२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

विद्यालयमा झडप

सर्लाही — दुई पक्षबीचको झडपका कारण तनावग्रस्त बनेको हरिपुर्वा नगरपालिकास्थित केश्वर गरिव जनता माध्यमिक विद्यालयमा अझै पनि तनाव कम भएको छैन । मंगलबार एक पक्षले विद्यालयमा तोडफोड गर्न खोजेपछि भइरहेको त्रैमासिक परीक्षा रोकिएको छ ।

सोमबार विद्यालय परिसरभित्र भएको अभिभावक भेलामा दुई पक्षबीच झडप भएको थियो । मंगलबार पुनः तनाव भएपछि विद्यालयको पहिलो त्रैमासिक परीक्षा रोकिएको हो ।


विद्यालयमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । गत शुक्रबार राति सिभिल इन्जिनियरिङ विषयका तीनजना शिक्षकको परीक्षा लिएर नतिजा समेत प्रकाशन गरिएपछि असन्तुष्ट समूह र प्रधानाध्यापक फेकु राय सहित विद्यालय व्यवस्थापन पक्षबीच मनमुटाव बढेको थियो ।


त्यस्तै सोमबार सुन्दरपुर मावि चक्रघट्टाबाट सरुवा भई आएका शिक्षक धनेश्वर साहलाई विद्यालयमा हााजिर गराउने विषयमा समेत अभिभावक भेलामा विवाद हुँदा झडप भएको थियो । भेलामा छलफल सुरु हुने बितिकै विवाद बढेको र कुटाकुट हुँदा दुईजना घाइते छन् ।


झडपमा परी हरिपूर्वा नगरपालिका–१ का ३० वर्षीय मनोज राय यादव, ५ नं. वडाका ३१ वर्षीय खगेन्द्रप्रसाद यादव गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । टाउकोमा चोट लागेका घाइते दुवैजनाको जनकपुरमा उपचार भइरहेको छ ।


अन्य विद्यालयबाट सरुवा भई आएका शिक्षक साहलाई विद्यालय व्यवस्थापन समितिले सहमति दिनुपर्ने एक पक्षको माग रहेको छ । भने प्रअ राय सहित व्यवस्थापन समिति साहको सहमति दिने पक्षमा नरहेका कारण विवाद बढेको थियो । जारी विवाद उत्कर्षमा पुगेपछि समितिले डाकेको भेला झडपमा परिणत भएको थियो ।


विद्यालयमा जारी विवादले राजनीतिक रूप लिएको छ । समाजवादी पार्टीका नेता कार्यकर्ता सरुवा भई आएका साहलाई सहमति नदिने पक्षमा उभिएका छन् । भने नेपाल कम्युनिस्ट पार्टी एवं राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ता सरुवा भई आएका शिक्षक साहको पक्षमा छन् । विद्यालयको विषयले राजनीतिक रुङ लिँदा झडप भएको र विद्यालयसँगै गाउँ नै अशान्त बनेको स्थानीयको भनाइ छ ।


हाल घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट समेत थप सुरक्षाकर्मी खटाइएको र अवस्था सामान्य बन्दै गएको प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले बताए । राजनीतिक किचलोका कारण पछिल्लो समय विद्यालयमा पठनपाठन प्रभावित बनेको भन्दै अभिभावकले चिन्ता ब्यक्त गरेका छन् ।

प्रकाशित : भाद्र १३, २०७६ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?