कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दशकमा ४ गुनाले बढे बाघ

शंकर आचार्य

पर्सा — संरक्षण तथा वृद्धिका लागि गरिएको प्रयासका कारण मुलुककै कान्छो निकुञ्ज पर्सा राष्ट्रिय निकुञ्जमा एक दशकमा बाघको संख्या चार गुनाले बढेको छ । निकुञ्जमा बर्सेनि भई रहेको बाघ अनुगमनले यस्तो देखाएको हो । यस बर्ष निकुञ्जमा डेढ दर्जन बयस्क बाघ देखा परेका छन् । 

दशकमा ४ गुनाले बढे बाघ

निकुञ्जका प्रमुख संरक्षण अधिकृत समिर महर्जनका अनुसार, जेडएसएलसँगको सहकार्यमा बर्सेनि निकुञ्जमा जारी शक्तिशाली क्यामेराबाट हुने गरेको अनुगमनले निकुञ्जमा बाघको संख्या उत्साहजनक रुपमा बढेको देखाएको छ । यस वर्ष पनि जनवरीदेखि जुन मध्यठसम्म निकुञ्जमा बाघ अनुगमन गरिएको थियो ।


यस वर्षको अनुगमनबाट निकुञ्जमा डेढ दर्जन बयस्क बाघ देखिएको उनले बताए । निकुञ्ज कार्यालयबाट करीब १५ किमी पूर्वमा हल्खोरिया दह क्षेत्रमा हाल पनि माउसँग २ वटा डमरु देखिएको उनले बताए । करिब ६ महिनाका जस्ता देखिने डमरु हुर्किसकेका छन् । तर डमरुलाई गणनामा सामेल गर्ने चलन छैन ।


सन् २००९–१० मा गरिएको गणनामा निकुञ्जमा केवल ४ बयस्क बाघ थिए । २०१३ मा गरिएको यस्तै सर्वेक्षणले निकुञ्जमा ७ बयस्क बाघ रहेको नतिजा देखाएको थियो । हाल रहेका डेढ दर्जन बाघमध्ये ५ भाले र १० पोथी बाघको पहिचान भइसकेको छ । सामान्यतया एउटा बाघको पाटा अर्कोसँग नमिल्ने भएकाले बाघलाई चिन्न सहज हुन्छ । बयस्क बाहेक थप केही ससाना बच्चा बाघ रहे पनि तीनको संख्या यकिन हुन सकेको छैन ।


निकुञ्जमा बाघको संख्या बढ्नुमा यसको आहारा प्रजातिका जनावरहरूको सख्यां बढदै जानु र बाघ संरक्षणमा गरिएको प्रयासको सकारात्मक परिणाम रहेको महर्जन बताउँछन् । यस बाहेक रामभौरी, भाठा, रमौली, प्रतापपुर जस्ता निकुञ्जभित्र रहेका मानवबस्तीलाई स्थानान्तरण गरिएपछि पनि बाघ लगायतका अन्य वन्यजन्तुको संख्या पनि वृद्धि हुन गएको हो ।


निकुञ्जमा बाघको संख्या वृद्धिसँगै थप चुनौती पनि बढेको उनले बताए । बाघ बढेसँगै तिनको सुरक्षा, निकुञ्जमा मानव प्रवेश नियन्त्रण, बाघको आहारा प्रजातिको वन्यजन्तुको संख्या थप वृद्धि, निकुञ्जमा लाग्ने मेला आदि प्रमुख चुनौती रहेको उनले बताए । पर्सा, बारा र मकवानपुर गरी ६ सय २७ वर्ग किमि क्षेत्रफलमा निकुञ्ज फैलिएको छ । यो निकुञ्ज जंगली हात्तीको बासस्थानका रूपमा प्रसिद्ध छ ।

प्रकाशित : भाद्र ८, २०७६ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?