कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

यातायात सेवा कार्यालय : सेवाग्राहीलाई सधैं सास्ती

महोत्तरी — बर्दिवासस्थित यातायात व्यवस्था सेवा कार्यालयको सर्भरले काम नगर्दा सेवाग्राहीले सधैं सास्ती भोग्नु परेको छ । सर्भर नचलेकै कारण सेवाग्राही र कर्मचारीबीच दिनहुँ विवाद र भनाभन हुने गर्छ । 

यातायात सेवा कार्यालय : सेवाग्राहीलाई सधैं सास्ती

सवारी लाइसेन्स फारम दर्ताका लागि पुगेका सिन्धुली लदाभीर–३ का प्रेमवहाद्रु भट्टराई र सर्लाही कौडेना–७ का सद्दाम हुसैन छटपटीमा थिए । लाइनमा अगाडि बसे छिटै काम हुने आसमा बिहान साढे ९ बजेतिरै सेवा कार्यालय पुगेका उनीहरू अपराह्न २ बजिसक्दा पनि फाराम दर्ता नभएपछि आक्रोशित बने ।


फारम दर्ताका लागि कार्यालय परिसरमा प्रतीक्षारत सयभन्दा बढी सेवाग्राही भट्टराई र हुसेनकै अवस्थामा देखिन्थे । सवारी लाइसेन्स नवीकरणका लागि सोही सेवा कार्यालय पुगेका गौशाला–९ भरतपुरका सुनिल प्रधानको समस्या पनि उस्तै थियो । यस्तो अवस्थामा सेवाग्राहीलाई मानवीय समस्यासमेत पर्ने गरेको उनले गुनासो पोखे ।


‘पर्खौं कतिन्जेल पर्खने जाऔं भने लगत्तै सर्वर चलिदियो भने पालोमा फेरि पछि परिने,’ उनले समस्या सुनाए, ‘यो दुविधाले हामी सेवाग्राहीलाई भोक तिर्खा, शौचालयजस्ता समस्या सहन बाध्य पारेको छ ।’ सेवाग्राहीको छटपटीको कारण अर्को पनि थियो – त्यस दिन साउन २९ गते परेको । सोही दिन काम नभए निवेदन दर्ता कहिले हुने हो अनिश्चित थियो ।


भोलिपल्ट जनैपूर्णिमाको बिदा पर्सिपल्ट शुक्रबार फेरि शनिबार परेकाले निवेदन दर्ताकै लागि कहिलेसम्म धाउनुपर्ने हो सेवाग्राही अन्योलमा थिए । सेवा कार्यालयले अपराह्न ३ बजे सूचना टाँस्यो । ‘सिस्टमले काम नगरेका कारण भदौ ५ सम्मका लागि सवारी फारम दर्ता स्थगित गरिएको छ,’ सूचनामा उल्लेख गरिएको छ ।


कार्यालय प्रमुख शशी यादवका अनुसार यातायात व्यवस्था विभागको ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स सिस्टम’ मा खराबी आउँदा सेवा प्रवाहमा समस्या देखिएको हो । सिस्टम (सर्वर) फेल भएपछि सवारी अनुमति पत्रको बायोमेट्रिक दर्ता, सवारी चालक अनुमतिपत्र नवीकरण जस्ता काम रोकिने हुँदा सेवाग्राहीमा असन्तुष्टि बढेको उनले जनाए । विभागको सर्वरले सबै दिन एकनासले काम नगर्ने अन्य कर्मचारीको गुनासो छ । कहिले दिनभर नै काम गर्दैन भने कहिले केहीबेर पछि काम गर्न थाल्छ ।

प्रकाशित : भाद्र ३, २०७६ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?