उखु किसानका समस्या : डेढ अर्ब भुक्तानी बाँकी

ओमप्रकाश ठाकुर

सर्लाही — विष्णु गाउँपालिका १ बाराउधोरणका कृषक अजित सिंहले कृषि पेसाबाटै आएको आम्दानीले १४ जनाको परिवार पालनपोषण गर्नुपर्छ । तर, पछिल्लो समय उनी खेतीबाट पलायन हुने अवस्थामा पुगेका छन् ।

सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ लघुवामा किसानले लगाएको उखु । आवश्यक गोडमेल र मल नहुँदा उखु फस्टाउन सकेको छैन ।  तस्विर : ओमप्रकाश/कान्तिपुर

दुई वर्षदेखि धनकौलस्थित अन्नपूर्ण चिनी उद्योग र गत वर्षको बगदहस्थित महालक्ष्मी चिनी उद्योगमा बिक्री गरेको उखुको भुक्तानी नपाउँदा उनी खेतीबाट पलायन हुने अवस्थामा पुगेका हुन् ।

सिंहले परार साल अन्नपूर्ण चिनी उद्योगमा १ हजार ७ सय क्विन्टल उखु बिक्री गरे । यसको ९ लाख ५० हजार भुक्तानी बाँकी नै छ । गत वर्ष पनि उनले ६ सय क्विन्टल उखु बिक्री गरे । यसको ३ लाख २० हजार गरी १२ लाख ७० हजार भुक्तानी पाउनुपर्ने बाँकी छ ।

अन्नपूर्णले दुई वर्षको भुक्तानी बाँकी राखेपछि उनले गत वर्ष बगदहमा नयाँ स्थापना भएको महालक्ष्मी चिनी उद्योगमा १ हजार ५ सय क्विन्टल उखु बिक्री गरे । तर महालक्ष्मीमा पनि उनको ७ लाख ५० हजार रुपैयाँ बाँकी नै छ ।

दुई वर्षको भुक्तानी नपाउँदा उनलाई घर–व्यवहार चलाउन सकस छ । गत वर्ष छोराले एसईईमा राम्रो अंक ल्याएपछि ११/१२ पढाउन उनले बैंकबाट ऋण लिनु परेको थियो । भएको आम्दानी उद्योगीले राख्ने र खर्च बढदै गएपछि उनको तनाव बढदै गएको थियो । यही तनावका कारण उनी बिरामी परे ।

सिंह एक महिनादेखि काठमाडौंमा उपचाररत छन् । उपचार पनि साहुसँग चर्को व्याजमा ऋण लिएर गराइरहेका छन् । यता आफूले लिएको ऋणको व्याज बढदै जाँदा र उद्योगमा उखु बिक्री गरेको भुक्तानी नपाउँदा उनी छटपटाइरहेका छन् ।

भुक्तानीका लागि पटक–पटक ताकेता गर्दा पनि उद्योगी र सरोकारवाला पक्षले सुनुवाई नगरेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए । ४५ दिनपछि भुक्तानी दिने सहमति जनाएका उद्योगले चार महिनादेखि झुलाइरहेको उनको आरोप छ ।

‘पटक पटक ताकेता गर्दा पनि उद्योगीले हाम्रो कुरा सुनेको छैन, जसका कारण किसान मारमा परेका छन्, उनीहरूलाई घर(व्यवहार धान्नै मुस्किल परेको छ,’ उनले भने । महासंघका अध्यक्ष मैनालीका अनुसार अन्नपूर्ण चिनी उद्योगबाट अहिलेसम्म झन्डै ५२ करोड, महालक्ष्मी चिनी उद्योगबाट ४९ कारोड र इन्दुशंकर चिनी उद्योगबाट करिब ५० करोड रुपैयाँ किसानले भुक्तानी पाउन बाँकी छ । अन्नपूर्णले विगतमा पनि भुक्तानी गर्न आलटाल गर्दै आएको किसानको गुनासो छ ।

नगदे बाली भनिएको उखु काट्ने बेलामा नगदमा बिक्री हुँदैन, उधारोमा चिनी मिललाई बुझाउनु पर्छ । उधारोमा बिक्री गरेको उखुको भुक्तानीका लागि उद्योगीले विभिन्न बहाना बनाई आलटाल गर्दै आएको किसानको आरोप छ । पहिला मूल्य तय नभएको भन्दै उद्योगीले भुक्तानीमा आलटाल गर्थे ।

अहिले चिनी बिक्री नभएको बहाना बनाउँदै भुक्तानीमा किचलो गरेको किसानको गुनासो छ । सिंहले दुखेसो पोख्दै फोनमा भने, ‘उद्योगले बहाना बनाई आलटाल गर्दै गर्दा हाम्रो बिचल्ली भएको छ । सिंहले उखु खेतीबाट म लगायत यस क्षेत्रका किसान पलायन हुने अवस्थामा पुग्दा समेत सरकार मूकदर्शक बनेको आरोप लगाए ।

सिंह जस्तै यहाँका अधिकांश किसानको अवस्था उस्तै छ । किसानहरू परिश्रमको मूल्य पर्खिंदा पर्खिंदै ऋणको बोझमा डुब्दै गएका छन् । चाडवाड सुरु हुन लाग्दा पनि उद्योगबाट भुक्तानी नपाउँदा खर्च जुटाउन धौ(धौ परेको किसानको दुखेसो छ । भुक्तानीका लागि उद्योगमा तालाबन्दी, अनशन र जिल्ला प्रशासनमा ज्ञापनपत्र पनि बुझाइसकें तर कतै पनि सुनुवाइ नभएको धनगढाका किसान लक्ष्मण रायले गुनासो गरे ।

‘चाडपर्वमा खर्च जुटाउन र घरव्यवहार धान्न मुस्किल परेको छ, खेती गर्दा लागेको ऋण अझै बाँकी नै छ,’ उनले भने, ‘फाइदाका लागि उखु खेती गरेको पीडा मात्र थपियो ।’ उनले रकम अभावकै कारण यस वर्ष गोडमेल र मल हाल्न नपाएका कारण उखु फस्टाउन नसकेको बताए ।

चिनी उद्योगी र किसान प्रतिनिधिबीच गत वर्षको उद्योग सञ्चालन अघि गत पुस अन्तिम साता बर्दिवासमा भएको वार्तामा उखु खरिद गरेको ४५ दिनभित्र भुक्तानी दिने सहमति भएको थियो । तर, उखु क्रसिङ सकेर उद्योग बन्द भएको चार महिना बित्दा समेत किसानले भुक्तानी नपाएको भन्दै किसान नेता असन्तुष्ट भएका छन् ।

उद्योग सञ्चालनका बेला किसानसँग भएको सहमति उद्योगीले एकपक्षीय रूपमा उल्लंघन गरेको नेपाल उखु उत्पादक किसान संघका अध्यक्ष राजकुमार उप्रेतीको आरोप छ । उनले चिनी मिल सञ्चालकले विभिन्न समस्या खडा गरेर भुक्तानी आलटाल गर्न खोजेको गुनासो गरे ।

गत वर्ष भदौ २२ गते बालुवाटारमा भएको छलफलमा उपस्थित भएका चिनी उद्योगीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले १५ दिनभित्र किसानलाई उखुको भुक्तानी दिन निर्देशन दिएका थिए । यस्तै गत असोज २२ गते उद्योग तथा आपूर्ति मन्त्री मात्रिका यादवको संयोजकत्वमा बसेको बैठकले ५ दिनभित्र उद्योगले उखुको भुक्तानी दिने निर्देशन दिँदै नदिए कारबाहीका लगि अनुरोध गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्रीले तथा मन्त्रीले दिएको निर्देशन १ वर्ष बित्दा समेत उद्योगीले टेरेका छैनन् । उद्योग मन्त्री पछिल्लो तीन महिनामा दुई पटक जिल्लामा आएर किसानलाई अश्वासन मात्र बाँडे । उनले उद्योगीलाई कारबाही गर्ने धम्कीसँगै भुक्तानी नदिए आफैंले आन्दोलन थाल्ने चेतावनी दिँदा समेत किसानले भुक्तानी पाउन सकेका छैनन् ।

सिंचाइ सुविधा नभएका कारण किसानसँग उखु खेतीको विकल्प छैन । उखुको भुक्तानीका लागि बर्सेनि आन्दोलन गर्नुपर्ने किसानको बाध्यता छ । ३ वटा चिनी उद्योग रहेको सर्लाही मुलुकमै सबभन्दा बढी उखु खेती हुने जिल्ला हो । यहाँ यस वर्ष २४ हजार हेक्टर क्षेत्रफलमा उखु खेती भएको छ ।

प्रकाशित : भाद्र ६, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्

बिरामीलाई बेञ्चमै उपचार

सुनिता बराल

बर्दिवास, महोत्तरी — गर्मीमा सर्पदंशका बिरामी बढेपछि महोत्तरीको बर्दिवास ३ स्थित सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटर नहुँदा उपचारमा समस्या भएको छ ।

सर्पदंशका बिरामी बढेपछि बेडको अभावमा बिरामीलाई बेन्चमा राखेर उपचार गरिँदै । तस्बिर : सुनिता/कान्तिपुर

वर्षा र गर्मीको समय भएकाले उपचार केन्द्रमा विषालु सर्पले टोकेका बिरामीको चाप बढेको केन्द्रले जनाएको छ ।
एक बिरामीको उपचारमा २१ भाइलसम्म एन्टी स्नेक भेनम सिरम प्रयोग हुने गरेको भए पनि अहिले गर्मीमा बाहिर निस्किएका विषालु सर्पले टोकेका बिरामीलाई २५ भाइलसम्म औषधि प्रयोग गर्दा पनि बिरामी ठिक हुन नसकेको उपचारमा संलग्न प्राविधिक सन्त नारायण श्रेष्ठले बताए ।

विषालु करेत सर्पले टोकाइबाट केन्द्रमा उपचाररत गौशाला नगरपालिका ४ कि २० वर्षीया पूजा कुमारी विनलाई २५ भाइलसम्म एन्टी स्नेक भेनम सिरमले समेत काम नगरिरहेको श्रेष्ठले बताए ।

विषालु सर्पको टोकाइबाट विष पनि विस्तारै लाग्ने र उपचार पनि ढिलो हुने भएकाले त्यस्ता बिरामीलाई भेन्टिलेटरको अति आवश्यकता पर्ने गरेको प्राविधिक टोलिले जनाएको छ । नेपाली सेनाको रणभीम गण अन्तर्गत सुरक्षा वेश क्याम्प गौरीडाँडामा दरबन्दी रहेका ५ जना नेपाली सेना (प्राविधिक टोली) २४ सै घण्टा सर्पदंश उपचार केन्द्रमा विबरामीको उपचारमा खटिने गरेका छन् ।

७ वटा बेड भएको उपचार केन्द्रमा अहिले दैनिक १७ जनासम्म बिरामी आउने गरेका छन् । बिरामीलाई सुताउने बेडको समेत अभाव भएपछि बेन्चमा राखेर समेत केन्द्रले बिरामीको उपचार गरेको छ । सर्पदंश उपचार केन्द्र बर्दिवासमा महोत्तरी जिल्लाबाट मात्रै नभई सर्लाहि, धनुषा, सिन्धुली, रामेछाप लगायत तराईका अन्य जिल्लाबाट पनि बिरामी आउने गरेको केन्द्रले जनाएको छ ।

उपचार केन्द्रमा भेन्टिलेटरको अभाव हुँदा अति सिकिस्त बिरामीलाई काठमाडौं, विराटनगर लगायत टाढा–टाढा पठाउनु परेको र अन्यत्र जान पर्ने भएपछि बिरामीको बाटैमा मृत्यु पनि हुने गरेको सर्पदंश उपचार केन्द्र बर्दिवासका अध्यक्ष कृष्ण गौतमले बताए ।

‘हामीसँग अहिले केन्द्रमा भेन्टिलेटर अति आवश्यक छ,’ गौतमले भने, ‘भौतिक संरचना र बेडहरूकै पनि अभाव भएका छन् । हामी बिरामीको ज्यान बचाउन भुँई र बेन्चमा राखेर पनि उपचार गरिरहेका छौं, तर भेन्टिलेटरको अभावमा बिरामीको उपचारमा निकै समस्या हुने गरेको छ ।’

भेन्टिलेटर, आईसीयु बेड, बिरामीका लागि पर्याप्त बेड र बिरामी कुरुवा बस्ने ठाउँको समेत अभाव भएकाले केन्द्रले आवश्यकता परिपूर्तिका लागि सम्बन्धित ठाउँमा निवेदन दिएर पहल गरिरहेको गौतमले बताए ।

पछिल्ला ५ वर्षको तुलनामा गत वर्ष ०७५/७६ मा सर्पदंश उपचार केन्द्र बर्दिवासमा बिरामीको सङ्ख्या सबैभन्दा बढी देखिएको छ । गत वर्षमा झन्डै साढे ३ सय सर्पदंशका बिरामीले उपचार केन्द्रबाट उपचार लिएका छन् ।

प्रकाशित : भाद्र ६, २०७६ ०९:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्