दैनिक १ करोड लिटर प्रशोधन

कान्तिपुर संवाददाता

पर्सा — एसियाली विकास बैंकको सहयोगमा वीरगन्जमा निर्माण गरिएको केन्द्रले हाल दैनिक १ करोड लिटर पानी प्रशोधन गर्न थालेको छ । मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार आयोजनाको पहिलो चरणको प्याकेज अन्तर्गत नै केन्द्रको निर्माण गरिएको ठेकेदार कालिका कन्स्ट्रक्सनका प्रमुख ठाकुर ढकालले बताए ।

१ करोड रुपैयाँको लागतमा महानगरको छपकैंयामा निर्माण गरिएको केन्द्र डेढ महिनादेखि सञ्चालनमा रहेको छ । वीरगन्ज महानगरबासीको घरबाट निस्किएको ढलको पानी प्रशोधन गरी सिर्सिया खोलामा झार्ने लक्ष्यका साथ निर्माण गरिएको केन्द्रको संरचना १० महिनामै तयार पारेर सञ्चालन समेत गरिएको दाबी ढकालले गरे ।

१ करोड लिटर फोहोर पानी दैनिक प्रशोधन गरिरहेको केन्द्रको पूर्ण क्षमता २ करोड ३० लाख लिटर रहेको उनले बताए । हालको अवस्थामा वीरगन्ज सहरको मुख्य नाला केन्द्रमा जोडे पनि केन्द्रले सेवा दिन सक्ने उनले बताए । केन्द्रले प्रदूषित पानीलाई ९० प्रतिशतसम्म प्रशोधन गरेको उनले दाबी गरे ।

हाल प्रशोधन गरिएको पानी सिर्सिया खोलामा छोड्ने गरिएको छ । प्रशोधित पानी बगैंचा वा अन्य निर्माणमा प्रयोग गर्न योग्न हुन्छ । केन्द्रमा महानगरको विभिन्न क्षेत्रबाट आउने ढलको पानीलाई सुरुमा ८ मिटर गहिरो रिसिभिंग च्याम्बर (इनारमा) झारेर त्यहाँबाट १० मिटरमाथि पम्प गरेर फालिन्छ । त्यहाँबाट पहिलो पोखरी (एनोरोनिक) मा झारिन्छ । यो पोखरी ५ मिटर गहिरो छ ।

त्यहाँ पानीमा रहेको ठोस मात्रालाई थिग््याउने र कुहाउने गरिन्छ । त्यसपछि दोस्रो पोखरीमा पहिलो पोखरीको पानी झारिन्छ । त्यहाँ पहिलो पोखरीबाट बचेको निस्केका ठोस दोस्रो पोखरीमा थिग्रिन्छ । त्यहाँबाट निस्किएको पानी सिर्सिया खोलामा झारिन्छ । केन्द्रबाट निस्किएका ठोस वर्षको एक वा दुई पटकमा गरी त्यहाँबाट निकालेर अन्यत्र लग्न सकिन्छ ।

अव्यस्थित सहरीकरण र भौगोलिक बनोटका कारण वीरगन्ज महानगरबाट निस्कने पानीको उचित निकास हुन नसकेको सन्दर्भमा ढल प्रशोधन केन्द्र निर्माण भई सञ्चालनमा आएपछि त्यसले सिर्सिया खोलाको प्रदूषणमा पनि कमी आउने अनुमान गरिएको छ ।

प्रकाशित : भाद्र ९, २०७६ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्

हुरी प्रभावित क्षेत्रमा फलामे पुल

कान्तिपुर संवाददाता

सिमरा — हावाहुरी (चक्रवात) पीडितका लागि घर पुनर्निर्माण गर्न खटिएको नेपाली सेनाको जनता आवास पुनर्निर्माण कार्यदल बारा/पर्साले बाराको फेटा गाउँपालिका १ भुलहीमा फलामे पुल निर्माण गरेको छ ।

मुसलधारे वर्षासँगै बंगरी नदीमा आएको बाढीले उक्त स्थानमा सञ्चालनमा रहेको बाँसको अस्थायी (लचका) पुल बगाइदिएपछि स्थानीय समस्यामा परेका थिए । बाँसको पुल बगेपछि सबभन्दा बढी स्कुले बालबालिका, सेवाग्राही, घास दाउरा लिन नदी पार गर्ने स्थानीय प्रभावित भएका थिए । लचका पुल बगेपछि अकवनिया, त्रिवेणी, चिलझप्टी, रजवटिया, भरवलियाका बासिन्दा भलुहीको विद्यालय, वडा कार्यालय, चोक स्थित बजार पुग्न झन्डै ३ किलोमिटर घुमाउरो बाटो प्रयोग गर्न बाध्य थिए ।

स्थायी फलामे पुल बनेपछि स्थानीयलाई सहज भएको फेटा १ का वडाध्यक्ष जयप्रकाश दासले बताए । ‘भलुही विद्यालयमा पढन आउने पारीका विद्यार्थीलाई सबभन्दा बढी फाइदा पुगेको छ,’ उनले भने, ‘सेनाले हामी गाउँलेका लागि फलामे सेतु जोडेर सराहनीय काम गरेको छ ।’ स्थनीय सरकारले कहिले पुल बनाउथ्यो कहिले ? सेनाले २ महिनामै पुल बनाएर सञ्चालनमा ल्याइदिएको उनले बताए ।

नेपाली सेनाले स्थानीय स्रोत साधन उपयोग गर्दै झन्डै ५ लाखको लागतमा उक्त पुल निर्माण गरेको नेपाली सेनाको चन्दननाथ गण ब्रह्मपुरीका प्रमुख गणपति कर्णेल पारस विक्रम शाहले जानकारी दिए । ‘पुल निर्माण गर्न कहीं कतैबाट बजेट आएको छैन,’ उनले भने, ‘घर निर्माणका लागि ल्याएको फलाम, ढुङ्गा र तारजालीको सदुपयोग गर्दै पुल निर्माण गरेका हौं ।’

त्यहाँ पुल निर्माण गर्न गाउँपालिकाबाट २ लाख रुपैयाँको बजेट विनियोजित गरिएको थियो । गाउँपालिकाको बजेट खर्च गरिनुभन्दा अगाडि नै सेनाले स्थायी फलामे पुल निर्माण गरिदिएको फेटा गाउँपालिकाका प्रमुख अमिरीलाल प्रसादले बताए ।

प्रकाशित : भाद्र ९, २०७६ १०:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्