कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

ड्युटीमा ट्राफिक प्रहरी निस्फिक्री

शिव पुरी

(रौतहट) — गौर–चन्द्रनिगाहपुर सडक खण्डमा ट्राफिक प्रहरी खटिए पनि आफ्नै काममा व्यस्त हुन्छन् । मोबाइल चलाउँदै त कोही गफिँदै गरेको देखिन्छ । सवारी नियम उल्लंघन हुँदा उनीहरू नदेखें झैं गर्छन् । 

ड्युटीमा ट्राफिक प्रहरी निस्फिक्री

चन्द्रनिगाहपुर चोकबाट दक्षिणतिर अधिकाशले हेलमेट नलगाई र तीनजना चढेर मोटरसाइकल चलाउँदा पनि ट्राफिक प्रहरी कारबाही गर्दैनन् । ट्राफिक ऐनविपरीत ३ जना चढाउने, हेलमेट नलगाउने र लाइसेन्सबिना चलाउनेको रौतहटमा बढी छन् । ड्युटीमा बसेका ट्राफिक मूकदर्शक बन्छन् । दुर्घटना न्यूनीकरण र आफ्नै सुरक्षाका लागी मोटरसाइकल चालकले हेलमेट लगाउनुपर्ने लगायत ट्राफिक नियमबारे सहर, बजार, विद्यालयमा जिल्ला ट्राफिक कार्यालय चन्द्रनिगाहपुरले जनचेतनामूलक कार्यक्रम गर्छन् । तर पनि यस क्षेत्रमा ट्राफिक प्रहरीको उपस्थिति नभएको जस्तै भान हुन्छ । मुख्य बजार र सडकमै बिनाहेलमेट मोटरसाइकल चलाउने भेट्टिन्छन् । उनीहरू निर्वाध रूपमा ट्राफिकको अघिबाट जान्छन् । रोक्ने प्रयाससमेत गर्दैनन् ट्राफिक । गरुडा इलाकामा सबैभन्दा बढी नियम उल्लंघन गर्ने देखिएको छ ।


गरुडाका ट्राफिक दिनहुँ हरसाह चोकनजिक सबारी रोकेर जरिवाना काट्न ब्यस्त हुन्छन् । बजार क्षेत्र लथालिङ पारेर जरिवाना काट्न लागिपरेको भन्दै उनीहरूको चर्को आलोचना हुने गरेको छ । ट्राफिक व्यवस्थापन छाडेर सवारी रोक्दै जरिवाना काट्न लागिपरेको स्थानिय अमर श्रेष्ठले बताए । ‘गौर सडकमा अधिकांशले हेलमेट लगाउँदैनन्, सडकमै पार्किङ गर्छन्,’ उनले भने, ‘ड्युटीमा ट्राफिक बसे पनि बेवास्ता गर्छन् । रोकेर सचेतसमेत गराउँदैनन् ।’ यहाँको गरुडा, शिवनगर, सन्तपुर, डुमरीया, हर्साह, बिर्ता, शिवनगर, शुकदेव क्षेत्रमा ट्राफिक नियम मिचेर मोटरसाइकल चलाउँछन् । बजारको चोक–चोकमा ट्राफिक प्रहरी ड्युटीमा बसे पनि रोकछेक गर्दैनन् । उनीहरू नदेखे झैं गर्छन् । यहाँका ट्राफिक प्रमुख एसपी योगबहादुर पालले जिल्ला ट्राफिक रौतहटमा इन्चार्ज नभएकाले समस्या बढेको बताए । ‘केही समयपछि इन्चार्ज आउँछन् । अनि समस्या नहोला,’ उनले भने, ‘हामीले के गर्दा हुन्छ के गर्दा हुँदैन भन्ने चेतनाको ख्याल नगरेकाले नियम उल्लंघन गर्नेको संख्या बढेको हो । यसलाई सुधार्छौं ।’


जिल्ला ट्राफिकले हेलमेट नलगाउनेसँग ५ सयदेखि १ हजार ५ सयसम्म जरिवाना र चालक अनुमति पत्र नभएकालाई १ हजारदेखि १ हजार ५ सयसम्म जरिवाना लिने गरेको जनायो । मोटरसाइकलमा ४ जनासम्म यात्रा गर्ने, सवारी चालक अनुमति पत्र नभएका र उमेर नै नपुगेकाले तीव्र गतिमा मोटरसाइकल चलाउनेको संख्या बढेको पाइएको छ ।


दुर्घटना बढ्यो

जिल्ला ट्राफिका अनुसार साउन यता एक वर्षको अवधिमा विभिन्न स्थानमा भएका सवारी दुर्घटनामध्ये मोटरसाइकल बढी भएको पाइएको छ । यस अवधिमा १ सय १६ सवारी दुर्घटना भए । तीमध्ये ७५ भन्दा बढी मोटरसाइकल दुर्घटना भएको ट्राफिकको तथ्यांक छ । दुर्घटनामा ५५ को मृत्यु भएको थियो । गएको साउनमा मात्र २० सवारी दुर्घटना भएकोमा १७ मोटरसाइकल परेका छन् । चन्द्रनिगाहपुर, गौर, गरुडालगायतका बजारमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ ।


नियम विपरीत सवारी चलाउने बढेका छन् । नियमन गर्ने निकाय निष्क्रिय जस्तै देखिएको स्थानीय विनोद घिमिरेले बताए । ‘मुख्य राजमार्गमा सवारी व्यवस्थापन लथालिंग छ,’ उनले भने, ‘ट्राफिक प्रहरीको सक्रियता आवश्यक देखिएको छ ।’


प्रकाशित : भाद्र ४, २०७६ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?