साइफन मर्मत नहुँदा रोपाइँ भएन

७ वर्षदेखि पटक–पटक आयोजनालाई साइफन र नहर मर्मत गर्न आग्रह गर्दा पनि सुनुवाइ नभएको किसानको गुनासो 
ओमप्रकाश ठाकुर

सर्लाही — हरिपुर नगरपालिका–४ फरहदवाका चन्देश्वर ठाकुरको खेत सिञ्चित क्षेत्रमा पर्छ । उनले बर्सेनि धान रोप्न भने आकाशे पानीको भर पर्नुपर्छ । उनको खेत छेउमै नहर छ । नहरमा पानी नआएको ७ वर्षभन्दा बढी भइसक्यो । बर्सेनि आकाशे पानीको भरमा धान रोप्दै आएका ठाकुरले यस वर्ष भने पर्याप्त पानी नपर्दा धान रोप्नै पाएनन् । 

साइफन मर्मत नहुँदा रोपाइँ भएन

सिँचाइ अभावका कारण उनले यस वर्षको धान रोपाइँ गर्न नपाएका हुन् । बीउ तयार भएर छिप्पिइसक्दासमेत उनले खेतमा धान रोप्न पाएनन् । असार अन्तिम साता ठूलो पानी परेका बेला यस क्षेत्रका किसानको बीउ नै तयार थिएन । बीउ तयार भएपछि भने खेतमा पानी नै नभएका कारण रोपाइँ प्रभावित बनेको हो ।


वाग्मती सिँचाइ आयोजनाले हरिपुर नगरपालिका–५ लक्ष्मीपुरस्थित शाखा नहरमा बनाएको साइफन जीर्ण भएर भत्केको ७ वर्षभन्दा बढी भइसक्दा पनि मर्मतमा ध्यान नदिँदा किसानको बिजोग छ । साइफन मर्मत हुन नसक्दा यस क्षेत्रका सयौं किसान सिँचाइ सुविधाबाट वञ्चित भएका छन् ।


ठाकुरले खेतमा सिँचाइ अभाव भएकाले रोपाइँ गर्न नसकेको बताए । उनले आयोजनाको लापरबाहीका कारण आफूहरूको खेत यस वर्ष बाँझै रहने सम्भावना बढेको गुनासो गरे । मुलुक कृषि प्रधान देश भए पनि किसानले सेवा सुविधा पाउन नसकेको ठाकुरको भनाइ छ । भएको सिँचाइ सुविधा पनि मर्मत अभावले रोकिँदा खेतको उत्पादन बढाउन नसकेको किसानको दुःखेसो छ ।


सिँचाइ सुविधा पाएका बेला यहाँका किसानले बर्सेनि तीन बाली लगाएर मनग्ये आम्दानी गर्थे । तर अहिले उनीहरू आकाशे पानीको भरमा परिरहेका छन् । ‘सिँचाइ भएका बेला वर्षभरिमा तीन बाली लगाउँथे, आम्दानी पनि राम्रो भएको थियो, राम्रो आम्दानीले परिवार चलाउनसमेत सजिलो बनेको थियो,’ उनले भने, ‘आयोजनाले साइफन मर्मत नगरिदिँदा अहिले वर्षाको भरमा खेती गरिरहेका छौं, यस वर्ष त रोपाइँ नै हुन सकेन ।’ उत्पादन नहुँदा आम्दानीसमेत घट्ने भएकाले उनलाई परिवार पाल्नकै चिन्ता भइरहेको छ ।


आयोजनाको पानी यस क्षेत्रका किसानको खेतमा आउन नसक्दा उनीहरू आकाशे पानीको भरमा खेती गर्न बाध्य छन् । कतिपय किसानले भाडामा पम्पसेट चलाएर धान रोपाइँ गरेका छन् । यसरी पानी खरिद गरेर धान रोपाइँ गर्दा प्रतिकट्ठा पाँच सयसम्म खर्चिनुपरेको स्थानीय किसान विन्देश्वर महतोले बताए ।


२०५५ सालमा खेतछेउमै नहर आउँदा स्थानीय किसान निकै खुसी भएका थिए । तर नहर आएको १३ वर्ष बित्न नपाउँदै नहरमा बनेको साइफन जीर्ण भएर भत्किँदा उनीहरू अहिले निराश बनेका छन् । खेतमा सिँचाइ सुविधा नपुग्दा बाली लगाउन र सपार्न निकै कठिनाइ परिरहेको किसानले सुनाए ।


‘बीस वर्षअघि हामीले वाग्मती सिँचाइ आयोजनाबाट सिँचाइ सुविधा पाएर निकै खुसी भएका थियौं, सिँचाइले हाम्रो खेतको उत्पादनसमेत बढाएको थियो,’ महतोले भने, ‘आयोजनाको लापरबाहीका कारण साइफन मर्मत हुन नसक्दा हामीले पानी खरिद गरेर रोपाइँ गरेका छौं, पानी खरिद गरेर रोपाइँ गर्दा लागत बढेको छ ।’ ७ वर्षदेखि पटक पटक आयोजनालाई साइफन र नहर मर्मत गर्न आग्रह गर्दा पनि सुनुवाइ नभएको किसानको गुनासो छ ।


उनीहरूले वाग्मती सिँचाइ कार्यालयमा साइफन मर्मतका लागि गत वर्ष नै निवेदन दर्ता गराए पनि सुनुवाइ नभएको बताए । सिँचाइ अभावले यस क्षेत्रका कतिपय खेत बाँझै छन् भने कतिपय खेतमा लगाइएको बाली सप्रिन सकेको छैन । मिहिनेत र लगानीसाथ लगाएको बाली पनि सप्रिन नसक्दा किसान चिन्तित छन् । ‘वाग्मती सिँचाइ आयोजनालाई साइफन मर्मतका लागि पटकपटक आग्रह गरें, गत वर्ष मर्मतका लागि लिखित निवेदन नै दर्ता गराएँ, तैपनि मर्मत हुन सकेको छैन,’ उनले भने, ‘सिँचाइ अभावमा हामी छटपटाइरहेका छौं ।’


साइफन मर्मतका लागि यथाशीघ्र पहल गरिने वाग्मती सिँचाइका प्रमुख विनय गामीले बताए । उनले जानकारी नभएका

कारण साइफन मर्मतमा ढिलाइ भएको सुनाए । गामीले सिँचाइ अभावले छटपटिएका किसानले जतिसक्दो चाँडो साइफन मर्मत गरेर सिँचाइ सुविधा पुर्‍याउन आफू प्रयासरत रहने आश्वासन दिए ।

प्रकाशित : भाद्र २, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?