कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

विद्युत् अनियमितले उद्योग मारमा

पर्सा–बाराको औद्योगिक करिडोरमा सञ्चालित करिब १ हजार उद्योग प्रभावित
शंकर आचार्य

पर्सा — विद्युत् सेवा अनियमित हुँदा पर्सा–बारा औद्योगिक कोरिडोरका उद्योग मारमा परेका छन् । पटक–पटक विद्युत् अवरुद्ध हुँदा उद्योग सञ्चालन गर्नै गाह्रो भएको गुनासो उद्यमीहरूको छ । करिडोरमा साना, मझौला र ठूला गरी झन्डै १ हजार उद्योग छन् । 

उद्यमी हरि गौतम करिडोरमा दैनिक अघोषित ४ देखि ६ घण्टासम्म लोडसेडिङ हुने गरेको बताउँछन् । औपचारिक लोड सेडिङ नभनिए पनि अनौपचारिक विद्युत् कटौती भएर आफूहरूलाई उद्योग सञ्चालन गर्न गाह्रो बनाएको उनले बताए ।


‘बत्ती हुँदा पनि लोभोल्टेजका कारण उद्योगका उपरण चलाउनै अप्ठेरो भएको छ,’ उनले भने, ‘गत वर्षदेखि रक्सौल परवानीपुर प्रशारण लाइनबाट ५० मेगावाट विद्युत् आयात हुँदा समेत करिडोरको संकट हटेन । विद्युत् उतार–चढाव हुने हुँदा उद्योगका महगा उपकरण बिग्रेर ठूलो नोक्सान हुने गरेको उनले बताए ।


हाल पनि विद्युत् प्राधिकरणका भौतिक संरचना तथा उपकरण पुरानै भएकाले प्राधिकरणको सेवा चुस्तदुरुस्त हुन नसकेको उनको आरोप छ । ‘३ वर्षअघि प्राधिकरणले वार्षिक २ अर्ब रुपैयाँ राजस्व संकलन गर्थ्यो, अहिले वार्षिक ४ अर्बभन्दा बढी राजस्व यहाँबाट संकलन गरिरहेको छ,’ गौतमले भने, ‘विद्युत्का ग्राहक र उपभोग बढेसँगै क्षमता र सेवा पनि बिस्तार हुनु पर्नेमा त्यसो गरिएन ।’


हाल मुलुक प्रादेशिक संरचना गएपछि प्रदेश नम्बर २ को प्रादेशिक विद्युत् कार्यालय जनकपुरमा स्थापना गरी करिडोर माथि थप अन्याय गरिएको गौतमले आरोप लगाए । प्रदेशमा विद्युत्को अत्यधिक खपत पर्सा, बारा र रौतहट जिल्लामा भएकोमा प्राधिकरणको प्रादेशिक कार्यालय वीरगन्ज वा पथलैयामा स्थापना गर्नु पर्नेमा जनकपुरमा स्थापना गरी करिडोरका उद्योगमाथि नियतवश अन्याय गरिएको उनले आरोप लगाए । उद्योगसम्बन्धी कुनै समस्या भए आफूहरूले जनकपुर गएर गुहार्नुपर्दा समय लाग्ने बताए ।


वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुवोधकुमार गुप्ता हाल करिडोरमा प्राधिकरणको विद्युत् अत्यन्तै गुणस्तरहीन भएको आरोप लगाउँछन् । विगतमा करिडोरमा विद्युत् आपूर्ति नै कम भएको जवाफ प्राधिकरणले दिँदै आएकोमा हाल भने रक्सौल परवानीपुर प्रशारण लाइनबाट आउने ५० मेगावाट विद्युत् पनि यसै करिडोरमा उपलब्ध गराइएकोमा अब पनि प्राधिकरणले विद्युत् अभाव वा अन्य बहाना बनाउनु जायज नरहेको उनको भनाइ छ ।


दैनिक १० देखि १५ सम्म विद्युत् ट्रिप हुने र ५ देखि ६ पटकसम्म बत्ती जाने गरेकाले उद्योग सञ्चालन गर्न कठिन हुँदै गएको उनले बताए । पटक–पटक विद्युत् जाँदा विशेष गरी प्लास्टिकजन्य वस्तु उत्पादन गर्ने उद्योग तथा ठूला ब्वाइलर मेसिन भएका उद्योगलाई बढी व्यय भार हुन्छ ।


ठूला ब्वायलर तात्न समय लाग्ने र पटक–पटक मेसिन बन्द हुँदा उत्पादन लागत बढने र वस्तु खेर जाने हुँदा उद्योगीलाई ठूलो घाटा हुन्छ । करिडोरमा उद्योग बढेसँगै विद्युत् आपूर्ति गर्ने पूर्वाधार तथा उपकरणहरूको पनि स्तरोन्नति गरिनु पर्नेमा त्यसो नहुँदा समस्या बढ्दै गएको हो । विद्युत् सेवा अनियमित हुँदा कुनै न कुनै रूपमा २० प्रतिशतसम्म विद्युत् चुहावट र घाटा आफूहरूलाई भइरहेको उनले बताए ।


आफूहरूले यो समस्याबारे विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्र तथा प्राधिकरण केन्द्रीय कार्यालयसम्म गुनासो गर्दा पनि समस्या समाधान नभएको गुप्ता बताउँछन् । मुलुकका औद्योगिक करिडोरमध्ये पर्सा बारा औद्योगिक करिडोरमा सबैभन्दा बढी उद्योग भए पनि यहाँका उद्योगले विद्युत् संकट भोग्नु दुःखद भएको उनले बताए । रोजगारी र राजस्वका हिसाबले पनि अति महत्त्वपूर्ण रहेको यो करिडोरलाई प्राधिकरणले अझै पनि गम्भीरताका साथ नलिएको उनले आरोप लगाए ।


यस अघिका ऊर्जा मन्त्री जनार्दन शर्मा र प्राधिकरणका हालका कार्यकारी निर्देशक कुलमान घिसिङ गत वर्ष वीरगन्ज आउँदा शर्माले पर्सा बारा औद्योगिक करिडोरलाई लोडसेडिङ मुक्त गराउने बचनबद्धता व्यक्त गरे पनि त्यो व्यवहारमा नदेखिएको उनले बताए ।


यस सम्बन्धमा प्राधिकरण वीरगन्ज वितरण केन्द्र प्रमुख मुनीन्द्र ठाकुरसँग प्रतिक्रिया लिन खोज्दा उनी बिहीबार सरुवा भई गएको र नयाँ कार्यालय प्रमुख आई नसकेको प्राधिकरण स्रोतले बताएको छ ।

प्रकाशित : भाद्र ९, २०७६ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?