कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बिरामीलाई बेञ्चमै उपचार

सुनिता बराल

बर्दिवास, महोत्तरी — गर्मीमा सर्पदंशका बिरामी बढेपछि महोत्तरीको बर्दिवास ३ स्थित सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटर नहुँदा उपचारमा समस्या भएको छ ।

बिरामीलाई बेञ्चमै उपचार

वर्षा र गर्मीको समय भएकाले उपचार केन्द्रमा विषालु सर्पले टोकेका बिरामीको चाप बढेको केन्द्रले जनाएको छ ।

एक बिरामीको उपचारमा २१ भाइलसम्म एन्टी स्नेक भेनम सिरम प्रयोग हुने गरेको भए पनि अहिले गर्मीमा बाहिर निस्किएका विषालु सर्पले टोकेका बिरामीलाई २५ भाइलसम्म औषधि प्रयोग गर्दा पनि बिरामी ठिक हुन नसकेको उपचारमा संलग्न प्राविधिक सन्त नारायण श्रेष्ठले बताए ।


विषालु करेत सर्पले टोकाइबाट केन्द्रमा उपचाररत गौशाला नगरपालिका ४ कि २० वर्षीया पूजा कुमारी विनलाई २५ भाइलसम्म एन्टी स्नेक भेनम सिरमले समेत काम नगरिरहेको श्रेष्ठले बताए ।


विषालु सर्पको टोकाइबाट विष पनि विस्तारै लाग्ने र उपचार पनि ढिलो हुने भएकाले त्यस्ता बिरामीलाई भेन्टिलेटरको अति आवश्यकता पर्ने गरेको प्राविधिक टोलिले जनाएको छ । नेपाली सेनाको रणभीम गण अन्तर्गत सुरक्षा वेश क्याम्प गौरीडाँडामा दरबन्दी रहेका ५ जना नेपाली सेना (प्राविधिक टोली) २४ सै घण्टा सर्पदंश उपचार केन्द्रमा विबरामीको उपचारमा खटिने गरेका छन् ।


७ वटा बेड भएको उपचार केन्द्रमा अहिले दैनिक १७ जनासम्म बिरामी आउने गरेका छन् । बिरामीलाई सुताउने बेडको समेत अभाव भएपछि बेन्चमा राखेर समेत केन्द्रले बिरामीको उपचार गरेको छ । सर्पदंश उपचार केन्द्र बर्दिवासमा महोत्तरी जिल्लाबाट मात्रै नभई सर्लाहि, धनुषा, सिन्धुली, रामेछाप लगायत तराईका अन्य जिल्लाबाट पनि बिरामी आउने गरेको केन्द्रले जनाएको छ ।


उपचार केन्द्रमा भेन्टिलेटरको अभाव हुँदा अति सिकिस्त बिरामीलाई काठमाडौं, विराटनगर लगायत टाढा–टाढा पठाउनु परेको र अन्यत्र जान पर्ने भएपछि बिरामीको बाटैमा मृत्यु पनि हुने गरेको सर्पदंश उपचार केन्द्र बर्दिवासका अध्यक्ष कृष्ण गौतमले बताए ।


‘हामीसँग अहिले केन्द्रमा भेन्टिलेटर अति आवश्यक छ,’ गौतमले भने, ‘भौतिक संरचना र बेडहरूकै पनि अभाव भएका छन् । हामी बिरामीको ज्यान बचाउन भुँई र बेन्चमा राखेर पनि उपचार गरिरहेका छौं, तर भेन्टिलेटरको अभावमा बिरामीको उपचारमा निकै समस्या हुने गरेको छ ।’


भेन्टिलेटर, आईसीयु बेड, बिरामीका लागि पर्याप्त बेड र बिरामी कुरुवा बस्ने ठाउँको समेत अभाव भएकाले केन्द्रले आवश्यकता परिपूर्तिका लागि सम्बन्धित ठाउँमा निवेदन दिएर पहल गरिरहेको गौतमले बताए ।


पछिल्ला ५ वर्षको तुलनामा गत वर्ष ०७५/७६ मा सर्पदंश उपचार केन्द्र बर्दिवासमा बिरामीको सङ्ख्या सबैभन्दा बढी देखिएको छ । गत वर्षमा झन्डै साढे ३ सय सर्पदंशका बिरामीले उपचार केन्द्रबाट उपचार लिएका छन् ।

प्रकाशित : भाद्र ६, २०७६ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?