पूर्वमाओवादी असन्तुष्ट

रौतहट — पार्टी एकीरणपछि जिल्लामा नेकपाभित्रको विवाद र असन्तुष्ट बाहिर आउन थालेको छ । पार्टीभित्रको गुटबन्दीबारे पत्रकार सम्मेलनमार्फत सार्वजनिक भएको सम्भवत यो पहिलो घटना हो ।

आन्तरिक विवाद र विरोधमा पूर्व माओबादीका सभासद र मेयर खुलेरै लागेका छन् । उनीहरूले जिल्लामा समानान्तर कमिटी गठन गर्ने चेतावनी दिएका छन् ।


पूर्वमाओवादीका सभासद अशोक जैसवालले गौरमा पत्रकार सम्मेलन गरी पार्टी भित्रको आन्तरिक विवाद र विरोध बाहिर ल्याएका हुन् । उनी प्रदेश २ का अध्यक्ष एवम सांसद प्रभु साह विरुद्ध खनिए । स्थानीयदेखि संसदीय निर्वाचनसम्म टिकट वितरणमा देखा परेको निषेधको राजनीति बढ्दै गएको र सिंगो पार्टीलाई परिवार तथा निजी गुटमा परिणत गर्न पुगेको जैसवालले आरोप लगाए । आफूसित मतभेद राख्ने साथीहरूलाई टिकट नदिने र दिइयो भने खुलेर हराउन लाग्ने गरेका कारण केही स्थानीयतहमा हार ब्यहोर्नु परेको जैसवालको भनाइ छ । यस विषयमा पार्टी हेडक्याटरलाई समेत जानकारी भएको उनको दाबी छ ।


केही दिनअघि गठित जिल्ला कमिटीमा गुटबन्दी भएको भन्दै सभासद साहको चर्को आलोचना गरे । भर्खरै गठित नगरपालिका र गाउँपालिका कमिटी गठनमा चरम गुटबन्दी गरेको भन्दै बाध्य भएर असन्तुष्ट जाहेर गरेको जैसवालले पत्रकार सम्मेलनमा सुनाए । पार्टीले सार्वजनिक गरेको प्रदेश सदस्य, जिल्लापदाधिकारी, नगर र गाउँपालिका कमिटीको नामावली पूरै गुटबन्दीका आधारमा भएको भन्दै निर्णयको घोर भत्सर्ना गरेका छन् ।


पत्रकार सम्मेलनमा कमिटीबारे पुनर्विचार हुनुपर्ने माग अघि सारेका छन् । माग सम्बोधन नभए अन्य विकल्पको बाटो रोज्न बाध्य हुने जनाइएको छ । पूर्व सभासद जैसवालले पत्रकार सम्मेलनमा सांसद साहमाथि पद दुरुपयोगको आरोप लगाए । साहले तल्लो तहका पार्टी कमिटीमा आफू निकटका व्यक्तिलाई स्थान दिएर पुराना नेता कार्यकर्तालाई पाखा लगाएको आरोप लगाए ।


नेकपाका जिल्ला अध्यक्ष कमल यादवले पार्टीको नाममा गरेको पत्रकार सम्मेलनबारे आफूलाई कुनै जानकारी नभएको बताए । ‘पार्टीको नाममा कसले पत्रकार सम्मेलन गरेको हो उसैलाई सोध्नुस,’ उनले भने, ‘मलाई केही थाहा छैन । पार्टीले गरेको भए हामीलाई थाहा हुन्थ्यो ।’ पत्रकार सम्मेलनमा नेकपाको ब्यानर लगाइएको थियो । पत्रकार सम्मेलनपछि सामाजिक सञ्जालमा जैसवालको तीब्र आलोचना भएको छ । मधेसका नेतालाई आरोप लगाउने काम कमरेडबाट भएको भनेर जैसवालमाथि खनिएका छन् ।


प्रदेश २ का सदस्य उपेन्द्र साहले नेपाल कम्युनिष्ट पार्टीका गद्धार चरित्र भएका केही कमरेडद्वारा गरिएको पत्रकार सम्मेलन कपोकल्पित र भ्रामक, झुठा, पार्टी विपरीत गुटगत खेती भएको आरोप लगाए । उनले पूर्वसभासद जैसवाललाई पार्टीको नीति विपरीत चलेको भन्दै कारबाहीको माग गरे । विज्ञप्ति मार्फत सदस्य साहले यस्ता भ्रामक प्रचार गर्ने व्यक्तिबाट सजग रहन अपिल गरेका छन् । नेता साहले प्रदेश २ को अध्यक्ष पदबाट राजिनामा दिएको तेस्रो दिनमा सभासद जैसवालले पत्रकार सम्मेलन गरी असन्तुष्टि जनाएका हुन् ।


सदरमुकाम गौरमा रहेको जानकी धर्मशालामा नेकपाका जिल्ला सदस्य रामनन्द महतो, विपिन जैसवाल र यमुनामाई गाउँपालिकका अध्यक्ष श्रीप्रसाद मुखिया लगायतका ७ जना जिल्ला सदस्य उपस्थित थिए । पूर्व एमालेका एकजना पनि थिएनन् । पार्टीभित्र असन्तुष्ट भए पनि बाहिर सार्वजनिक भएको थिएन । सांसद साहले कुनै प्रतिक्रिया दिन चाहेनन् ।

प्रकाशित : भाद्र ९, २०७६ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?