कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२०३ मजदुर बर्खास्तपछि हडताल

उद्योगको उत्पादन ठप्प
शंकर आचार्य

पर्सा — मजदुरको हडतालका कारण पर्सा–बारा औद्योगिक करिडोरका २ उद्योगको उत्पादन रोकिएको छ । वीरगन्जस्थित एशियन डिष्टीलरी प्रालि र परवानीपुरस्थित ब्रिटानिया नेपाल प्रालिका मजदुरको हडतालका कारण ती उद्योगको उत्पादन बन्द छ । 

२०३ मजदुर बर्खास्तपछि हडताल

श्रम तथा रोजगार कार्यालय वीरगन्जका निमित्त प्रमुख सुन्दर श्रेष्ठका अनुसार, एशियन डिष्टीलरीका मजदुर साउन १ देखि उद्योगको मूल गेटमा धर्ना दिई बसेपछि उद्योगको उत्पादन ठप्प भएको छ ।


उद्योग व्यवस्थापनले आर्थिक संकटको कारण देखाउदै २ सय ३ मजदुर एकै साथ कटौती गरेपछि मजदुर आन्दोलित भएका हुन् । उद्योगमा कूल २ सय ५३ मजदुर कार्यरत रहेकोमा व्यवस्थापनले एकै साथ ठूलो संख्यामा मजदुर कटौती गरेको हो । कटौतीमा परेका २ सय ३ मध्ये १ सय ४९ जना उद्योग व्यवस्थापन बिरुद्ध मुद्दामा गएका छन् ।


विवाद समाधानको प्रयास जारी रहेपनि हाल सम्म निकास नभएको श्रेष्ठले बताए । ब्रिटानियाका मजदुर भदौ ८ देखि उद्योगको मूल गेटमा धर्ना दिएर बसेका छन् । श्रमिक आपूर्तर्कीर्ता मार्फत उद्योगमा कार्यरत मजदुरहरूले आफूहरूलाई उद्योग व्यवस्थाप मार्फत सोझै रोजगारी पाउनु पर्ने माग राख्दै हडताल गरेका हुन् ।


त्यहा पप्पु म्यानपावर सप्लायर मार्फत ५३, उज्जव म्यानपावर मार्फत २४ र विवेक म्यानपावर मार्फत ५५ गरी १ सय ३२ मजदुर कार्यरत रहेको श्रेष्ठले जानकारी दिए । हाल ९२ मजदुरले निवेदन दिई आफूहरूलाई प्रत्यक्ष रोजगारीको माग गरेको उनले बताए ।


उद्योग व्यवस्थापनले बिना दरबन्दी आवश्यक नभएको जनशक्ति आफूहरूले उद्योगमा भर्ना गर्न नमिल्ने अडान लिंदै आएको छ । समस्या समाधानका लागि बुधबार श्रम कार्यालयमै उद्योग व्यवस्थापन र मजदुर दुबै पक्षको वार्ता आफूले गराएपनि समस्या समाधान हुन नसकेको उनले बताए ।

प्रकाशित : भाद्र १३, २०७६ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?