भाइरल ज्वरोका बिरामी बढे

कान्तिपुर संवाददाता

महोत्तरी — मौसम परिवर्तनसँगै महोत्तरीमा भाइरल ज्वरोको बिरामी बढेका छन् । भाइरलबाट जिल्लाका १५ वटै स्थानीय तह प्रभावित भएको जिल्ला स्वास्थ कार्यालयले जनाएको छ ।

अस्पताल, प्राथमिक स्वास्थ केन्द्र, स्वास्थ चौकी, निजी क्लिनिकमा ज्वरोका बिरामी उपचार गराउन भरिभराउ छन् ।

घाँटी खसखस गर्ने, नाकबाट पानी बग्ने, टाउको दुख्ने, मांसपेशीमा पीडा हुने, वाकवाकी लाग्ने, खान मन नलाग्ने, सयदेखि १०३ डिग्रिसम्म ज्वरो आउनेजस्ता लक्षणले बच्चादेखि वृद्धासम्म प्रभावित छन् । स्वास्थकर्मीकाअनुसार यस्ता लक्षण लिएर आउने बिरामीको चापले अस्पतालको बहिरंग कक्ष भरिभराउ छ ।

भाइरल ज्वरोका दैनिक २ सयभन्दा बढी बिरामी स्वास्थ संस्थामा आउने गरेको जिल्ला स्वास्थ कार्यालयले जनाएको छ । भाइरल ज्वरोको प्रकोप शिक्षणसंस्था पनि देखिएको छ । ज्वरोले विद्यार्थीको उपस्थिति पातलिँदै गएको स्थानीय विद्यालयका प्रध्यानाध्यापकले जनाएका छन् । यो सर्ने भएकाले रोग लक्ष्ण देखिएका विद्यार्थीलाई घर फर्काउने गरिएको शिक्षकले जनाए ।

घरघरै बिरामी बढन थालेपछि विद्यालयमा नाम मात्रका विद्यार्थी उपस्थित हुने गरेको उनीहरूले जनाए । जिल्लाको मजदुरबस्तीमा समेत प्रकोप बढेकाले धान गोडने र हिउँदे तरकारी लगाउने बेला मजदुर अभाव भएको कृषकले जनाएका छन् ।

कैदीमा पनि भाइरल
भाइरल प्रकोपले ५० प्रतिशत कैदी प्रभावित भएको जलेश्वर कारागारले जनाएको छ । जेलर कन्हैया मिश्रकाअनुसार १ सय ३० कैदी क्षमता रहेको जलेश्वर कारागारमा पुरुष ४ सय ५६, महिला ४५ र आश्रित ४ गरी ५ सय ५ जना कैदी छन् । तीमध्ये आधाबढी रुघाखोकी र ज्वरोले ग्रस्त छन् ।

स्थान अभावले कोचिएर बस्नु पर्दा भाइरल संक्रमणबाट पीडित कैदीको संख्या बढदै गएको हो । औषधिको अभाव उपचारमा समस्या बनेको उनले जनाए । ‘तत्कालै सघन उपचारको व्यवस्था नमिलाए सबै कैदी बिरामी पर्ने सम्भावना बढेको छ,’ जेलर मिश्रले भने, ‘बन्दीगृहमा स्वास्थ्य शिविर सञ्चालन गर्न जिल्ला स्वास्थ कार्यालय र नगरपालिकासँग समन्वय गर्दैछु ।’

प्रकाशित : भाद्र १२, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्

जीर्ण फलामे पुलको संरक्षण हुने

प्रताप रानामगर

दमौली — तनहुँको भिमादस्थित सेतीनदी माथि जीर्ण अवस्थाको फलामे झोलुङ्गे पुलको संरक्षण हुने भएको छ । करीव ३ सय वर्ष पहिले ढोरफिर्दीको मिनाम खानीबाट फलामको धाउ निकालेर पुल बनाइएको थियो ।

पछिल्लो समय जीर्ण बन्दै गएपछि संरक्षण गर्न लागिएको भिमाद नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिं थापाले बताए ।

‘पुल जीर्ण बर्न्दै गएको छ,’ उनले भने, ‘अध्ययन केन्द्र र पर्यटकीय दृष्टिकोणले पुलको संरक्षण गर्न लागिएको हो ।’ पुरातात्विक र ऐतिहासिक पुल भीमादको गहनासमेत भएकाले संरक्षण गर्न आवश्यक रहेका उनले बताए । पुलको दायाँबायाँ रहेको फलामको साङ्गलोको लठ्ठा राम्रै छ । तर, पुलमा बिच्छाएको काठको फ्ल्याक कुहिएर झरेको छ ।

पुलबाट आवतजावतका लागि भन्दा पनि पुरातात्विक सम्पदा एउटा गहनालाई सम्पत्तीका लागि संरक्षण गर्न लागएिको उनले बताए । पुल संरक्षणका लागि विस्तृत अध्ययनका लागि गतवर्ष नगरपालिकाले बजेटको व्यवस्था गरेको थियो । पुलको डिपिआर, स्वागत गेट, मन्दिर परिसरको संरक्षणका लागि अघिल्लो बर्ष ६० लाख रुपैयाँ बजेट विनयोजन गरेको उनले बताए । ‘यस वर्ष प्रदेश सरकारले ११ लाख रुपैयाँ विनियोजन गरेको छ,’ उनले भने, ‘बजेट पुगेन भने नगरपालिकाले थप्नेछ ।’

जीर्ण पुलको संरक्षण गर्न दशकदेखि स्थानीयले माग गर्दै आएका थिए । पुल संरक्षणको प्रक्रिया थालिएकोमा खुसी लागेको स्थानीय हरि थापाले बताए । ‘लामो समयसम्म पुल संरक्षणका लागि आवाज उठाएका थियौं,’ उनले भने, ‘अब हाम्रो माग पूरा होला जस्तो छ ।’ भिमाद घुम्न आउनेले गाडी रोकेर पुल हेर्ने र फोटो खिचेर जाने गरेको उनले बताए । स्थानीय ठाउँको खानीबाट फलामबाट पुल निर्माण गरेकाले बाहिरबाट आउने मानिसले सोधपुछ गर्छन । संरक्षण गरी पुलको इतिहास तथा दस्ताबेज राख्न सके पर्यटकलाई जानकारीका लागि सहज हुने थियो ।

तत्कालीन राजा सुरेन्द्रविरविक्रम शाह र प्रधानमन्त्री श्री ३ जंगबहादुर राणाका पालामा पुल बनेको थियो । राजा सुरेन्द्रविक्रमले गुठी स्थापना गर्नका लागि लालमोहर लगाएको शिलापत्रमा छ । श्रीकृष्ण शाही र ढुण्डीराज शाहीले ७ सय रोपनी क्षेत्रफलमा गुठी दर्ता गराएका थिए । त्यही गुठीबाट उनले झोलुङ्गे पुल निर्माण गरेको तथ्य छ ।

शिलापत्र अनुसार उत्खनन गरेका काँचो फलामलाई कुँदेर पुलको निर्माण गरिएको हो । पुलमा जडान गरिएका सम्पूर्ण धातुहरू कुनै मेसिन र कलकारखानाबाट उत्पादित बस्तु नभई हातको सीप प्रयोग गरिएको देखिन्छ । वि.स २०२२ सालमा आएर गुठी सम्हाल्ने जुक्तराज शाहीले पुल फराकिलो बनाउन लगाए ।

प्रकाशित : भाद्र १२, २०७६ १०:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्