२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

दुहुना गाई–भैंसीको तस्करी

शंकर आचार्य

पर्सा — सशस्त्र प्रहरीले शनिबार वीरगन्जस्थित छपकैंया नाकाबाट बरामद गरेको बाच्छाबाच्छीसहितको २ वटा दुहुना जर्सी गाई सोमबार वीरगन्ज भन्सार कार्यालयले लिलाम गरेको छ । चारवटै चौपायाको न्यूनतम ८२ हजार रुपैयाँ मूल्यांकन गरी लिलाम गरिएको हो । 

साउनयता सोमबारसम्म गरी जिल्लाको विभिन्न नाकाबाट बरामद भएका ९ गाई र बाच्छाबाच्छी लिलाम भएका छन् । यीबाहेक आधा दर्जन गोरु, ४ खसी र ५० भैंसी, राँगो, पाडापाडी बरामदपछि लिलाम गरिएको छ । गत आवको वैशाखदेखि असार मसान्तको अवधिमा १ सय २२ भैंसी, राँगो, पाडापाडी, २२ गोरु र ४ खसी बरामद गरी लिलाम गरिएको थियो ।


सशस्त्र प्रहरी राजस्व भन्सार गस्ती वीरगन्जका प्रमुख डीएसपी अमरबहादुर खत्रीले साउनयता दुहुनो गाई र भैंसी भित्रिने क्रम बढेको बताए । नियमविपरीत भित्रिने कुनै पनि खाले चौपायाको हकमा कडाइ गरिएको उनले बताए । पशु क्वारेन्टाइन कार्यालय वीरगन्जका अधिकृत अरुणकुमार सिन्हाले पशु क्वारेन्टाइन महाशाखाको फागुन २६ को पत्रको आधारमा नाकाबाट राँगा, भैंसी तथा माछाको आयातमा समेत स्वास्थ्य/उत्पत्ति आदिको भारतीय क्वारेन्टाइनको सिफारिस अनिवार्य गरिएको बताए ।


उक्त पत्रमा पशु स्वास्थ्य सेवा ऐन २०५५ र त्यसको नियमावली २०५६ मा भएका प्रावधान भएअनुसारको चौपाया तथा माछा आयात गर्ने मुलुकका क्वारेन्टाइनबाट तिनको स्वास्थ्य तथा उत्पत्तिको सिफारिस अनिवार्य रूपमा हुनुपर्ने व्यवस्था गरिएको छ । भारतको कोलकाता, दिल्ली, मुम्बई, चेन्नई, हैदराबाद र बेंग्लोर गरी आधा दर्जन स्थानमा यस्ता क्वारेन्टाइन कार्यालय छन् । यी कार्यालय दूरीमा पर्ने भएकाले चौपाया कारोबारीले सिफारिसपत्र ल्याउन अटेर गर्ने गरेका छन् ।


विगतमा भारतबाट आयात गरिने राँगा, भैंसी, खसी, बाख्रा, माछाको सिफारिस अनिवार्य थिएन । त्यसो हुँदा ठूला परिमाणमा माछा तथा मासुका स्रोत मानिने चौपाया भित्रिने गर्दा स्वदेशी माछा र मासुले भारतीयसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले सिफारिस अनिवार्य गरिएको हो । पशु क्वारेन्टाइन कार्यालयको सिफारिसबिना अन्य निकायको सिफारिस अमान्य हुने भएकाले यस्ता अवैधानिक सिफारिस देखाएर चौपाया भित्र्याउन खोज्नेको चौपायासमेत बरामद गरेर लिलाम प्रक्रियामा लग्ने गरिएको छ ।


कतिपय कारोबारीले पशु क्वारेन्टाइन महाशाखाको सूचनाको अवज्ञा गरी जबर्जस्ती यस्ता चौपाया भित्र्याउन खोज्ने, नाकाका सम्बन्धित वडाका जनपप्रतिनिधिको सिफारिस देखाएर जबर्जस्ती भित्र्याउने प्रयासमा छन् । नयाँ नियम आउनुअघि पर्सा, बारा र रौतहटका गरी तीनवटा जिल्लाका विभिन्न नाका हुँदै मासिक २ हजार ५ सयदेखि ३ हजार वटासम्म चौपाया भारतबाट नेपाल भित्रिने गरेको थियो । पर्सा तथा बाराका नाकाबाट भित्रिने थारो भैंसी तथा राँगा जितपुर तथा परवानीपुर भैंसी बजारमा बिक्री भएर राजधानी पुग्ने गर्छन् ।


राजधानीमा राँगा, भैंसीको मासुको अत्यधिक माग रहेको र यी दुई बजारले त्यहाँको मागको ठूलो हिस्सा धानेको छ ।

प्रकाशित : भाद्र ११, २०७६ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?