१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

वाग्मती खर्सालघाट कटान : तल्लो तटीयमा त्रास

ओमप्रकाश ठाकुर

सर्लाही — बरहथवा नगरपालिका १ हजरियास्थित खर्साल घाटभन्दा धेरै तल छ धनकौल गाउँपालिकाको ढापटोल । तर, वाग्माती नदीले खर्साल घाटमा कटान गरिरहेको समाचार सुनेसँगै ढापटोलका टेनी पासवानको निद्रा उडेको छ ।

खर्सालघाटमा वाग्मतीले कटान गरेर बस्ती पसे ढापटोल सहित दर्जनौं बस्ती तहस–नहस हुने सम्भावना छ । पासवानलाई एक महिनाअघि आएको बाढीको सम्झना पनि ताजै छ । असार अन्तिम साता मनुष्मारा खोलामा आएको बाढी गाउँ पस्दा उनी विस्थापित बनेका थिए ।

गाउँमा बाढी पसेका बेला उनी वाग्मतीको तटबन्धमा पुगेर ज्यान जोगाएका थिए । मनुष्मारा खोलाको बाढीले नै विस्थापित भएका पासवान खर्साल घाटबाट वाग्मती पसे आफूहरूको बस्ती नै नरहने चिन्तामा छन् । त्यसैले आकाशमा कालो बादल मडारिने बित्तिकै उनलाई डर लाग्छ । ठूलो पानी परेसँगै नदी र खोला मिसिएर आएको बाढीले पुनः गाउँ नै डुबानमा पारेर जन धनको क्षति पुर्‍याउने हो कि भन्ने त्रासले उनी भयभित हुन्छन् ।

एक महिनाअघि अविरल वर्षासँगै मनुष्मारा खोलामा आएको बाढीले दक्षिण(पश्चिम क्षेत्रका धनकौल, हरकठवा, महिनाथपुर, ढापटोल, छटौल, बैरिया, हिरापुर, भवानीपुरलगायत २ दर्जन गाउँ डुबानमा परेका थिए । डुबानबाट स्थानीयले ठूलो मात्रामा क्षति बेहोरेका थिए ।

डुबानमा परेर विस्थापित भएका परिवार पानीको सतह घटेसँगै घर फर्किसकेका छन् । ‘वर्षाका बेला मनुष्मारा खोलाबाट नै पीडित बनिरहेका थियौं, अब खर्सालघाटमा वाग्मती नदी बस्ती पसे आफूहरूको बस्ती नै तहस(नहस हुनेछ,’ उनले भने, ‘खर्साल घाटमा तटबन्ध नभएर वाग्मती नदी बस्ती पसे हाम्रो बस्ती त रहँदैन, हाम्रो ज्यान पनि सुरक्षित रहन सक्दैन ।’ मनुष्माराबाट त्रसित भइरहेका बेला वाग्मती पनि मिसिने हल्लाले झन त्रसित बनाएको

उनले बताए ।

पासवान जस्तै खर्साल घाटमा कटानको हल्लाले नदी किनारका स्थानीयमा त्रास बढ्दै गएको छ । बाढीबाट प्रभावित भएका नदी किनारका बासिन्दाले भरपर्दो तटबन्धको व्यवस्था नहुँदा जोखिम बढेको बताए । असार अन्तिम साता भएको भीषण वर्षापछि आएको बाढीले २ हजारभन्दा बढी परिवारको विचल्ली भएको थियो । स्थानीय नदी तथा खोलामा तटबन्धको निर्माण नहुँदा आकाशमा कालो बादल मडारिने बित्तिकै गत महिनाको जस्तै नियति भोग्नु पर्ने हो कि भन्ने चिन्ता स्थानीयमा छ ।

नदीले धार परिवर्तन गरेको क्षेत्रमा भरपर्दो रोकथामको काम नहुँदा रात दिन त्रासमा बस्नु परेको हजरियाका इन्द्र न्यौपानेको दुःखेसो छ । ‘नदीले धार परिवर्तन गर्दै हाम्रो बस्ती नजिक आइसक्यो तर, पनि भरपर्दो तटबन्ध निर्माणको काम हुन सकेको छैन,’ उनले भने, सम्बन्धित निकायको लापारबाहीका कारण हाम्रो बस्ती उच्च जोखिममा छ ।’ महिना दिनअघि नदीमा आएको बाढीले जिल्लाको विभिन्न बस्ती डुबानमा परेका थिए । बर्सेनि नदीमा आएको बाढीले क्षति गरे पनि यसको न्यूनीकरणको प्रयास नभएको बाढीपीडितको गुनासो छ ।

बाढी र डुबान नियन्त्रणका लागि काम गर्ने विभिन्न निकायमा तटबन्ध निर्माणका लागि पहल गरे पनि बजेट अभाव रहेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए । ‘जोखिम रहेको खर्साल घाटमा बरहथवा नगरपालिकालाई तत्कालीन रोकथामका लागि बोरामा बालुवा हालेर रोकथाम गर्न भनेको छु,’ उनले भने, ‘दीर्घकालीन रोकथामका लागि तटबन्ध नै चाहिन्छ, बजेट नभएका कारण त्यो अहिले सम्भव छैन, यसको लागि पहल भइरहेको छ ।’ सर्लाहीमा वाग्मती, मनुष्मारा, लखनदेही र झीम नदीले बर्सेनि धन जनको क्षति पुर्‍याउँदै आएको छ ।

प्रकाशित : श्रावण ३१, २०७६ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?