कामको लोभमा चेली भारत लगिँदै

शंकर आचार्य

पर्सा — पर्साको ठोरी नाकाबाट भारत लगिँदै गरिएका तनहुँका ३ चेलीलाई प्रहरीको सहयोगमा माइती नेपालले उद्धार गर्‍यो । भारतको पटनास्थित एक कम्पनीमा काम लगाइदिने प्रलोभनमा तीनै चेलीलाई चोर बाटोबाट भारत लग्न खोजिएको थियो ।

ZenTravel

तीन चेलीलाई बुझ्न भारतीय युवक नाकामै आइपुगेका थिए । प्रहरीले ती भारतीय नागरिकलाई पनि नियन्त्रणमा लिएको हो । कम्पनीको जागिरको प्रलोभनमा नेपाली चेली भारत लगिएको यो पछिल्लो उदाहरण हो ।

६ महिनायता जिल्लाका विभिन्न नाकाबाट भारतको कम्पनी रोजगारीका लागि जान लागेको बताउने २ दर्जनभन्दा बढी चेलीको उद्धार गरिसकिएको छ । माइती नेपाल आवधिक गृह वीरगन्जकी प्रमुख संगीता पुरी सोझासाझा नेपाली चेलीलाई यसरी कम्पनीमा जागिर दिने प्रलोभन दिई भारत लग्ने प्रवृत्तिबढेको बताउँछिन् ।

माइतीले मात्र जनवरी यता १ दर्जनभन्दा बढी चेलीको उद्धार गरिसकेको छ । भारतको पटना र मुजफ्फर जान लागेका यी चेलीले कपडा पट्याउने, नेलपोलिस बनाउने उद्योगमा काम गर्ने आश्वासन पाएको बताउने गरेका छन् । तर, अरूले भनेको र सुनेको भरमा लहलहैमा जान खोज्ने उनीहरू त्यहाँ जोखिममा पर्नसक्ने कुरोमा बिल्कुलै अनभिज्ञ छन् । यस्ता चेलीलाई मासिक २० देखि ३० हजार भारतीय रुपैयाँ तलबको प्रलोभन दिइएको हुन्छ ।

साउनयता मात्रै सीमावर्ती भारतीय सहर रक्सौलबाट सुरक्षा फौज एसएसबीले त्यहाँको रेल्वे स्टेसनबाट आधा दर्जन चेलीलाई उद्धार गरी नेपाल फिर्ता पठाएको पुरीले बताइन् ।

मानव बेचबिखन नियन्त्रणमा सक्रिय अर्को संस्था आफन्त नेपालकी वीरगन्ज शाखा प्रमुख तारा घिमिरे पनि आफ्नो संस्थाले ६ महिनायता एक दर्जनभन्दा बढी यस्ता चेलीको उद्धार गरिसकेको बताइन् । ‘अधिकांश चेली आफू कम्पनीमा काम गर्न पटना जान लागेको बताउँछन्, तर उनीहरूसँग न त कुनै कागजात हुन्छ, न त साथमा केही रकम नै हुन्छ,’ उनले भनिन्, ‘उनीहरूको अवस्था हेर्दा दलालको लहलहैमा लागेर हिंडेको प्रष्ट बुझिन्छ ।’

पछिल्लो ६ महिना यता मानव तस्करहरूले चेलीबेटी बेचबिखनको नयाँ शैली अपनाएको हुन सक्ने उनको अनुमान छ । सोझा–साझा चेली अनाहकमा दलालको फन्दामा पर्न सक्ने भएकाले चेतनामूलक कार्यक्रम आवश्यक रहेको बताइन् ।

प्रकाशित : भाद्र १०, २०७६ ०९:१२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

इनार र गाउँलेको दोस्ती

शंकर आचार्य

पर्सा — मधेसमा २० वर्ष अघिसम्म इनारकै पानी खाइन्थ्यो । गाउँ–टोल सबैतिर इनार । डोरीले पानी तानेर इनारमा नुहाउने र कपडा धुनेको ताँती हुन्थ्यो । जमाना बदलयो । सँगसँगै पानीको पाइप भान्सा र बाथरुमसम्मै पुग्यो । धेरै इनार सुके । बचेका संरक्षण अभावमा मासिए ।

तर, पर्साको पटेर्वासुगौली ४ दापमा रहेको इनारसँग भने गाउँलेको गज्जबको दोस्ती छ । गुदर बाबा मन्दिरनजिकको त्यो इनार गाउँलेको श्रद्धा र विश्वासले रमणीय स्थल बनेको छ ।

गाउँलेले मन्दिर परिसर बाहिर सडकसँग जोडिएको यो इनारलाई छानो हालेर सफा–सुग्घर राखेका छन् । विगतमा काठको घेराबेरा रहेको इनारलाई स्थानीयले तीन दशकअघि पक्की पर्खाल लगाए । अझै पनि गाउँको अधिकांश घरधुरीले दैनिक यो इनारबाट पानी लगेर बिहान घरमा पुजाअर्चना गर्ने तथा खाना पकाउन पानी प्रयोग गर्छन् । परम्परागत शैलीको यो इनार करिब ५० फिट गहिरो छ ।

७६ वर्षीय सुभन राउत थारू गाउँघरमा हुने यज्ञ, हवन, वैवाहिक समारोहमा मात्र नभई दैनिक घरमा गरिने पूजाअर्चना तथा खाना पकाउन तथा पिउनका लागि समेत यसै इनारको पानी अधिकांश गाउँलेले प्रयोग गर्ने बताउँछन् । ‘इनारको पानी पवित्र रहेको हाम्रो विश्वास छ,’ उनले भने, ‘इनारको पानीले पकाएको खाना स्वादिलो हुने, धार्मिक अनुष्ठान सफल हुने र पूजा अर्चनामा वितरण गरिने प्रसादको भण्डार कहिल्यै नरित्तिने जनविश्वास पनि छ ।’

५२ वर्षीय विष्णु दास थारूले गाउँलेले साझा सम्पत्ति रहेको इनारलाई संरक्षण गरिएको बताए । इनारसँग गुदर बाबा नाम गरेका सिद्ध पुरुषको रोचक कथा पनि जोडिएको छ । परापूर्व कालमा गाउँमा गुदर नाम गरेका एक पुरुष थिए । उनी गाउँकै एक जमिन्दारको घरमा हली बसे । खेतमा हलो जोत्ने क्रममा उनले गोरुलाई हलोसहित खेतमा छोडिदिन्थे र आफू आरामले सुत्ने गर्थे । गोरु खेतमा आफैं हिड्थे र हलो पनि मानिसले चलाएजस्तो आफै चलिरहन्थ्यो ।

प्रत्यक्षदर्शीले जमिन्दारलाई यो आश्चर्य सुनाएपछि गुदरलाई हप्कीदप्की गर्‍यो । गोरु आफै हलो कसरी जोत्छ ? यो रहस्य खोल्न जमिन्दारले गुदरलाई बाध्य पारे । उनले आफू भारतको कुनै प्रसिद्ध मन्दिरको मठमा आउने साधु सन्तको सेवाटहल गर्ने काम विगतमा गरेको र त्यहाँ साधुसन्तलाई दही च्युरा खुवाउने काम गरेको बताउँदै आफ्नो हात देखाउँदा उनको हातमा दही लागेको देखेपछि जमिन्दारले सिद्ध पुरुष रहेको चाल पाए । त्यसपछि मठ बनाएर गुदर त्यहीं बसे ।
मठमा हाल अन्य देवी देउताको मन्दिर मात्र नभई गुदर बाबाको मूर्ति पनि छ । स्थानीयले उनलाई अभिभावक तथा ग्राम देउताका रूपमा पूजा–अर्चना गर्छन् । स्थानीयले घरपरिवारमा हुने विवाह, ब्रतबन्ध, विशेष धार्मिक अनुष्ठान अघि गुदर बाबाको पुजाअर्चना गरी आशीर्वाद लिने पनि गर्छन् ।

पछि गुदर बाबाको भारतको चित्रकुट नामक प्रसिद्ध धार्मिक स्थलमा समाधि लिएको र हाल पनि त्यहाँ उनको समाधि रहेको उनले बताए ।

प्रकाशित : भाद्र ७, २०७६ १०:०१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×