कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

भारतीय अनुदानको भवन अलपत्र

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको दक्षिण–पश्चिम क्षेत्रस्थित बलरा नगरपालिका ११, छतौनाको सुधा राजेश्वर माध्यमिक विद्यालय भवन ५ वर्षदेखि अलपत्र छ । भारतीय अनुदानमा बन्न थालेको भवन पछिल्लो दुई वर्षयता ठेकेदारले भुक्तानी नपाएको भन्दै काम अलपत्र छोडिदिएका हुन् ।

भारतीय अनुदानको भवन अलपत्र

भवन पूरा नहुँदा विद्यालयमा कक्षा कोठाको अभाव छ । यसबाट पढाइलाई नै प्रभावित भएको छ । भारतीय सरकारको सहयोग पाउने भएपछि पुरानो भवन भत्काएर नयाँ बनाउन थालिएको थियो । पुरानो भवनमा पढ्दै आएका बालविकास कक्षा १ र २ का विद्यार्थीलाई अर्को भवनमा सञ्चालित कक्षा ३ संगै पढाउने गरिएको छ ।


यसरी ४ वटा कक्षाका विद्यार्थीलाई एउटै कक्षा कोठामा राखेर पढाउँदा पठनपाठनमा समस्या भइरहेको छ । चारवटा कक्षाका विद्यार्थी एकै कोठामा बसेर पढा कोचिएर बस्नुपरेको विद्यार्थीको गुनासो छ ।


बालविकास र कक्षा १ का विद्यार्थी पढाइ भइरहेको समयमा कहिले रुने र कहिले खेल्ने गरेका कारण आफूहरूको पनि पढाइ प्रभावित भएको कक्षा ३ मा अध्ययनरत धिरु सिंहले बताए । ‘विद्यालयमा कक्षाकोठा अभाव छ । चारवटा कक्षाका विद्यार्थी एकै कोठामा कोचिएर बस्नुपरेको छ,’ उनले भने, ‘साना विद्यार्थीका कारण हाम्रो पढाइ चौपट भइरहेको छ ।’ हाल विद्यालयले कार्यालयसहितको नौवटा कक्षाकोठा रहेको पुरानो भवन प्रयोग गरिरहेको छ ।


कविलासी नगरपालिका २ पिपरियास्थित बालगोबिन्द जनता माध्यमिक विद्यालयको पनि अवस्था उस्तै छ । यहाँ पनि भारतकै सहयोगमा भवन निर्माणका लागि पाँच वर्षअघि नै शिलान्यास भएको थियो । तर भवनको जग मात्र ठडिएको छ । ठेकेदार कम्पनीले जग बनाएर काम छोडेको विद्यालयले जनाएको छ ।


यहाँ कक्षाकोठा अभाव नभए पनि जीर्ण भवनमा पढाइ भइरहेको छ । जीर्ण भवनमा वर्षाको बेला पानी चुहिने समस्या र गर्मीका बेला सर्प निक्लिने समस्याका कारण विद्यार्थी र शिक्षक दुवै हैरान छन् । ‘भारतीय राजदूतले पाँच वर्षअघि नै भवन बनाउने भनेर शिलान्यास गरे, तर ठेकेदारले अहिले भवनको जग मात्र खडा गरेको छ,’ विद्यालयका शिक्षक लक्ष्मीकान्त चौधरीले भने, ‘भवन नहुँदा जीर्ण भवनमै पढाइ सञ्चालनमा छ, तर बेलाबेला कक्षाकोठामा समस्या बेहोर्नुपरेको छ ।’


भारतीय सरकारको सहयोगमा जिल्लामा निर्माणाधीन दुईवटा विद्यालय भवन मात्र हैन २० सामुदायिक भवनको निर्माण कार्य पनि दुई वर्षयता रोकिएको छ । साविकको जिल्ला विकास समिति मार्फत निर्माण सुरु गरिएको भवन केही समय स्थानीय तह मार्फत बनाउने कि जिल्ला समन्वय समिति मार्फत बनाउने भन्ने विषय नटुंगिँदा भवन निर्माण कार्य अलपत्र परेको हो । यी दुई विद्यालय भवनसहित २० वटै सामुदायिक भवनको निर्माण कार्य दुई वर्षदेखि अघि बढ्नै सकेको छैन ।


सम्पन्न गरेको कामको भुक्तानी नपाएको भन्दै विद्यालय भवन र सामुदायिक भवन निर्माणको जिम्मा पाएका ठेकेदारले काम अघि बढाएका छैनन् । लामो समयदेखि निर्माण कार्य रोकिँदा बनिसकेका संरचनासमेत जीर्ण बन्न थालेका स्थानीयको भनाइ छ । कतिपय ठाउँमा निर्माण सामग्रीसमेत चोरी भएका छन् ।


१८ महिनाभित्र २६ कोठे विद्यालय भवन निर्माण पूरा गर्ने गरी २०७१ साल कात्तिक १६ मा तत्कालीन भारतीय राजदूत रणजीत रायले दुवै विद्यालय भवनको निर्माण कार्यको शिलान्यास गरेका थिए । तर शिलन्यास भएको पाँच वर्ष बितिसक्दासमेत विद्यालय भवन निर्माण कार्य पूरा भएको छैन । साविकको जिल्ला विकास समिति खारेज भएसँगै ठेकेदारले काम रोकेको सुधा राजेश्वरका प्रधानाध्यापक प्रेमेन्द्र ठाकुरले बताए ।


अधुरो अवस्थामा रहेका दुवै विद्यालय भवनसहित २० वटै सामुदायिक भवनको बाँकी निर्माण कार्य अब छिट्टै सुरु हुने जिल्ला समन्वय समितिले जनाएको छ । मन्त्रालयबाट सञ्चालित पुरानो परियोजनालाई जिल्लाबाट पूरा गराउने निर्देशन आएको जिल्ला समन्वय समितिका संयोजक मेथुर चौधरीले बताए ।


‘पहिले साविकको जिविस मार्फत भवन निर्माणको कार्य सुरु गरिएको थियो, जिविस खारेज भएपछि स्थानीय तहले बनाउने कि जिल्लाबाट बनाउने भन्ने अन्योलका कारण निर्माण रोकियो,’ संयोजक चौधरीले भने, ‘अहिले पुराना योजनाको काम जिल्लाबाटै अघि बढाउन भनेर निर्देशन आएको छ, केही दिनभित्रै काम सुरु हुन्छ ।’


ठेकेदारलाई सम्पन्न गरिसकेको कामको भुक्तानी दिलाउन भारत सरकारसँग रकम माग गरिएको समितिले जनाएको छ । रकम आउनासाथ ठेकेदार कम्पनीको म्याद थप गरेर काम अगाडि बढाइने संयोजक चौधरीले बताए ।

प्रकाशित : भाद्र ११, २०७६ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?