अत्यधिक भारले भासियो व्यापारिक मार्ग

शंकर आचार्य

पर्सा — भारवहन क्षमताभन्दा अत्यधिक लोड गरिएका मालबाहक सवारी गुड्दा निर्माणाधीन वीरगन्ज–पथलैया व्यापारिक मार्ग भासिएको छ । सिमरा क्षेत्रमा सूर्य नेपाल प्रालिको उद्योग तथा सिमरा चोक वरपर सडक भासिन थालेको हो ।

अत्यधिक भारले भासियो व्यापारिक मार्ग

व्यापारिक मार्ग आयोजना कार्यालय पथलैयाका सूचना अधिकृत एवम् इन्जिनियर अशोक यादवले सिमरा क्षेत्रमा यो समस्या बढी देखिएको बताए ।


हाल पनि सडक निर्माणको काम सम्पन्न भई नसकेकाले ठेकेदारले भासिएको क्षेत्रको पुनर्निर्माण गरिदिने भए पनि त्यस लगत्तै पुनः यो समस्या देखिन सक्ने सम्भावना रहेको उनले बताए । ‘तत्काललाई यो समस्या समाधान होला,’ उनले भने, ‘तर भविष्यमा यो समस्या दोहोरिन्छ ।’


समस्या समाधानका लागि कार्यालयबाटै पर्सा र बाराका जिल्ला ट्राफिक कार्यालय तथा यातायात व्यवस्था कार्यालय वीरगन्जलाई पनि पत्राचार गरिसके पनि समस्याको समाधान कतैबाट नभएको यादवले बताए ।


मालबाहक सवारी साधनको भारवहन नियमनसम्बन्धी कार्यविधि २०७४ अनुसार दुई एक्सल चार पांग्रे सवार साधनको अधिकतम वजन १२ टन, दुई एक्सल ६ पांग्रेको अधिकतम वजन १६ दशमलव २ टन, तीन एक्सलको २५ टन, चार एक्सलको ३१ टन, पाच एक्सलको ४० दशमलव २ टन कुल वजन तथा भारवहन क्षमता हुनु पर्छ ।


यो समस्याको समन्धमा समय समयमा यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरी कार्यालयबीच विवाद हुने र एक अर्कालाई जिम्मेवार देखाउने पनि गर्छन् । तर, यो सडक खण्डमा गुड्ने अधिकांश मालबाहक सवारी साधनको भार दोब्बर हुने गरेको छ ।


पर्सा बारा औद्योगिक करिडोरका उद्योगका कच्चा पदार्थ बोक्ने सवारी साधन तथा वीरगन्ज नाकाबाट राजधानी लगायत अन्य क्षेत्रमा जाने मालबाहक सवारी साधनको भार पनि अत्यधिक हुने गर्छ ।


भारकै कारण त्रिभुवन राजपथको पथलैयादेखि हेटौंडा सडक खण्डको विभिन्न स्थानमा कालोपत्रे सडक नराम्रोसँग भासिएको छ । यसले सवारी दुर्घटनाको जोखिम पनि बढाएको छ ।

प्रकाशित : श्रावण ३०, २०७६ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?