कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

रेलवे ट्र्याकमा बाढीपीडित

वर्षाको समय अझै बाँकी रहेकाले रातु नदी किनारका बाढीपीडित बासस्थान फर्कन नसकेर रेलमार्गमै बस्न बाध्य
सुनिता बराल

बर्दिवास, महोत्तरी — रेलमार्गमा गाडीहरू गुँडिरहन्छन् । धुलो उडेर पस्किएको खानामै पर्छ । हावा चलेपछि त्रिपाल समाएर बस्नु पर्छ । पानी परेपछि बस्ने ओभानो ठाउँ हुँदैन । ‘दुखियाका दुःख कति छन् कति । कसले देख्छ दुःख ?’

रेलवे ट्र्याकमा बाढीपीडित

एक महिनादेखि रेलमार्गको छेउमा त्रिपालमा बसिरहेकी महोत्तरीको लोहरपट्टि नगरपालिका ५ कि पसनीदेवीले दुखेसो पोखिन् ।


रेलमार्गका लागि बनाइएको ट्रयाकमा महोत्तरीको बाढीपीडित त्रिपालमा बसेको महिना बितेको छ । उनीहरूलाई घर फर्काउन सरकारी पहल अझै भएको छैन । पसनी सदाको दुःख त्यतिमै रोकिएन । ७ वर्षको छोरा सहदिय सदा रातको समयमा रेल्वेको ड्यामबाट लडेर हात नै भाँचियो ।


‘भएको झुप्रे घर बाढीले बगायो,’ उनले भनिन्, ‘कमाएकाले खानै पुग्दैन । कसरी घर बनाउनु ?’ उनको २ छोरा र १ छोरी छन् । श्रीमान्ले कमाएकाले खान पनि नपुग्ने उनले सुनाइन् । ३० वर्षका लालबाबु सदा बाढीले बगाएको घर–जग्गा सफा गर्ने क्रममा लडेर खुट्टा भाँचिएपछि दुईवटा वैशाखीको सहारामा छन् । त्रिपालको बास भएकाले खुट्टा भाँचिएपछि कुजो भएकाले हावाहुरी र पानी पर्न थालेपछि उनलाई भागदौड गर्न समस्या पर्छ ।


महोत्तरीको लोहरपट्टि नगरपालिका ५ स्थित मुसहर समुदायमा असार अन्तिममा परेको अविरल वर्षापछि रातु नदी बस्तीमा पस्दा सिङ्गो गाउँ नै विस्थापित भएको छ । बाढीले विस्थापित भएका मुसहर समुदायका १ सय ६२ घरपरिवार अहिले जयनगर–जनकपुर–बर्दिवास रेलमार्गमा त्रिपाल टाँगेर कष्टरकर दिन बिताइरहेका छन् ।


शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल, नगरपालिका र विभिन्न संघसंस्थाले पीडितलाई रेलमार्गमै लगेर राहतमा चामल, चिउरा, मुरही, दाल, दालमोट, नुन, खानेतेल, चाउचाउ, बिस्कुट, आलु, स्वाविन लगायतका खाद्यान्न वितरण गरेको भए पनि भत्किएको घर बनाउन कसैले सहयोग नगरेका कारण घर नभएपछि उनीहरू रेलमार्गमै बस्न बाध्य छन् ।


त्रिपालकै बास भएकी कारी सदाले सरकारले अलिकति खाद्यान्न दिएर आफूहरूलाई वास्ता नगरेको गुनासो गरिन् । ‘खाने कुरा दिएको थियो,’ उनले भनिन, ‘१० दिन नबित्दै सकियो । अब काम गरेर खान नै धौ–धौ छ । खाने र बस्नेको कुनै ठेगान छैन । धुलो खाँदै बसेका छौं ।’


लोहरपट्टि नगरभित्रका ३ हजार घर डुबानमा परेपछि विस्थापित भएका धरै मानिस घर फर्किएका भए पनि घर नै पूर्णरूपमा क्षति भएका १ सय ६२ घरपरिवार अझै रेलमार्गमै बसोवास गरिरहेका छन् ।


वर्षाको समय अझै बाँकी रहेकाले रेलमार्गमा बसेका बाढी पीडितलाई फेरि खोलाकै छेउमै फर्काउन जोखिम हुने भएपछि रेलमार्गमै राख्नु बाध्यता भएको लोहरपट्टि नरपालिकाका मेयर शैलेन्द्र कुमार यादवले बताए । ‘पहिले रातुखोलामा तटबन्ध लगाएर बस्ती सुरक्षित गराउँछौ,’ मेयर यादवले भने, ‘त्यसपछि अति विपन्नलाई नगरपालिकाले नै २ कोठे घर बनाइदिने योजना बनाएका छौं ।’


वर्षाको सिजन सकिएपछि खोलामा तटबन्धको काम सुरु गरिने र मुसहर समुदायलाई स्थापित गर्न अझै केही समय लाग्ने नगरले जनाएको छ ।

प्रकाशित : श्रावण ३२, २०७६ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?