२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

कामको लोभमा चेली भारत लगिँदै

शंकर आचार्य

पर्सा — पर्साको ठोरी नाकाबाट भारत लगिँदै गरिएका तनहुँका ३ चेलीलाई प्रहरीको सहयोगमा माइती नेपालले उद्धार गर्‍यो । भारतको पटनास्थित एक कम्पनीमा काम लगाइदिने प्रलोभनमा तीनै चेलीलाई चोर बाटोबाट भारत लग्न खोजिएको थियो ।

तीन चेलीलाई बुझ्न भारतीय युवक नाकामै आइपुगेका थिए । प्रहरीले ती भारतीय नागरिकलाई पनि नियन्त्रणमा लिएको हो । कम्पनीको जागिरको प्रलोभनमा नेपाली चेली भारत लगिएको यो पछिल्लो उदाहरण हो ।


६ महिनायता जिल्लाका विभिन्न नाकाबाट भारतको कम्पनी रोजगारीका लागि जान लागेको बताउने २ दर्जनभन्दा बढी चेलीको उद्धार गरिसकिएको छ । माइती नेपाल आवधिक गृह वीरगन्जकी प्रमुख संगीता पुरी सोझासाझा नेपाली चेलीलाई यसरी कम्पनीमा जागिर दिने प्रलोभन दिई भारत लग्ने प्रवृत्ति बढेको बताउँछिन् ।


माइतीले मात्र जनवरी यता १ दर्जनभन्दा बढी चेलीको उद्धार गरिसकेको छ । भारतको पटना र मुजफ्फर जान लागेका यी चेलीले कपडा पट्याउने, नेलपोलिस बनाउने उद्योगमा काम गर्ने आश्वासन पाएको बताउने गरेका छन् । तर, अरूले भनेको र सुनेको भरमा लहलहैमा जान खोज्ने उनीहरू त्यहाँ जोखिममा पर्नसक्ने कुरोमा बिल्कुलै अनभिज्ञ छन् । यस्ता चेलीलाई मासिक २० देखि ३० हजार भारतीय रुपैयाँ तलबको प्रलोभन दिइएको हुन्छ ।


साउनयता मात्रै सीमावर्ती भारतीय सहर रक्सौलबाट सुरक्षा फौज एसएसबीले त्यहाँको रेल्वे स्टेसनबाट आधा दर्जन चेलीलाई उद्धार गरी नेपाल फिर्ता पठाएको पुरीले बताइन् ।


मानव बेचबिखन नियन्त्रणमा सक्रिय अर्को संस्था आफन्त नेपालकी वीरगन्ज शाखा प्रमुख तारा घिमिरे पनि आफ्नो संस्थाले ६ महिनायता एक दर्जनभन्दा बढी यस्ता चेलीको उद्धार गरिसकेको बताइन् । ‘अधिकांश चेली आफू कम्पनीमा काम गर्न पटना जान लागेको बताउँछन्, तर उनीहरूसँग न त कुनै कागजात हुन्छ, न त साथमा केही रकम नै हुन्छ,’ उनले भनिन्, ‘उनीहरूको अवस्था हेर्दा दलालको लहलहैमा लागेर हिंडेको प्रष्ट बुझिन्छ ।’


पछिल्लो ६ महिना यता मानव तस्करहरूले चेलीबेटी बेचबिखनको नयाँ शैली अपनाएको हुन सक्ने उनको अनुमान छ । सोझा–साझा चेली अनाहकमा दलालको फन्दामा पर्न सक्ने भएकाले चेतनामूलक कार्यक्रम आवश्यक रहेको बताइन् ।

प्रकाशित : भाद्र १०, २०७६ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?