१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भारतीय कलेज सम्बन्धन छल्दै, विद्यार्थी ठग्दै

कान्तिपुर संवाददाता

धनुषा — जनकपुरमा भारतीय युनिभर्सिटीको सम्बधनमा खोलिएको प्राविधिक क्याम्पसले विद्यार्थी ठगिरहेको खुलेको छ ।

जनकपुरको नमुना बस्तीमा भारत, अरुणाचल प्रदेशस्थित अरुणाचल युनिभर्सिटीबाट ४ वर्षअघि अध्ययनका लागि युनिभर्सिटीमा विद्यार्थी सिफारिस गर्न पाउने पत्र देखाएर जनकपुरमा विद्यार्थी भर्ना लिएर कक्षा सञ्चालन गरेका छन् ।


श्रीराम इन्टरनेसनल इन्सिटिच्युट अफ टेक्नोलजीले तीन वर्षे डिप्लोमाका लागि विद्यार्थी भर्ना गरी शुल्क संकलन गरेको छ । इन्सिटिच्युटले अरुणाचाल युनिभर्सिटीको किर्ते कागजात देखाएर कक्षा सञ्चालन गर्दै आएको छ ।


इन्सिटिच्युटमा तीनवर्षे सिभिल, कम्प्युटर र इलेक्ट्रिकल कोर्षको अध्ययनका लागि ३ लाख ५७ हजार शुल्क लिएर विद्यार्थी भर्ना लिएका छन् । टेक्नोलजीले चालु शैक्षिक सत्रका लागि २५ जना विद्यार्थी भर्ना गरेको कलजेका निर्देशक फिरोज राइनले बताए । कलेजमा २ सय ५० विद्यार्थी अध्ययनरत छन् ।


विद्यार्थी पढाइमा कमजोर भए पनि नियममित उपस्थित भएमा परीक्षामा चोरी गराइ डिप्लोमा पास गरिदिने ग्यारेन्टि निर्देशक राइनले लिँदै आएको अभिभावकको आरोप छ । सीटीईभीटीको सम्बन्धन लिएर मात्र डिप्लोमा कक्षा सञ्चालन गर्ने व्यवस्था भए पनि इन्सिटिच्युटले सीटीईभीटीबाट सम्बन्धन प्राप्त कलेजभन्दा करिब ४० प्रतिशत कम शुल्क लिई विद्यार्थी भर्ना गरेका छन् ।


अध्ययन शुल्क कम लिएर जनकपुरमै परीक्षा सञ्चालन गर्ने श्रीराम इन्टरनेसनलले अरुणाचल युनिभर्सिटीको प्रमाणपत्र दिने गरेको छ । श्रीराम इन्टरनेसनलले विद्यार्थीलाई नपढाइकन डिप्लोमा तहको प्रमाणपत्र उपलब्ध गराइ दिने भन्दै ठग्दै आएको अभिभावकहरूको आरोप छ ।


‘विद्यार्थीलाई नामांकनका बेला पास गर्ने ग्यारेन्टी लिएर इन्सिटच्युटले भर्ना लिन्छन्,’ एक अभिभावकले भने, ‘कलेजका कर्मचारीले परीक्षाका बेला १/२ दिनका लागि आउने परीक्षा निरीक्षकहरूलाई मिलाउन अतिरिक्त रकम लिने गरेका छन् । भारतीय निरीक्षकहरू नेपाल घुम्न मन पराएकाले परीक्षा अनुगमन नगरी घुम्न जाने गरेका छन् ।’

अवैध रूपमा डिप्लोमा कक्षा सञ्चालन गरी विद्यार्थी ठग्दै आएको इन्सिटिच्युटले पढदै नपढेकालाई ३५ हजारमा नक्कली प्रमाणपत्र समेत बनाएको भेटिएको छ ।


अभिभावकका अनुसार भारतको युनिभर्सिटीबाट सर्टिफिकेट बनाउने काम गर्दै एजेन्टसँग भेटाएर ३५ हजारमा प्रमाणपत्र बनाइदिने इन्सिटिच्युटका निर्देशक राइनले बताएका थिए ।


धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलले नेपाल सरकारसँग अनुमति नलिएको भेटिए कारबाही हुने बताए । श्रीराम इन्सिटिच्युटले सीटीईभीटीबाट समकक्षता नगराएको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद प्रदेश २ का निर्देशक नागेन्द्र साहले बताए । पाठयक्रम हुबहु मिलेपछि मात्र सीटीईभीटीसँग इक्युभ्यालेन्ट गरी विद्यार्थी भर्नाका लागि अनुमति दिने प्रमुख साहले बताए ।

प्रकाशित : श्रावण ३०, २०७६ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?