३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

रोकिएन नदीजन्य पदार्थको दोहन

एकै व्यक्तिको ४ वटासम्म ट्याक्टर रहेको र एउटा ट्याक्टरले दैनिक ७ टिपसम्म ढुङ्गा नदीबाट उठाउने गरिएको छ  
सुनिता बराल

बर्दिवास, महोत्तरी — सरकारले असारदेखि भदौसम्म ३ महिना नदीजन्य पदार्थको दोहनमा रोक लगाए पनि महोत्तरीमा भने त्यसको वेवास्ता गरिएको छ । गिट्टी–बालुवा तस्करहरूले सरकारी नियम मिचेरै खोलाजन्य पदार्थ झिक्ने गरेका छन् । 

रोकिएन नदीजन्य पदार्थको दोहन

बर्दिवास नगरपालिका वडा १० र ११ मा पर्ने खयरमारा र मडाहा खोलाबाट दैनिक सयौं ट्याक्टर ढुंगा–वालुवा चोरी निकासी बढेको छ ।


नदीजन्य पदार्थको दोहनले हाल बर्दिवास १० (साविकको खयरमार ७) सिङ्गो बस्ति नै जोखिममा परेको छ । तर, स्थानीय प्रशासन र जनप्रतिनिधि मुकदर्शक भएर बसेको पीडितहरूले बताएका छन् । राष्ट्रपति चुरे संरक्षण ऐनअन्तर्गत राजमार्गदेखि माथि चुरेसम्मको क्षेत्रमा ढुङ्गा–गिट्टी र बालुवा निकासी गर्न नपाउने रहेपनि नदीको दुवैतर्फ किनारामा दर्जनौं ट्याक्टर ढुङ्गा भण्डारण गरी राखिएको छ ।


एकै व्यक्तिको ४ वटासम्म ट्याक्टर रहेको र एउटा ट्याक्टरले दैनिक ७ टिपसम्म ढुङ्गा नदीबाट उठाउने गरेको एक मजदूरले बताए । उनका अनुसार ७/८ जना साहुका दर्जनौं ट्याक्टरले एक दिनमा नदीबाट धेरै ढुङ्गा निकासी र भण्डारण गर्ने गरेका छन् । खोलाले यसवर्ष गाउँ र वनक्षेत्रमा धेरै कटान गरेपनि वन र सम्बन्धित निकायले खोलामा नदीजन्य पदार्थ झिक्नमा रोक लगाएको छैन ।


जनप्रतिनिधिकै सिफारिस

मडाहा खोलामा ढुङ्गा झिक्दै गरेका एक ट्याक्टरका साहुले आफुले जनप्रतिनिधिकै सिफारिसमा ढुङ्गा झिकेको दाबी गरे । स्थानीय र प्रहरीले पनि जनप्रतिनिधि कै सिफारिसमा नदी दोहन भइरहेको आरोप लगाएका छन् । खयरमारा प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक शम्भुप्रसाद साहले आफुहरूले पटक–पटक नदी दोहनलाई रोक्न खोज्दा व्यक्तिगत प्रयोजनका लागि भन्दै वडाध्यक्षहरूले दिएको सिफारिसले निकालेको भनेपछि ट्याक्टरहरू नियन्त्रणमा नलिएको बताए ।


वडा नम्बर १० का वडाध्यक्ष धनलाल श्रेष्ठले ‘स्थानीयले जाली भर्नु छ, घर बनाउनु छ’ भनेपछि आवश्यकताअनुसार खोलाबाट ढुंगा झिक्न सिफारिस दिएको स्वीकारेका छन् । यता ११ का वडाध्यक्ष धनराज लामाले पनि ढुङ्गा बिक्री गर्न र भण्डारण गर्न सिफारिस नदिएको दाबी गरे । उनले भने, ‘त्यहाँ प्रहरीले पनि चासो दिएको छैन । हामीले केही सीमित व्यक्तिलाई आवश्यकता छ, जाली भरेर घर जोगाउनु छ भनेपछि सीमित ढुङ्गा झिक्न अनुमति दिएको हो । तर कति ढुङ्गा झिके ? किन भण्डारण गरेका छन् ? कसरी बिक्री वितरण भइरहेको छ ? त्यसको अनुगमन गर्नुपर्छ ।’


बर्दिवास नगरपालिकालाई भने खयरमारा र मडाहा खोलामा ढुङ्गा निकासी भएको जानकारी नै नभएको मेयर विदुरकुमार कार्कीले बताए । जनताको आवश्यक्ता नै हो भनेपनि वडाले सिफारिस दिन नमिल्ने सिफारिस दिएको र सरकारी नियमविरुद्ध गएर नदीजन्य पदार्थ निकाल्न तत्काल रोक्न लगाउने उनले जनाए ।


३ महिना नदीजन्य पदार्थ झिक्न गर्न नपाइने भएपनि विभिन्न नदिमा क्रसर उद्योगहरूले नदीको दोहन गरिरहेको सूचना आएपछि जिल्ला समन्वय समितिलाई तत्काल सबै उत्खनन्का कार्य बन्द गराउन आफूले खबर गरेको मेयर कार्कीले बताए । जिल्ला समन्वय समितिलाई स्थानीय तहले उत्खनन् भएका सूचना नदिएको र एक/दुई स्थानीय तहले भर्खरै सूचना गरेकाले अनुगमनपछि उत्खनन् बन्द गराउने समितिका अध्यक्ष सुरेशप्रसाद सिंहले बताए ।

प्रकाशित : भाद्र १, २०७६ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?