३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

भीमसेन जात्रामा तनाव

पर्सा — वीरगन्जको भीमसेन जात्रा यस वर्ष तनावग्रस्त बन्यो । विर्ता मन्दिरबाट शनिबार साँझ निकालिएको जात्रा गहावाई मन्दिरनजिक पुग्दा दुई पक्षबीच ढुंगा हानाहान भयो ।

भीमसेन जात्रामा तनाव

राति करिब ८ बजेको उक्त घटनामा सडक छेउ पार्किङ गरिएका करिब १ दर्जन मोटरसाइकल तोडफोड भएका छन् । यहाँका नेवार समुदायले मनाउँदै आएको यो जात्रा अवधिमा हुनसक्ने सम्भावित झडपलाई लक्षित गरी पछिल्ला केही वर्षदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिन्छ । वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निर्मल पनेरुका अनुसार माइस्थानमा भएको ढुंगा हानाहानबाहेक जात्रा शान्तिपूर्ण सम्पन्न भएको छ । नेपाल प्रहरीका करिब २ सय सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए ।


सबैभन्दा बढी रथ तान्ने बेलामा तनाव हुने भएकाले त्यसमा सहयोगी भूमिका सादा पोसाकका सुरक्षाकर्मी पनि खटिएका थिए । भीमसेन जात्रा मनाउने वीरगन्जको आफ्नै मौलिक परम्परा छ । वीरगन्जमा नेवार समुदायको प्रवेश भएपछि यो जात्रा सुरु भएको हो । करिब १ सय वर्षअघिदेखि उपत्यका लगायतका क्षेत्रबाट यहाँ नेवारहरू आएको इतिहास पाइन्छ । यो समुदायका कुल देउता मानिने भीमसेनको जात्रा मनाउँदा धन वैभव र आरोग्यता प्राप्त हुने धार्मिक विश्वास छ ।


जात्रामा बोकाको मासु, सिध्रा, बारा, आलु, केराउ, साग, अन्डा, काक्रो, भुजा, चिउरा गरी करिब १ दर्जन परिकार तयार पारेर चढाई सकेपछि प्रसादका रूपमा नगरबासीलाई वितरण गरिन्छ । जात्रा विगतमा गहवाका नेवार समुदायले निकाल्ने गरेकोमा उतिबेलै विर्ताका बासिन्दाले जात्राको डोला खोसेर आफूसँग राखेर बर्सेनि जात्रा निकाल्दै आएको मान्यता छ ।


डोला खोसिएपछि गहवाका नेवार समुदायले हाल पनि सानो र सामान्य रूपमै भए पनि डोला निकाल्ने गरेका छन् । जात्रा निकालिएपछि गहवाका नेवार समुदायले आआफ्नो टोलमा पनि डोला घुमाउन आग्रह गरे पनि जात्रा २ नम्बर रोड हुँदै सोझै विर्ता मन्दिर जान खोजेपछि प्रत्येक वर्ष गहवाका नेवार समुदायले जात्राको बाटो मोड्न खोज्छन् । त्यस क्रममै तनाव हुन्छ ।

प्रकाशित : भाद्र ९, २०७६ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?