भारतीय माछाको आयात घट्यो

पर्सा — माछामा आत्मनिर्भरतासँगै भारत तथा तेस्रो मुलुकबाट माछा आयात घटेको छ । माछा आयात हुने मुलुककै मुख्य नाका वीरगन्जबाट अघिल्लो आवको तुलनामा गत आवमा ताजा माछाको आयात अढाई गुणा बढीले घटेको छ । 

पशु क्वारेन्टाइन कार्यालय वीरगन्जको तथ्यांकअनुसार गत आर्थिक वर्षमा यो नाका हुँदै भारतबाट १ सय ८३ टन ताजा माछा आयात भएको छ । अघिल्लो आवको यसै अवधिमा भारतबाट ४ सय ८३ टन माछा आयात भएको थियो । गत आवमा थाइल्यान्ड र भियतनामबाट गरी २ सय २९ टन बोनलेस फ्रोजन माछा आयात भएको छ ।


अघिल्लो आवमा गत आवको यसै अवधिमा ५ सय २३ टन बोनलेस माछा आयात भएको थियो । सिध्रा माछाको आयात भने बढेको छ । पशुपन्छीको दानामा पोसिलो वस्तुका रूपमा प्रयोग हुने सिध्रा गत आवमा १ सय टन आयात भएको छ । अघिल्लो आवमा ६९ टन सिध्रा आयात भएको थियो ।


स्वदेशमा जीवजन्तुको दाना बनाउने प्रयोजनमा ठूलो परिमाणमा सिध्रा उत्पादन नहुने भएकाले उद्योगहरूले भारतबाट यसको आयात गरेको हुन सक्छन् । क्वारेन्टाइन कार्यालय प्रमुख डा. हरेराम यादव पछिल्लो केही वर्षयता सरकारले माछामा मुलुकलाई आत्मनिर्भर बनाउन गरेको प्रयासकै कारण माछाको आयात घटदो क्रममा रहेको बताउँछन् ।


तराईका विभिन्न जिल्लामा माछा सुपरजोन कार्यक्रममार्फत किसानलाई अनुदान दिई माछा पोखरी खन्न प्रोत्साहित गरेको र किसान पनि उत्साहजनक रूपमा माछा पालन गर्नतर्फ आकर्षित भइसकेकाले स्वदेशी माछाको उत्पादन बर्सेनि बढदो क्रममा रहेको उनले बताए ।


फागुनको अन्तिम सातादेखि नाकाबाट भित्रिने राँगा, भैंसी तथा माछाको आयातमा स्वास्थ्य उत्पत्तिको भारतीय क्वारेन्टाइनको सिफारिस अनिवार्य गरिएकाले यिनको आयात केही नियन्त्रित भएर स्वदेशी उत्पादन प्रोत्साहित हुँदै गएको उनले बताए ।


पशु स्वास्थ्य सेवा ऐन २०५५ र त्यसको नियमावली २०५६ मा विगतमा नै रहेको यस्तो प्रावधानलाई हाल कडाइका साथ लागू गरिएको उनले बताए । पशु क्वारेन्टाइन महाशाखाको निर्देशनअनुसार नाकाबाट राँगा, भैंसी तथा माछाको आयात गर्दा स्वास्थ्य उत्पत्तिको भारतीय क्वारेन्टाइनको सिफारिस अनिवार्य गरिएको हो ।

प्रकाशित : भाद्र २, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?