१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

वन्यजन्तुले किसान हैरान

रौतहट — पाँच वर्षदेखि जिल्लाको दक्षिणी भेगमा जंगली बँदेल र नीलगाईले किसानको बालीमा क्षति पुर्‍याउने क्रम रोकिएको छैन । वन्यजन्तु गाउँ पस्न थालेपछि किसानलाई समस्या परेको हो । बालीमा क्षति पुगेपछि किसानले स्थानीय प्रशासन गुहारेका छन् । 

जिल्लाको दक्षिण पश्चिम भेगका झन्डै आधा दर्जन बढी गाउँका किसान वन्यजन्तुको मारमा परेका छन् । उनीहरूले लगाएको बाली खाइदिने गरेपछि समस्या भएको बताउँछन् । यस भेगका नदी छेउको खरघारीभित्र नीलगाई, बँदेललगायतका जनावर आएर बस्ने गर्छन् । यहाँको कटहरिया, देबाही, लालबकैया, विजयपुर, मौलापुरलगायतका किसानको नदी किनारमा खेत छ ।


यो क्षेत्रमा वन्यजन्तुले दुःख दिन थालेको पाँच वर्ष बढी भइसकेको छ । वन्यजन्तुले उनीहरूको मकै, धान, उखु, आलु, गहुँ, केरा, धनियाँलगायतको बालीमा क्षति पुर्‍याउँदै आएको छ । बुनियाद, भसेढवा, लक्ष्मीनिया, गमहरिया, मर्यादपुर, कर्कचकर्मैया, टिकुलिया इनरवारी लगायतका गाउँमा पनि बाली खाइदिने गरेको स्थानीयले बताए । टिकुलियाका किसान रामएकवालले दिनहुँ वन्यजन्तु आएर बाली सखाप पार्न थालेको सुनाए । ‘सधैं रखवारी गर्न पनि सकिँदैन,’ उनले भने, ‘वन्यजन्तुबारे पहिले नै जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइसकेका छौं ।’


तत्कालीन प्रजिअ गोविन्दप्रसाद रिजालको पालामा क्षतिबाट जोगाउने पहल थालेका थिए । उनले राष्ट्रिय निकुञ्ज र विभागमा जानकारी गराएका थिए । धेरै बाली क्षति भएका किसानलाई राहतको पहल थालेका थिए । त्यसैबेला उनको सरुवा भयो । अहिले दिनहुँ नीलगाई र बँदेलले अन्नबालीमा नोक्सानी पुर्‍याउने गरेका छन् । गत वर्ष बाली खाँदै गर्दा स्थानीयले घेरा हालेर एउटा नीलगाई मारे । पछि वनले थाहा पाएर ल्याएको थियो ।


लालबकैया नदीको दुवै किनारमा रहेका खरघारी र उखुबारीको आडमा लुकेर ठूलो संख्यामा नीलगाई र बँदेल बस्छन् । दिउँसो बाहिर निस्केर बालीमा चर्छन् । स्थानीयहरू वन्यजन्तुबाट बाली जोगाउन खेतनजिक र नदी छेउमा मचान बनाएर बस्न थालेका छन् । प्रमुख जिल्ला अधिकारी किरण थापाले वन्यजन्तुको क्षतिबारे गाउँका किसानसँग यथार्थ बुझ्ने बताउँछन् । ‘बालीनालीमा क्षति पुगेको भन्ने जानकारी आएको छ,’ उनले भने, ‘हामीले पहिले पनि त्यस क्षेत्रको स्थलगत हेरेका छौं ।’ समस्या समाधानका लागि माथिल्लो निकायमा जानकारी गराइने उनले जनाए ।

उत्तरी भेगमा सिकारीको चलखेल बढ्न थालेपछि केही समय वन्यजन्तु दक्षिणी भेगका नदीछेउको खरघारी र त्यसैको आसपास बस्न थालेका थिए । उनीहरू सुरक्षित मानेर त्यस्ता बासस्थान रोज्ने गर्छन् । त्यही क्षेत्रमा आहार खोज्ने क्रममा बालीमा चर्न थालेका हुन् । जंगलबाट बाहिरिएका वन्यजन्तुले बालीमा क्षति पुर्‍याउन थालेको भन्ने किसानले जानकारी गराएको डिभिजन वन अधिकृत विनोद सिंहले बताए ।


‘जंगलमा धेरै थरीका वन्यजन्तु बढेका छन् । उनीहरू यताउता जान्छन् । बासस्थानको खोजीमा गएका बेला खेतमा पुग्छन्,’ उनले भने, ‘सकेसम्म नियन्त्रणको प्रयासमा छौं । यसको जानकारी विभागमा गराएका छौं ।’ उनले वन्यजन्तुलाई कुनै किसिमको क्षति नपुर्‍याउन अनुरोध गरे ।

प्रकाशित : भाद्र २, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?