थिए । बेला–बेला फोन गर्थे तर घरखर्च कहिल्यै नपठाएको उनले सुनाइन् । ‘मेरो र भाइको बिहेमा पनि आएन, घरमा कमाउने भनेकै सद्दाम थियो,’ उनले भनिन्, ‘दाइको गुनाहको सजाय भाइहरूले काटिरहेका छन्, फोनमा कुरा गरेकै भरमा प्रहरीले थुनेको छ । विस्फोटको मुद्दा किन लगाइयो ?’ सद्दाम ४ वर्ष मलेसियामा काम गरेर ६ महिनाअघि मात्र घर आएका थिए । उनले साउन ७ गते मात्र बिहे गरेका थिए ।


फेरि मलेसिया जान छिमेकीसँग एक लाख ऋण लिएको र भिसासमेत आइसकेको आमा जलेखाले बताइन् । ‘कमाउने छोरो नै एक सातादेखि थुनामा रहेकाले जीविकोपार्जनमा धेरै समस्या आएको छ, १० जनाको परिवार छ,’ आकाशतिर हेर्दै उनले भनिन्, ‘अल्लाहले केको सजाय दिइरहेका छन् ।’


भाइ निर्दोष रहेकाले छोडिदिन आग्रह गर्दा प्रहरीले दाइलाई ल्याए मात्र भाइहरूलाई छाडिदिने बताएको रोशनीको भनाइ छ । ‘भारतमा लुकेर बसेको दाइलाई म कसरी ल्याऊँ ?,’ उनले भनिन् ।

चुलो चलाउने एक मात्र छोरो थुनामा परेपछि खातुन परिवारलाई छिमेकीले सहयोग गरिरहेको वडा सदस्य मुमताज अन्सारीले बताए । ‘फुलहसन त भारतमै बस्छ, ऊ के गर्छ, हामीलाई थाहा भएन,’ उनले भने, ‘तर यिनीहरू त हाम्रो आँखाकै अगाडि थिए, प्रहरीको आरोपमाथि विश्वास लागेको छैन ।’ वडाध्यक्ष दशरथ पटेलले काम देखाउने बहानामा प्रहरीले निर्दोषलाई फसाएको दाबी गरे । ‘सद्दामलाई प्रहरीले गार्मेन्ट उद्योगमै गएर पक्राउ गर्‍यो, जौवादलाई सद्दाममार्फत घरबाट बोलाउन लगाएर नियन्त्रणमा लिएको हो,’ उनले प्रश्न गरे, ‘अनि उनीहरूसँग कसरी गोली र सुतली बरामद भयो ।’ प्रहरीमा भेट्न जाँदा उनीहरूले गोली र सुतली बम पनि प्रहरीले नै हालिदिएको बताएको उनको भनाइ छ ।


प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले विस्फोटको अनुसन्धान क्रममा प्राप्त प्रमाणका आधारमा तीनै जनालाई पक्राउ गरी मुद्दा चलाइएको बताए । ‘जनप्रतिनिधि हामीकहाँ आएका थिए,’ उनले भने, ‘प्रमाण फेला परेपछि मात्र नियन्त्रणमा लिएका हौँ, उनीहरूको के–के रोल थियो, पछि राख्नेछौँ ।’

प्रकाशित : भाद्र १४, २०७६ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?