गाउँका सडक कालोपत्रे

भरत जर्घामगर

सिरहा — अर्नामा गाउँपालिकाले सडक पूर्वाधारलाई प्राथमिकतामा राखेसँगै गाउँका सडकमा कालोपत्र थालिएको छ । साबिकका महनौर, ब्रह्मपुरी, अर्नामा, गौरीपुर लक्ष्मीपुर र किसनपुर गाविसलाई गाभेर अर्नामा गाउँपालिका बनेको हो । 

तराई–मधेसको सुगम जिल्ला भए पनि गाउँटोल पुग्न सहज सडक सञ्जालले नजोडिँदा सिरहाको दक्षिणवर्ती अर्नामा गाउँपालिका ‘सुगमको विकट’ मानिन्थ्यो । एक गाउँदेखि अर्को गाउँ पुग्न हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे बाटो छिचोल्नु यहाँका स्थानीयको नियति बनेको थियो ।

गाउँपालिकाले वित्तीय समानीकरण अनुदानबाट ५० लाख रुपैयाँ लागतमा उपभोक्ता समितिमार्फत वडा ५ स्थित १३ सय मिटर सडक कालोपत्रे गरेको हो । गाउँपालिकाका इन्जिनियर दयाशंकर महतोका अनुसार बंगठिया बजारको रामजानकी चौकदेखि हुलाकी मार्ग जोडिएको सडक ३ सेन्टिमिटर मोटाइको तीन मिटर चौडाइको कालोपत्रे निर्माण गरिएको छ ।

कालोपत्रे सडक निर्माण भएपछि कृष्णपुर पछवारी टोल, रामजानकी चौक, बंगठियाका स्थानीयलाई आवतजावतमा सहज भएको छ । ‘कालोपत्रे नहुँदा वर्षामा सडक हिलाम्मे हुँदा आवतजावतमा बर्सेनि समस्या भोग्नुपर्थ्यो,’ सडक डिलमै घर भएका किसनपुरका ६५ वर्षीय दलित रामकैलाश महराले भने, ‘आँगनमै कालोपत्रे भएको छ, हामीले पक्की सडकमा हिँड्न पायौं ।’

कालोपत्रे सडक डिलको ऐलानी जग्गामा रामकैलाशसहित १६ घर दलित महरा, दुई घर यादव र एक घर बरही समुदायको बसोबास छ । अधिकांश परालले छाएका फुसको घरमा बस्दै आएका उनीहरू सडक पिच भएपछि हर्सित छन् ।

ज्याला मजदुरी गरी गुजारा गर्दै आएका उनीहरूले हिउँदमा सडक धुलोको हैरानीबाट मुक्त भएको सुनाए । ‘घर परालले छाएको फुसको भएर के भयो र, हामीले सडक पिच पाएका छौं,’ ६० वर्षीया कलावती महराले भनिन्, ‘यो वृद्ध उमेरमा पिच सडकमा हिँड्न पाएका छौं ।’ यसअघि उनले कालोपत्रे सडक कहिल्यै नदेखेको सुनाइन् ।

अर्नामा गाउँपालिका हुँदै हुलाकी मार्ग जोड्ने र हुलाकी मार्ग हुँदै सदरमुकाम सिरहा बजार पुग्न यो सडक छोटो दूरीमा पर्छ । सडक निर्माणबाट सदरमुकाम आवतजावत र हुलाकी मार्ग पुग्न सर्वसाधारणलाई सहज भएको वडाध्यक्ष भोला मण्डलले जानकारी दिए ।

बर्सेनि ग्राभेल र माटो भरेर सडक निर्माणमा बजेट फजुलमा खर्च गर्नुभन्दा गाउँपालिकामा स्थायी रूपमा सडक निर्माण गर्न गाउँपालिकाले पहिलो पटक कालोपत्रे सडक निर्माण सुरुवात गरेको गाउँपालिका अध्यक्ष ठकु महतोले बताए । ‘कालोपत्रे सडकलाई गाउँपालिकाभरि विस्तार गर्छौं, यसका लागि क्रमिक रूपमा गाउँसभाबाट बजेट विनियोजन गरेका छौं,’ उनले भने । कालोपत्रे नगरिने सडकमा समेत आरसीसी ढलान गरेर गाउँपालिकाभरिका सडकलाई स्तरोन्नति गर्ने कार्यको सुरुवात गरिएको उनले जानकारी दिए ।

यसैगरी गाउँपालिकाले वडा ३ बंगठियास्थित रामउदगार महतोको घरदेखि सलहेस मार्गसम्म ५० लाख रुपैयाँ लागतमा आरसीसी ढलान सडक निर्माण गरिएको गाउँपालिका अध्यक्ष महतोले जानकारी दिए ।

प्रकाशित : श्रावण ३०, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्

डुबानले रोपाइँ प्रभावित

पानी ढिला परे पनि कृषि मिटरको प्रयोग गरी रोपाइँ गरेका किसानको खेत असार अन्त्यमा आएको बाढीले पुरेपछि पुनः रोपाइँ गर्न समस्या 
भरत जर्घामगर

सिरहा — लगातारको वर्षा र डुबानले सिरहामा धान रोपाइँ प्रभावित भएको छ । धान रोपाइँको समयमा पानी नपर्नु र पछि लगातारको वर्षाले लामो समयसम्म डुबान हुनुले यस वर्ष जिल्लामा रोपाइँ प्रभावित भएको हो ।

सिरहाको लहानस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा मल लिन लामबद्ध कृषक । तस्बिर : भरत/कान्तिपुर

सिरहामा कृषकहरूले मूख्यबालीका रूपमा धान बाली लगाउँछन् । धान रोपाइँको समय असारमा पानी नपर्नु र पछि लगातारको वर्षाले डुबान निम्त्याउँदा मध्य साउन लागिसके पनि सिरहामा ६० प्रतिशत मात्र धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख भगिरथ यादवले जानकारी दिए । ‘यतिखेरसम्म शतप्रतिशत रोपाइँ भइसक्नुपर्ने थियो,’ उनले भने, ‘लगातारको वर्षा र डुबानले यसपटक धान रोपाइँ ढिला भएको छ ।’ उनका अनुसार रोपाइँ ढिला हुँदा उत्पादन प्रभावित हुन्छ । जसका कारण किसान मारमा पर्छन् ।

सिरहामा धान खेतीका लागि ६४ हजार ४ सय ७० हेक्टर खेतीयोग्य जग्गामा बर्सेनि ७२ हजार ३ सय मेट्रिक टन धान उत्पादन हुँदै आएको छ । सिरहाका कृषकहरूले स्थानीय जातको बासमती, सोना मन्सुली, मिथिला, हर्दिनाथ, राधा ११ तथा सावित्री जातका धान खेती गर्दै आएका छन् ।

बाढी र डुबानले क्षति
वर्षा र बाढीले सिरहाका ६ सय हेक्टरमा लगाइएको धान बालीमा क्षति पुगेको छ । असारमा आवश्यक मात्रामा वर्षा नभए पनि कृषि मिटर प्रयोग गरेर रोपाइँ गरिएको ६ सय हेक्टर धान खेतमा बाढी पस्दा क्षति पुगेको हो । कमला नदीको पूर्वी तटीय क्षेत्रका सिरहा, कल्याणपुर, कर्जन्हा, गागन खोलाको किनारमा रहेको औरही, अर्नमा, लगाडिगोठ, लगडिगढियानी र बलान पश्चिमका भगवानपुर, कल्याणपुर, सखुवानानकरकट्टी, नौडेगा लगायतका क्षेत्रमा बाढी पस्दा धान खेती नष्ट भएको हो ।

पानी नपरे पनि कृषि मिटरको प्रयोग किसानले असार १५ गतेदेखि नै रोपाइँ सुरु गरेका थिए । कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख यादवले असार अन्तिम सातामा परेको अविरल वर्षा र त्यसले उत्पन्न गरेको बाढीले पहिलेदेखि रोपाइँ भएका केही खेत डुबानमा पारी क्षति गरेको बताए ।

‘किसानले रोपाइँ गरेको धानको बीउ, खेतमा छरेको मल र किसानले लगाएको तरकारी बालीमा समेत गरेर सिरहाको कृषि क्षेत्रमा ९० लाखदेखि एक करोडसम्म क्षति पुगेको छ,’ उनले भने, ‘केही खेतमा पुनः रोपाइँ हुन सक्छ तर धेरै खेत बालुवाले पुरिएको छ ।’

वृद्धवृद्धाको भरमा खेती
युवाशक्ति वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएपछि मजदुर अभावमा खेतीपाति वृद्धवृद्धाले धान्नु परेको छ । रोजगारीका लागि युवा विदेशिने क्रम बढेपछि मूख्य बाली धान रोपाइँको समयमा श्रमिक अभाव भएको छ । जसका कारण धान रोपाइँको जिम्मेवारी महिला र वृद्धवृद्धाको काम बनेको छ ।

‘धान रोपाइँका लागि कृषि मजदुर नै पाइँदैन,’ २ बिघा जग्गामा धान रोपाइँ सुरु गरेका सिरहा छर्रापट्टीका कृषक ५२ वर्षीय सीताराम साहले भने, ‘मजदुर अभावमा पत्नी रामसखी र बुहारी मिलेर धान रोपाइँ थालेका छौं ।’ उनका चार भाइ छोरामध्ये जेठो आनन्द एक वर्षदेखि वैदेशिक रोजगारका लागि मलेसियामा छन् भने तीन भाइ साना छोराहरू विद्यालय जान्छन् ।

‘खेतीपाती जिम्मेवारी बुढ्यौली काँधमा परेको छ,’ उनले भने, ‘मजदुर पाउँदा खेतीपाती गर्न सहज भए पनि मजदुर अभावले खेतीमा समस्या सुरु भएको छ ।’ कृषि मजदुरको सहयोगमा धान रोपाइँ चटारोमा तल्लीन सीताराम भन्छन्, ‘बाह्र छोरा तेह्र नाति, बुढाको धोक्रो काँधै माथि जस्तो छ ।’

सिरहा बथनाहाका ७० वर्षीय गंगाराम साफी वृद्ध दम्पती र बुहारीसहित धान रोपाइँमा व्यस्त थिए । उनका दुई भाइ छोरामध्ये कान्छा रामकुमार वैदेशिक रोजगारका लागि कतारमा छन् । मजदुर अभावमा परिवार मिलेर धान रोपाइँ गरेको गंगारामले सुनाए । ‘खेत बाँझै छाड्नु भएन,’ उनले भने, ‘जसोतसो बुढ्यौली शरीरले खेतीपाती धानेका छौं, गुजाराका लागि पनि खेती नगरी धर पाइन्न ।’ छोराहरू खेतीमा मनै गर्दैनन्, अब युवाहरूले खेती गरिदेला भन्ने आश मारेको उनले बताए ।

अर्का कृषक रामु यादव भन्छन्, ‘गाउँमा युवाहरू भेटिँदैनन् अचेल, कमाउन दिल्ली बम्बई र खाडी मुलुकतर्फ लागेका छन्, यही अवस्था रह्यो भने खेतीपाती छोडनुपर्ने हुन्छ ।’ उनले तीन बिघा जग्गामा धान खेती गर्दै आएका छन् । अहिले ग्रामीण भेगका शिक्षित युवाहरू सुरक्षित र सरल रोजगारीका निम्ति भारतका विभिन्न सहरतिर आकर्षित छन् । प्रायः धेरैजसो युवा आफ्नो घरमा गाईभैसी चराउने, खेतीपाती गर्ने, हलो कोदालो गर्ने जस्ता घरायसी काम गर्न अल्छी मानेर साथीसंगतमा र केही खेतीपातीले गुजारा गर्न मुस्किल हुने भएकाले भारत पस्ने गरेको पाइन्छ ।

सीतापुरका श्याम सदाय मुसहर एक–डेढ वर्षजति भारत बसेर आए भारु ३५/४० हजार ल्याइन्छ, अनि त गाउँकै साहु भइने र साहुको ऋण बोकेर गाउँ बस्नुभन्दा त उमेर छँदै भारत पसी काम गर्नु राम्रो भएको बताउँछन् ।

मुग्लान (भारत) पसेका अधिकांश नेपाली युवा रातको चौकीदार, होटल, काठ कर्मी, कोइला खानी लगायतमा काम गर्ने उनले सुनाए । युवाहरू मुग्लान पसेकाले गाउँमा आयस्रोत थप भए पनि गाउँको उब्जनी घटदो रहेकाले कृषक मारमा परेको रामु यादवले बताए । उनी भन्छन्, ‘बाबु पुर्खादेखि लगाइँदै आएको धान बाली समयमा लगाउन र भित्र्याउन नपाए विदेशको कमाईले मात्र थेग्न मुस्किल पर्छ ।’

‘एक दुई जनाले विदेशबाट कमाएर ल्याए पनि अरु परिवारको बाच्ने आधार त यही खेती रहेको यादव बताउँछन् । कृषिका लागि उर्बर भूमि मानिने तराईमा खेतीपाती वैज्ञानिक प्रविधिमैत्री बन्न नसक्नु, कृषि मजदुरी अभाव, उत्पादनको न्यून मूल्य र बढदो वैदेशिक रोजगारीमा जाने लहरका कारण युवा पिंढी यसतर्फ आकर्षित हुन सकेका छैनन् । जसका कारण खेतीयोग्य उर्बर जमिन बाँझो बस्न थालेको छ ।

वास्तवमैं खेतीपाती भनेको बुढापाकाको जिम्मेवारी जस्तै भएको बताउँछन्, कृषक एवं नागरिक समाज सिरहाका अगुवा राजकुमार राउत कुर्मी । युवायुवतीलाई खेतीपातीमा आकर्षित गर्न जीविकोपार्जन र प्रविधिमैत्री बनाउन आवश्यक रहेको उनले सुझाए । जीविकोपार्जन भएन भने खेती हुन नसक्ने उनको तर्क छ । जिल्ला प्रशासन कार्यालय सिरहाको तथ्यांक अनुसार जिल्लामा १ लाख १० हजार १ सय ४० जनाले राहदानी लिएका छन् ।

कृषि गणना २०६८ ले चितवन नेपालको प्रमुख कृषि क्षेत्र मानेको छ । त्यसैगरी सबैभन्दा कृषि क्षेत्रफल भएका जिल्ला मोरङ, झापा, सर्लाही, सिरहा, सुनसरी छन् भने कम क्षेत्रफल भएका जिल्लामा मनाङ, डोल्पा, रसुवा र हुम्ला हुन ।

प्रकाशित : श्रावण १७, २०७६ ०९:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्