कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

चिटिक्क कार्यालय, दुरुस्त सेवा

बिचौलियालाई दुरुत्साहन गर्दै सेवाग्राहीमुखी बनाउने अभियानमा प्रमुख जिल्ला अधिकारी सक्रिय
सन्तोष सिंह

(धनुषा) — धनुषाको जिल्ला प्रशासन कार्यालय परिसर कुनै स्टार होटलभन्दा कम सुन्दर देखिन्न । सबैतिर चिटिक्क । सेवाग्राही बस्ने छुट्टै कोठा । खानेपानीको प्रबन्ध । चिया आफैं पकाएर खाने सुविधा । असहाय–अपाङका लागि छुट्टै मैत्री कोठा ।

चिटिक्क कार्यालय, दुरुस्त सेवा

खाल्डो र घाँसैघाँसले कुरूप देखिने जनकपुरस्थित जिल्ला प्रशासन कार्यालय थोरै समयमा गुलजार बनेको छ । सेवाग्राही त पुग्ने भइनै हाले । कार्यालयको सुन्दरता हेर्न आउने पनि थपिएका छन् । कार्यालयको परिसर ब्लक राखेर चिकिक्क पारिएको छ । कार्यालयको भवन र पर्खाल केसरिया रंगले सिंगारिएको छ । दलाल र बिचौलियाहरूले भरिभराउ परिसर पछिल्लो समय सेवाग्राहीमैत्री बनाइएको छ ।


सेवाग्राहीका लागि निःशुल्क वाईफाई र महिला सेवाग्राहीले आफ्ना सन्तानलाई दूध खुवाउनका लागि स्तनपान कक्षको व्यवस्था गरिएको छ । जिल्ला हुलाक कार्यालयको एउटा टिकट काउन्टर नागरिक सहायता कक्षमै राखिएको छ । १० रूपैयाँको टिकट १५ रुपैयाँमा किन्नु पर्ने बाध्यता अहिले टरेको छ । अदालतको इजलासबाट माइकमा सेवाग्राहीलाई बोलाएजस्तै जिल्ला प्रशासन कार्यालयमा नागरिकता, सिफारिस र राहदानी बारे सम्बन्धित फाँटले सेवाग्राहीलाई माइकमै बोलाएर वितरण गर्छन् । नागरिकता वा राहदानीका लागि घण्टौं लाममा बस्नु पर्दैन । विद्युतीय टोकनबाट जिल्ला प्रशासनले सेवा आरम्भ गरेको छ ।


प्रतीक्षालयमा सेवाग्राहीका लागि सोफा र कुर्सी राखिएको छ । सेवाग्राहीमैत्री पूर्वाधारहरू पनि निर्माण गरिएको छ । फोहोरमुक्त जिल्ला प्रशासन नमुना कार्यालयका रूपमा स्थापित भएको छ । कार्यालयको सेवा चुस्त दुरुस्त, कार्यालयमा सुशासन कायम गर्न र झन्झट रहित सेवा प्रदान गर्न प्रमुख जिल्ला अधिकारी (प्रजिअ) प्रदीपराज कडेलले कार्यालयको गतिविधि सीसीटीभी क्यामराबाट आफैं निगरानी गर्छन् । कार्यकक्षबाटै माइकमा प्रजिअ कडेलले नागरिक वडापत्रबारे पटक–पटक सेवाग्राहीलाई जानकारी गराउँछन् ।

कार्यालय परिसर र फाँट अगाडि भिड हुना साथ सेवाग्राहीलाई मैथिली भाषामा स्वागत गर्दै टोकन लिएर प्रतीक्षालयमा बस्न प्रजिअले आग्रह गर्छन् । धनुषामा ५० औ प्रमुख जिल्ला अधिकारीका रूपमा गत कात्तिकमा कडेल आएपछि जिल्ला प्रशासनमा भौतिक संरचना र सेवामा सुधार भएको सेवाग्राही बताउँछन् ।


सिडिओ कणेलले सबैभन्दा पहिला कार्यालय परिसरमा फोहर नफ्याँक्न, पानीको बोतल डस्टबिनमा राख्न र कार्यालय बारेको गुनासो भए आफूसँग भेटन माइकबाट जानकारी गराउँछन् । कार्यालयको विभिन्न स्थानमा राखिएको स्पिकरमा प्रजिअसँगै फाँटका कर्मचारीले समय–समयमा सेवाग्राहीलाई सूचना दिइरहन्छन् । कमला नगरपालिका–४ का सेवाग्राही ब्रहमदेव साहले जिल्ला प्रशासन पछिल्लो केही महिनायता आमुल परिवर्तन भएको बताए । ‘पहिला विचौलियाहरूले यहाँका कर्मचारीलाई खल्तीमै राख्थे,’ साहले भने, ‘अहिले जिल्ला प्रशासन कार्यालयमा छैनन् । त्यसैले कहीं कतै अतिरिक्त रकम बुझाउनु पनि पर्दैन । काम गराउन सहज भएको छ ।’


जिल्ला प्रशासन कार्यालयको जिम्मेवारी सम्हाले बित्तिकै आफूले कर्मचारी तथा विचौलिया दुवैमाथि विशेष निगरानी बढाएको प्रजिअ बताउँछन् । कडेल धनुषा आएपछि नक्कली नागरिकता बनाउने विचौलिया र जिल्ला प्रशासनका कर्मचारीसहित ८ जनालाई पक्राउ गरेका थिए ।

प्रकाशित : भाद्र १४, २०७६ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?