१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

राजस्व लक्ष्य धकेलिँदै

पर्सा — आर्थिक वर्षको पहिलो महिनामा वीरगन्जका २ भन्सार कार्यालयमध्ये एकले मासिक राजस्व असुली लक्ष्य पूरा गरेको छ भने अर्कोले गर्न सकेन । 

सिर्सिया सुक्खा बन्दरगाह भन्सारले लक्ष्य भेट्टाएको हो । वीरगन्ज–आईसीपी भन्सार भने यसमा असफल भएको छ । बन्दरगाह भन्सारले साउन महिनामा ३ अर्ब ३६ करोड १२ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएकोमा ३ अर्ब ३७ करोड ३२ लाख २८ हजार संकलन गरेको छ । यो लक्ष्यको १००.३६ प्रतिशत हो ।


भन्सार कार्यालयका सूचना अधिकृत विकास साहका अनुसार फलाम, मरिच, मदिरा, इनर्जी जुस आदि वस्तुको नियमित आयातबाटै लक्षित राजस्व असुली गर्न सफलता मिलेको हो । चालु आवका लागि यो भन्सारले ४६ अर्ब ८८ करोड राजस्व संकलनको लक्ष्य पाएको छ । आर्थिक वर्षको पहिलो महिनामै लक्षित राजस्व असुली भएपछि अन्य महिनामा पनि त्यसको सकारात्मक प्रभाव पर्ने साह बताउँछन् ।


यता, वीरगन्ज भन्सार कार्यालय आर्थिक वर्षको पहिलो महिनामा लक्ष्यभन्दा करिब ३० प्रतिशत पछाडि रहयो । साउन महिनाका लागि १५ अर्ब १३ करोड ८७ लाख ३५ हजार राजस्व असुलीको लक्ष्य पाएको यो भन्सारले १० अर्ब ९५ करोड ४ लाख ४ हजार रुपैयाँ मात्र असुली गर्न सक्यो । जुन लक्ष्यको ७२.३३ प्रतिशत मात्र हो ।


वीरगन्ज भन्सार कार्यालयका प्रमुख गोपाल खत्री साउन महिनामा लक्ष्य बढी हुनु, यसै महिनामा बाढीलगायतका कारणले आयात निर्यातमा केही अवरोधसमेत भएका कारण मासिक राजस्व असुली लक्ष्य भेट्टाउन गाह्रो भएको बताउँछन् ।


चालु आर्थिक वर्षका लागि वीरगन्ज भन्सारले १ खर्ब ८८ अर्ब ६२ करोड ४९ लाख ९४ हजार रुपैयाँ राजस्व असुली लक्ष्य पाएको छ । यो लक्ष्य कार्यालयका लागि हालसम्मकै सर्वाधिक हो । राजस्व असुलीको दृष्टिले वीरगन्ज भन्सार मुलुककै एक नम्बर भन्सार हो । नयाँ सवारी साधन, इन्धन, औद्योगिक कच्चा पदार्थ तथा विभिन्न दैनिक उपभोग्य सामग्री यो नाकाबाट सर्वाधिक आयात हुने गर्दछन् । बढी राजस्व संकलन गर्ने भएकाले भन्सार विभागले पनि यो भन्सारको राजस्व असुली लक्ष्यमा बर्सेनि ठूलो वृद्धि गर्दै आएको छ ।


मदिराले राजस्व प्रभावित

एउटै मदिराको उत्पादन अरू ठाउँबाट हुँदा त्यसको असर आन्तरिक राजस्व कार्यालय वीरगन्जको असुलीमा परेको छ । गत आवका लागि यो कार्यालयले पाएको राजस्व असुली लक्ष्य भेट्टाउन मदिराकै कारण सकेन ।


कार्यालयका प्रमुख गोपिकृष्ण कोइरालाका अनुसार वीरगन्जस्थित हिमालयन डिष्टिलरीले आफ्नो चर्चित ब्रान्ड गोल्डेन ओकको उत्पादन चितवन जिल्लाबाट समेत गर्न थालेपछि त्यसको प्रभाव राजस्वमै परेको हो । राजधानीका लागि उसले गत आवदेखि चितवनस्थित रोलिङ रिभर्स उद्योगबाट गोल्डेन ओक ब्रान्डका मदिरा उत्पादन गर्न थालेको हो । जसले गर्दा आन्तरिक राजस्व कार्यालय चितवनको राजस्व वृद्धि हुन गई वीरगन्जको राजस्व असुली घट्न पुगेको हो ।


गोल्डेन ओककै कारण चितवनको राजस्वमा अन्तःशुल्कबाट ९४ करोड रुपैयाँ वृद्धि हुन पुग्यो । यतिको राजस्व वीरगन्जमै आएको भए गत आवका लागि वीरगन्जले पाएको लक्ष्यभन्दा ४ प्रतिशत बढी राजस्व संकलन गर्ने थियो । यस्तो अवस्थामा विभागले वीरगन्जको राजस्व असुली लक्ष्य नघटाएको र चितवनको नबढाएकाले पनि समस्या भएको हो ।


गोल्डेन ओक २ वर्षयता मदिरा पारखीले रुचाएको ब्रान्ड हो । गत आवका लागि कार्यालयले ८ अर्ब ४५ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएकोमा ७ अर्ब ७४ करोड रुपैयाँ मात्र संकलन गर्न सक्यो । जुन लक्ष्यको ९१ दशमलव ५७ प्रतिशत हो ।


संकलित राजस्वमा आयकरतर्फ मात्र लक्ष्य भेट्टाएको कार्यालयले अन्तःशुल्क र मूल्य अभिवृद्धि करतर्फ लक्ष्य भेट्टाउन सकेन । गत आवमा अन्तःशुल्कतर्फ ५ अर्ब ६० करोड रुपैयाँ असुलीको लक्ष्य रहेकोमा ८७.३८ प्रतिशत मात्र अर्थात् ४ अर्ब ८९ करोड रुपैयाँ असुल गर्न सक्यो । आयकरतर्फ १ अर्ब ५० करोड असुलीको लक्ष्य रहेकोमा १ अर्ब ५७ करोड असुल गर्‍यो । जुन लक्ष्यभन्दा ५ प्रतिशत बढी हो ।


मूल्य अभिवृद्धि करतर्फ १ अर्ब ३१ करोड राजस्व संकलनको लक्ष्य रहेकोमा १ अर्ब २० करोड असुली भयो । जुन लक्ष्यको ९२ प्रतिशत हो ।


जिल्लामा अन्तःशुल्कमा योगदान गर्ने मदिरा उत्पादन कम्पनी हिमालयन डिष्टिलरी र उसकै भगिनी उद्योग एसियन डिष्टिलरी मात्र हुन् । यिनका उत्पादन कुनै कारणले प्रभावित हुँदा त्यसले कार्यालयको राजस्व असुलीमै प्रभाव पार्ने कोइराला बताउँछन् । एसियन डिष्टिलरीका मजदुर करिब एक महिनादेखि आन्दोलनमा छन् ।

प्रकाशित : भाद्र ३, २०७६ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?