कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

हात्ती धपाउन हवाइफायर

शंकर आचार्य

पर्सा — पथलैया–अमलेखगन्ज सडक खण्डमा हात्तीको बथान धपाउन मंगलबार राति नेपाली सेनाले करिब ५० राउन्ड हवाइफायर गरेको छ । हात्तीको बथानले हेटौंडाबाट पथलैया आउँदै गरेको मालवाहक ट्रकलाई पल्टाउन खोजेपछि सेनाले हवाई फायर गरेर धपाएको हो ।

पर्सा निकुञ्जबाट निस्केको हात्तीको बथान निकुञ्जको आधाभारस्थित कार्यालयबाट करिब १ किमि उत्तरको सडक पुग्दा ट्रक पनि त्यहीँ पुगेको थियो । चालकले ट्रक रोकेपछि हात्तीको बथानले आक्रमण गरेको थियो ।


ट्रकमा रहेको चामल खान खोजेपछि सिद्धिबक्स गणबाट खटिएका सेनाका जवानले हवाई फायर खोलेका थिए । ट्रकमा चालक र सहचालक समेत सवार रहेको र उनीहरूको ज्यानमा क्षति पुग्न सक्ने भएकाले हात्तीलाई धपाउन हवाई फायर गरिएको निकुञ्जका सूचना अधिकृत अशोक रामले बताए ।


राति ८ देखि १० बजेसम्म करिब २७ वटाको संख्यामा रहेका हात्तीको झुण्ड राजमार्ग पार गरेर निकुन्जको पूर्वीभेगतर्फ जाने प्रयासमा थियो । त्यस क्रममा राजमार्ग करिब २ घन्टा अवरुद्ध भएको थियो । राजमार्गमा दक्षिण र उत्तरतर्फ झन्डै २ सय मालबाहक तथा यात्रुबाहक सवारीसाधन रोकिएका थिए ।


हात्ती धपाउने क्रममा सेनाका एक जवान घाइते भए । हवाई फायरपछि हात्तीको बथान पुन: राजमार्गको पश्चिमतर्फ फर्किएको रामले बताए । उक्त समूह हाल निकुञ्जको आधारभारस्थित कार्यालयभन्दा करिब ४ किमि उत्तर हात्तीडण्डी भन्ने स्थानबाट करिब २ किमि पश्चिममा रहेको रामले बताए ।


हात्तीको एउटा समूह आइतबार राति नै राजमार्ग पार गरेर पूर्वतर्फ लागेको उनले बताए । यो समूह हाल राजमार्गबाट करिब १८ किमि पूर्व हल्खोरिया दह क्षेत्रमा छ । मंगलबार रातिको हात्तीको बथानबाट एउटा हात्ती छुट्टिएर निकुन्जको अमलेखगन्जस्थित हात्तीसार क्षेत्रमा बसेको रामले बताए ।


उता, सर्लाहीमा करिब ६ महिनादेखि आंतक मच्चाइरहेको २ वटा हात्ती त्यहाँबाट पश्चिमतर्फ बारास्थित निकुन्जको हल्खोरिया दह क्षेत्रमा पुगेको छ । वाग्मती, सन्तपुर, जंगलसैया सामुदायिक वन, टांगियाबस्ती हुँदै ती हात्ती हल्खोरिया दह क्षेत्रमा पुगेको रामले बताए ।


यस वर्ष निकुन्जका हात्तीले ढिलो गरी राजमार्ग पूर्व जाने प्रयास गरेको हो । सामान्यतया निकुन्जका रैथाने हात्तीको समूहले असारको पहिलो साता त्रिभुवन राजपथ छिचोलेर पूर्व रौतहट हुँदै सर्लाहीसम्मको यात्रा गर्थे । यस वर्ष मोतिहारी–रक्सौल–अमलेखगन्ज तेल पाइप लाइनको निर्माण कार्यका लागि हात्तीकै परम्परागत पदमार्गमा रुख काटिनुका साथै पाइप लाइन पनि ओछ्याइएको छ ।


यसका साथै राजपथभन्दा करिब २० किमि पूर्व निजगढ काठमाडौं द्रुत मार्गको निर्माण पनि जारी रहेको छ । यसरी हात्तीको परम्परागत मार्गमा एकै साथ २ वटा अवरोध भएकाले उनीहरूले यस वर्ष यात्रा नगरेको हुन सक्ने अनुमान गरिएको थियो ।


हात्तीको समूहले बर्सेनि निकुन्जको आधाभार कार्यालय नजिक करिब डेढ किमि उत्तर तथा हात्तीडण्डी भन्ने स्थानबाट राजपथ छिचोल्ने गरेको छ । हात्तीडण्डी निकुन्ज कार्यालयबाट करिब ४ किमि उत्तरमा रहेको छ । हात्तीले आवागमनका लागि बर्सेनि एउटै रुट प्रयोग गर्छ ।

प्रकाशित : भाद्र ५, २०७६ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?