दशकमा ४ गुनाले बढे बाघ

शंकर आचार्य

पर्सा — संरक्षण तथा वृद्धिका लागि गरिएको प्रयासका कारण मुलुककै कान्छो निकुञ्ज पर्सा राष्ट्रिय निकुञ्जमा एक दशकमा बाघको संख्या चार गुनाले बढेको छ । निकुञ्जमा बर्सेनि भई रहेको बाघ अनुगमनले यस्तो देखाएको हो । यस बर्ष निकुञ्जमा डेढ दर्जन बयस्क बाघ देखा परेका छन् । 

पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय अगाडि बनाइएको हात्तीको मूर्ति ।तस्बिर : कान्तिपुर

निकुञ्जका प्रमुख संरक्षण अधिकृत समिर महर्जनका अनुसार, जेडएसएलसँगको सहकार्यमा बर्सेनि निकुञ्जमा जारी शक्तिशाली क्यामेराबाट हुने गरेको अनुगमनले निकुञ्जमा बाघको संख्या उत्साहजनक रुपमा बढेको देखाएको छ । यस वर्ष पनि जनवरीदेखि जुन मध्यठसम्म निकुञ्जमा बाघ अनुगमन गरिएको थियो ।

यस वर्षको अनुगमनबाट निकुञ्जमा डेढ दर्जन बयस्क बाघ देखिएको उनले बताए । निकुञ्ज कार्यालयबाट करीब १५ किमी पूर्वमा हल्खोरिया दह क्षेत्रमा हाल पनि माउसँग २ वटा डमरु देखिएको उनले बताए । करिब ६ महिनाका जस्ता देखिने डमरु हुर्किसकेका छन् । तर डमरुलाई गणनामा सामेल गर्ने चलन छैन ।

सन् २००९–१० मा गरिएको गणनामा निकुञ्जमा केवल ४ बयस्क बाघ थिए । २०१३ मा गरिएको यस्तै सर्वेक्षणले निकुञ्जमा ७ बयस्क बाघ रहेको नतिजा देखाएको थियो । हालरहेका डेढ दर्जन बाघमध्ये ५ भाले र १० पोथी बाघकोपहिचान भइसकेको छ । सामान्यतया एउटा बाघको पाटाअर्कोसँग नमिल्ने भएकाले बाघलाई चिन्न सहज हुन्छ । बयस्क बाहेक थप केही ससाना बच्चा बाघ रहे पनि तीनको संख्या यकिन हुन सकेको छैन ।

निकुञ्जमा बाघको संख्या बढ्नुमा यसको आहारा प्रजातिका जनावरहरूको सख्यां बढदै जानु र बाघ संरक्षणमा गरिएको प्रयासको सकारात्मक परिणाम रहेको महर्जन बताउँछन् । यस बाहेक रामभौरी, भाठा, रमौली, प्रतापपुर जस्ता निकुञ्जभित्र रहेका मानवबस्तीलाई स्थानान्तरण गरिएपछि पनि बाघ लगायतका अन्य वन्यजन्तुको संख्या पनि वृद्धि हुन गएको हो ।

निकुञ्जमा बाघको संख्या वृद्धिसँगै थप चुनौती पनि बढेको उनले बताए । बाघ बढेसँगै तिनको सुरक्षा, निकुञ्जमा मानव प्रवेश नियन्त्रण, बाघको आहारा प्रजातिको वन्यजन्तुको संख्या थप वृद्धि, निकुञ्जमा लाग्ने मेला आदि प्रमुख चुनौती रहेको उनले बताए । पर्सा, बारा र मकवानपुर गरी ६ सय २७ वर्ग किमि क्षेत्रफलमा निकुञ्ज फैलिएको छ । यो निकुञ्ज जंगली हात्तीको बासस्थानका रूपमा प्रसिद्ध छ ।

प्रकाशित : भाद्र ८, २०७६ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्

सूचना केन्द्रले सेवाग्राहीलाई सहज

शंकर आचार्य

पर्सा — छोरा मुरारी पडितको नागरिकता बनाउन वडा कार्यालयको सिफारिस लिन वीरगन्ज महानगरपालिका वडा नं २३ को कार्यालयमा बिहीबार आएका हरीशंकर छरितो सेवा पाउँदा दंग परे । 

वडा कार्यालयमा स्थापना गरिएको हेल्प डेस्कमा खटिएका स्वयम्सेवीले उनलाई सहजीकरण मात्र गरेनन् आवश्य पर्ने कागजातको फोटोकपि समेत गरिदिए । ‘पहिले सरकारी कार्यालय भनेपछि ढिलासुस्ती हुने, कर्मचारीले असहयोग गर्ने जस्ता तितो अनुभव हुन्थ्यो,’ हरीशंकरले भने, ‘यस पटक त्यस्तो केही भएन, बरु सहजै काम भयो, मलाई अचम्म लाग्यो ।’

नाति हजारी पडितको मधेसी सिफारिस लिन वडा कार्यालयमा आएका जादोलाल पनि छिटो छरितो काम भएपछि खुसी भए । उनलाई पनि हेल्प डेस्कमा खटिएका स्वयम्सेवीले सिफारिस लिन सहजीकरण गरी दिएका थिए । ‘नातिले लोकसेवा आयोगको विज्ञापनमा मधेसी कोटाबाट प्रतिस्पर्धा गर्न खोजेको छ,’ जादोलालले भने, ‘छिटै सिफारिस पाएँ, खुसी लाग्यो ।’

यूएनडीपीको सहयोगमा सामाजिक विकास समन्वय समिति वीरगन्जले असार १८ देखि वडा कार्यालयमा सञ्चालन गरेको सामुदायिक सूचना तथा सेवा सहजीकरणबाट यसरी सेवाग्राही लाभान्वित हुन थालेका छन् । केन्द्रले वडा कार्यालयमा हेल्प डेस्क स्थापना गरी सेवाग्राहीको सुविधाका लागि स्वयम् सेवक परिचालन गरेको छ ।

केन्द्रले वडा कार्यालयको सेवाप्रवाह चुस्त दुरुस्त बनाउन हेल्प डेस्क निर्माण गर्नुका साथै एक–एक थान ल्यापटप, फोटोकपि मेसिन समेत कार्यालयलाई उपलब्ध गराएको छ ।

केन्द्रका कार्यकारी निर्देशक जयनारायण चौधरीले स्थानीय सरकारले जनतालाई दिने सेवामा सहजीकरण गर्ने स्थानीय सरकारको केही सूचनाहरू जनतालाई प्रवाह समेत गर्ने उद्देश्यका साथ वडा कार्यालयलाई सहयोग गरेको बताए । देशको विकासमा नागरिकको पनि प्रत्यक्ष सहभागिता होस् भन्ने उद्देश्य पनि रहेको उनले बताए ।

स्वयंसेविका रूपमा
खटिएका स्थानीय युवा प्रदीपकुमार दासले सेवाग्राहीलाई सेवामा सहजीकरण गर्दा आफूले पनि धेरै नयाँ नयाँ कुरा सिक्ने अवसर पाएको बताए । हालै १२ कक्षा उत्तीर्ण गरेका उनी अब लोकसेवा आयोगको तयारीमा जुट्ने र यसरी सरकारी कार्यालयको सेवासँग प्रत्यक्ष जोडिंदाको प्राप्त अनुभवले आफूलाई लाभ मिलेको उनले बताए ।

वडा सचिव राजेन्द्र प्रसाद यादवले संस्थाका स्वयम् सेवा खटिंदा आफूले कार्यालयमा कर्मचारीको दरबन्दी थपिएको जत्तिक्कै सहज अनुभव गरेको बताए । सेवाग्राहीको फारम, निवेदन आदि भर्ने र लेख्ने काम स्वयम्सेवीहरूले गरी दिने गरेकाले आफूहरूलाई धेरै सहज भएकोउनले बताए ।

वडाध्यक्ष अवधकिशोर प्रसाद कुशवाहाले केन्द्रबाट खटिएका स्वयम्सेवीबाट सेवाग्राही अत्यधिक लाभान्वित भइरहेको बताए । ‘विगतमा फारम भर्न समेत नजानेर अलमलमा पर्ने सेवाग्राहीलाई स्वयम्सेवीले सबै खाले सहजीकरण गरिरहेका छन्,’ उनले भने, ‘यस्तो सेवालाई निरन्तरता दिनुपर्छ ।’

प्रकाशित : श्रावण ३, २०७६ ०९:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्