बढ्यो घर भाडा

कान्तिपुर संवाददाता

धनुषा — जनकपुरको सुन बजारमा संजिव साहले १७ वर्षदेखि गणपति ज्वेलर्स सञ्चालन गरिरहेका छन् । घर धनीलाई १ लाख धरौटी राखेर महिनाको ४१ हजार घर भाडा तिर्दै आएका साहसँग घरधनीले अचानक ५० हजार मासिक घरभाडा माग गरे । 

सडक बिस्तारको क्रममा घर भत्काउँदा पसल साँघुरिएको र घर भाडा बढाउँदा व्यपारबाट विस्थापित हुने चिन्ता थपिएको उनले बताए । घर भाडा बढाएकै कारण वर्षौंदेखिको पसल छोडेर साहले आफ्नै घरमा सारेका छन् ।

भारत विहारको सीतामढीका चन्द्रमोहन झा २८ वर्षदेखि जनकपुरको जनकचोकमा सीताराम भोजनालय सञ्चालन गर्दै आएका थिए । चार दशकदेखि जनकपुरमा होटल व्यवसायी गर्दै आएका उनको व्यवसाय पछिल्लो समय खस्किँदै गयो ।

घरधनीले एकाएक दोब्बरभन्दा बढी भाडा बढाएपछि उनी आजित भए होटल बन्द गर्ने निर्णयमा पुगे । करिब दुई वर्षअघि घरधनीले घरभाडा बढाइ प्रतिमहिना ५१ हजार रुपैयाँ लिँदै आएका थिए । पछिल्लो समय घरधनीले एकाएक १ लाख २० हजार रुपैयाँ तिर्न भनेपछि उनी चकित भए । घरभाडा नबढाउन पटक–पटक आग्रह गरे पनि घरधनीले मानेनन् ।

जनकपुर उपमहानगरपालिका–३ बस्ने राजेश पोदार दुई वर्षअघि जनकचोकमै सृष्टि चाय हाउस सञ्चालन गरे । पसल गल्लीमा रहेकाले घरधनीले तीनवटा स–साना सटरको ३६ हजार रुपैयाँ भाडा लिँदै आएका थिए । घरधनीसँग २ वर्षमा १० प्रतिशत भाडा बढाउने मौखिक सम्झौता भएको थियो । तर, एकाएक घरधनीले डेढवर्ष नपुग्दै ७० हजार भाडा दिनैपर्ने अडान लिएपछि उनी होटल बन्द गर्ने अवस्थामा पुगेका छन् ।

साना व्यवसाय, चिया पसल, पान पसल, घर भाडा तिर्न नसक्दा व्यवसाय छोडेर बेरोजगार बनेका छन् । जनकपुर प्रदेश २ को अस्थायी राजधानी बनेपछि यहाँको घर भाडा दोब्बर भएको छ । घर भाडा बढ्दा व्यवसायी मारमा परेका छन् । यहाँका अधिकांश घरधनीले व्यवसायीसँग कागजी सम्झौता गदैनन् । तर, उनीहरूले मनपरी भाडा बढाउँछन् ।

घरभाडाको मारमा परे पनि बोल्न आँट गर्ने व्यवसायी न्यून छन् । केही व्यवसायीले मात्र मनपरी भाडाविरुद्ध खुलेर बोल्ने गरेका छन् । घरधनीले व्यवसायीसँग लिखित सम्झौता नगरेकाले व्यवसायी मारमा परेको धनुषा चेम्बर अफ कमर्सका उपाध्यक्ष सरोज मिश्रले बताए । स्थानीय सरकार र प्रशासनले बजार संरक्षण ऐन कार्यान्वयन गराउन नसक्दा व्यवसायी मारमा परेको उनले बताए ।

घरधनीले मनपरी भाडा बढाएको गुनासो आएको जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साहले बताए । घरधनीको मनोमानी भाडाले यहाँका रैथाने व्यवसायी विस्थापित भई नयाँ व्यवसायी आउन थालेका जनकपुरका बुद्धिजीवी सुरेन्द्र लाभ बताउँछन् । उपमहानगरपालिकामा घरधनीले वहाल करसमेत कम तिर्ने गरेकाले यसका लागि स्थानीय सरकारले तुरन्त कदम चाल्नुपर्ने उनको सुझाव छ ।

जनकपुर उपमहानगरले अचाक्कली बढेको घर भाडा सम्बन्धमा पहल गर्न नसक्दा व्यवसायीमाथि अन्याय भएको निजी विद्यालय सञ्चालक प्रमोद सिंह बताउँछन् ।

प्रकाशित : भाद्र १३, २०७६ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्

३ दशकमा पनि बनेन पुल

अगन्धर तिवारी

पर्वत — सिमखेतबासीले मल्याङीखोलामा झोलुंगे पुल माग्न थालेको ३ दशकभन्दा बढी भइसक्यो । कुश्मा नगरपालिका–१० पिपलटारी र फलेबास नगरपालिका–३ शंकरपोखरीलाई जोड्न् पुल नहुँदा स्थानीय काठ तेर्स्याएर वारपार गरिरहेका छन् ।

सार्वजनिक मञ्च, तत्कालीन जिविस, सम्बन्धित सरकारका विभाग र मन्त्रालयसहित पुग्नुपर्ने ठाउँमा धेरै पटक आवाज पुर्‍याए । तर, कतैबाट सुनुवाई भएन ।

खोला हिउँदमा सुख्खा हुन्छ । वर्षाका ५ महिना भेल उर्लिन्छ । पीपलटारी र शंकरपोखरीबासीको वारपार नङमासुको साइनो छ । खोलाकिनारमा दुवै तर्फका बासिन्दाको खेतबारी छ । वर्षाकै समयमा धानकोदो रोप्न र घाँसदाउरा गर्न वारपार गर्नुपर्छ । त्यति मात्रै होइन, शंकरपोखरीतर्फको जनसहयोगी माविमा अध्ययन गर्ने विद्यार्थी पीपलटारीतर्फका विद्यार्थी धेरै छन् । कक्षा ११ र १२ पढ्न शंकरपोखरीतर्फका विद्यार्थी पीपलटारीको पूर्णेश्वर मावि पुग्न पनि यही बाटो प्रयोग गर्नुपर्छ ।

सिमखेतबासीको दैनिकी मल्याङीखोला पार नगरी चल्दैन । तर, खोलामा पुल नहुँदा पुस्तौंदेखि काठ तेर्स्याएर बनेको जोखिमपूर्ण साँघुबाट वारपार गर्नुको विकल्प छैन । ‘यहाँ पुलको माग गर्दागर्दै हाम्रा पुस्ताले जीवन बिताए,’ अगुवा मनरुपा सुवेदीले भनिन्, ‘अब ढिला भइसक्यो । दुवैतर्फ सडक जोडिएको छ । मोटरेबल पुल बनाउनुपर्छ ।’ मोटरेबल पुल भए हालसम्मको कष्ट बिर्सिने उनले बताइन् ।

दुई वडालाई सुविधा हुने गरी पुल माग्दामाग्दै थाकिसकेको स्थानीय बताउँछन् । ‘बागलुङको अञ्चलाधीश कार्यालयमा समेत पुलमाग्दै बुवाहरू पुग्नुभएको थियो,’ स्थानीय रतन गिरीले भने, ‘अहिलेसम्म पाइनएन । हामीलाई पानीजहाज र रेल चाहिँदैन । पुल भए पुग्छ ।’

२०५० सालसम्म सिसाठाँटी धौलागिरिकै चर्चित ठाउँ हो । सिद्धार्थ राजमार्ग नबन्दै स्याङ्जा र बुटवल नुन बोक्न जाने बटुवा बास बस्थे । फलेबास–३ का वडाध्यक्ष अर्जुनबहादुर कार्कीले भने, ‘उतिबेला यहाँका छाप्रामा व्यवसाय चलाउने अहिले पोखरा र काठमाडौंमा सफल व्यवसायी छन् ।’ सिसाठाँटीमा ०५० सालसम्म सय भन्दा बढी होटल भएको उनले सम्झिए । पोखरा बागलुङ राजमार्ग खुलेसँगै सिसाठाँटीको महत्त्वघटदै गयो । स्थानीयले पुरानो अवस्थामा फर्काउने गरी गणेश मन्दिरको जीर्णोद्धार गरेका छन् ।

मन्दिरका संरक्षक महेन्द्रबहादुर कार्कीका अनुसार अरु संरचना स्थानीयले निर्माण गरेको भए पनि खोलामा पुल नहुँदा दुवै गाउँका बासिन्दा निकै सास्ती भोग्न बाध्य छन् । ‘यहाँको रौनक हुनेबेला पनि पुलको माग नभएको होइन,’ कार्कीले भने, ‘०३६ सालमा ज्ञादीको कुलो उद्घाटनमा राजा आउँदा पुल मागेका थियौं । राजाले लठ्ठा बोक्नसके पुल बनाइदिने बोल्नुभएको थियो । लठ्ठा बोक्न आँट्नेकोही भएन ।’

खोलामा पुल नहुँदा वर्षामा निकै त्रास हुनेगरेको स्थानीय सारदा अधिकारीले बताइन् । ‘केटाकेटी, बुढाबुढी बढी जोखिममा छन्,’ उनले भनिन्, ‘हरेक दिन कतिबेला के हुने भन्ने त्रास हुन्छ ।’ वर्षाको समस्या टार्न बर्सेनि रूख काटेर साँघु बनाउँछन् । वर्षा सुरु हुनुअघि बनाएको साँघुले अर्को वर्ष काम गर्दैन । साँघुमा तर्न जोखिम हुन्छ ।

मंगलबार स्थानीय सिमखेत युवा क्लबले आयोजना गरेको तीज मेलामा पुगेका फलेबास नगरपालिकाका प्रमुख र कुश्मा नगरपालिकाकी उपप्रमुखले पुलको आवश्यकता महसुस गरेको बताए । ‘पुलको आवश्यकता राम्रोसँग महसुस भएको छ,’ फलेबासका प्रमुख पदमपाणि शर्माले भने, ‘दुइतर्फी सडक भएकाले अब पक्की पुल आवश्यक छ । पहल गर्छु ।’

कुश्माकी उपप्रमुख सीता काफ्ले लामिछानेले पक्की पुल भए कुश्मा र फलेबासबीचको सम्बन्ध नजिक हुने बताइन् । ‘पुलले दुई गाउँबीचमा मात्रै होइन । दुई नगरको विकास समेत हुन्छ,’ उनले भनिन् ।

प्रकाशित : भाद्र १३, २०७६ १०:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्